स्थानीय तहमा करारमा कार्यरत एकजना खरिदार निजी भ्रमणका लागि अमेरिका जान लाग्दा पालिकाले काज भनेर २ महिनाभन्दा बढी समयका लागि भ्रमण स्वीकृति दिएको पाइएको छ ।
लुम्बिनी प्रदेशको लुम्बिनी सांस्कृतिक नगरपालिकामा करारमा कार्यरत खरिदार तुलसीराम लामिछानेलाई पालिकाले काज भ्रमणमा अमेरिका पठाएको खुलेको हो ।
२०८० साउन १ गतेदेखि बढीमा २०८० असोज १० गतेसम्म अमेरिका भ्रमणमा जानका लागि कार्यपालिका बैठकबाट स्वीकृति दिएको पाइएको हो । करारका कर्मचारी ६९ दिनसम्म अनुपस्थित रहँदा जागिर नै जाने हुँदा काज स्वीकृत गरेर उनको जागिर थमौती गर्न खोजेको देखिन्छ ।
अझ उनको नियुक्ति खरिदारसरह भए पनि समन्वय अधिकृत तोकेर काज स्वीकृति गरेको देखिन्छ ।
स्रोतका अनुसार उनका परिवारका सदस्य अमेरिका मै रहेका ले उनी आफ्नो नितान्त व्यक्तिगतकाम को लागि अमेरिका गएका हुन तर भिसा लगायत मा समस्या हुने भएपछि अनेकौं गरेर सरकारी कागजात मिलाएर यसो गरेका हुन। सरकारी कागजात अपचलन गरेर भिसा लिने चलन पछिल्लो समय बढेको देखिन्छ। यसमाथि अनुसन्धान हुने हो भने निज संग संबंधित धेरै तथ्य हरु बाहिर आउन सक्छन।
'लुम्बिनी सांस्कृतिक नगरपालिकामा कार्यरत परामर्श सेवाका समन्वय अधिकृत तुलसीराम लामिछाने मिति २०८० साउन १ गतेदेखि २०८० असोज ९ सम्म निजी कामका लागि संयुक्त राज्य अमेरिका जान लाग्नुभएको सन्दर्भमा उहाँको कार्य जिम्मेवारी लुम्बिनीको पर्यटन प्रबर्द्धन, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, अन्तर्राष्ट्रिय संघ-संस्था र सीटीसँग समन्वय, सहकार्य र सम्बन्ध विस्तार भएको हुँदा सो मितिमा अमेरिकामा लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, अन्तर्राष्ट्रिय संघ-संस्था र सीटीसँग समन्वय, सहकार्य र सम्बन्ध विस्तार लगायतका कार्यहरू गर्ने गरी मिति २०८० साउन १ देखि २०८० असोज ९ सम्म स्थानीय सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी युएसए भ्रमण स्वीकृत गर्ने निर्णय गरियो,' २०८० असार ३१ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयमा उल्लेख छ ।त्यसअघि लामिछानेले इन्द्रेणी सांस्कृतिक संघ टेक्सास अमेरिकाद्वारा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि अमेरिका जान र त्यहाँ रहन स्वीकृति माग्दै २०८० असार २९ गते निवेदन दिएका थिए । सोही आधारमा उनको भ्रमण कार्यपालिका बैठकबाट स्वीकृत गरिएको थियो । निज लामिछाने बागलुङ नगरपालिका -१२ अमलाचौर स्थायी बासिन्दा हुन।