जर्मनीमा सन् २०२२ मा बाल्टिक सागरमुनि रहेको नर्ड स्ट्रिम प्राकृतिक ग्यास पाइपलाइनमा भएको विस्फोटको योजना बनाएको आरोपमा एक युक्रेनी पूर्वसैनिक अधिकारीमाथि बुधबारदेखि सुनुवाइ सुरु हुने भएको छ। जर्मन कानुनी व्यवस्थाअनुसार सेर्ही के. नामले पहिचान गरिएका ती व्यक्तिमाथि गोताखोर र विस्फोटक पदार्थ विशेषज्ञसहितको युक्रेनी समूहको नेतृत्व गर्दै आधुनिक समयकै ठूला पूर्वाधार तोडफोडका घटनामध्ये एकको योजना बनाएको आरोप लागेको छ।जर्मन अभियोजनकर्ताहरूका अनुसार सेर्ही के. ले युक्रेनी राज्यका अज्ञात निकायको तर्फबाट अन्य सैन्य सदस्यहरूसँग मिलेर उक्त गोप्य अभियानको योजना बनाएका थिए। उनलाई गत वर्ष इटालीमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको थियो। यद्यपि, उनले पाइपलाइन विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। युक्रेन सरकारले पनि उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।यो मुद्दाको सुनुवाइले वर्षौँदेखि भइरहेको अनुसन्धानबाट संकलित प्रमाण सार्वजनिक रूपमा परीक्षण गर्ने पहिलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। तर, अनुसन्धानको क्रममा युक्रेनसँग सम्बन्धित व्यक्तिहरूमाथि आरोप लागेपछि जर्मनीका लागि यो विषय कूटनीतिक तथा राजनीतिक रूपमा संवेदनशील बनेको छ। जर्मनी युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने युरोपेली मुलुकमध्ये प्रमुख देश हो।जर्मन अभियोजनकर्ताहरूले पाइपलाइनमा आक्रमण गर्नु, विस्फोट गराएर पूर्वाधार नष्ट गर्नु तथा सार्वजनिक सेवामा क्षति पुर्याउनु युद्ध अपराधको श्रेणीमा पर्न सक्ने बताएका छन्। उनीहरूका अनुसार उक्त अभियानको सम्भावित उद्देश्य युक्रेनमाथि रूसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि रूसले प्राकृतिक ग्यास निर्यातबाट प्राप्त गर्दै आएको आम्दानीको प्रमुख स्रोतमा अवरोध पुर्याउनु थियो। यद्यपि, यी आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन्।
यस प्रकरणमा सेर्ही के. एक्लै मुद्दाको सामना गरिरहेका छन्। यता, क्रोएसियाली अधिकारीहरूले भ्लादिमिर जेड. नामले चिनिएका अर्का व्यक्तिलाई पनि पक्राउ गरेका छन्। अभियोजनकर्ताहरूले उनलाई पाइपलाइनमा विस्फोटक पदार्थ राख्न संलग्न गोताखोरमध्ये एक भएको आशंका गरेका छन्।नर्ड स्ट्रिम पाइपलाइन विस्फोटले जर्मनी र रूसबीच लामो समयदेखि कायम रहेको प्राकृतिक ग्यास व्यापार सम्बन्धमा ठूलो परिवर्तन ल्याएको थियो। यसअघि जर्मनीले आफ्नो कुल प्राकृतिक ग्यास आयातको करिब आधा हिस्सा नर्ड स्ट्रिम–१ पाइपलाइनमार्फत प्राप्त गर्ने गरेको थियो। उक्त पाइपलाइनले युक्रेन हुँदै जाने पुराना सोभियतकालीन मार्गलाई छल्दै रूसबाट पश्चिमी युरोपमा ग्यास आपूर्ति गर्ने सुविधा दिएको थियो।
नर्ड स्ट्रिम–२ नामको अर्को पाइपलाइन निर्माण भइसकेको भए पनि रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही समयअघि जर्मनीले त्यसलाई सञ्चालन गर्ने स्वीकृति रद्द गरेको थियो। त्यसअघि नै युक्रेनमाथिको आक्रमण र युरोपेली प्रतिबन्धको समर्थनलाई लिएर मस्कोले जर्मनीतर्फको ग्यास आपूर्ति कटौती गरिसकेको थियो।सन् २०२२ सेप्टेम्बर २६ मा बाल्टिक सागरमुनि भएका विभिन्न विस्फोटलाई स्विडेनका भूकम्पविज्ञहरूले पहिचान गरेका थिए। करिब १७ घण्टाको अन्तरमा भएका विस्फोटका कारण चारवटा पाइपलाइनमध्ये तीनवटा क्षतिग्रस्त भएका थिए। विस्फोटपछि ठूलो परिमाणमा मिथेन ग्यास वायुमण्डलमा फैलिएको थियो। नर्ड स्ट्रिम प्रणाली बाल्टिक सागरको ८० देखि ११० मिटर गहिराइमा अवस्थित थियो। रूसी ग्यास कम्पनी ग्याजप्रोमले निर्माण गरेको यस प्रणालीबाट जर्मनीमा वार्षिक ११० अर्ब घनमिटरसम्म ग्यास आपूर्ति गर्ने क्षमता रहेको थियो।अभियोजनकर्ताहरूका अनुसार सेर्ही के. ले आक्रमण हुनुभन्दा करिब तीन साताअघि नक्कली युक्रेनी राहदानी प्रयोग गरेर पोल्यान्ड हुँदै जर्मनी प्रवेश गरेका थिए। त्यसपछि उनले आफ्नो समूहसँग मिलेर जर्मनीको उत्तरी सहर रोस्टकबाट भाडामा लिइएको पालडुंगाबाट समुद्री यात्रा गरेका थिए। उनीहरू डेनमार्कको बोर्नहोम टापुनजिक पुगेपछि समुद्रको पिँधमा टाइमर जडित सैन्यस्तरका विशेष विस्फोटक पदार्थ राखेको आरोप छ।जर्मनीको साप्ताहिक पत्रिका डेर स्पिगल र सार्वजनिक प्रसारण संस्था जेडडीएफले यसअघि प्रकाशित गरेका विवरणअनुसार एन्ड्रोमेडा नामक भाडाको याटमा पाँच पुरुष र एक महिला सवार थिए। उक्त याट सन् २०२२ सेप्टेम्बर ६ मा रोस्टकबाट प्रस्थान गरी सेप्टेम्बर २३ मा फर्किएको थियो।यो मुद्दाको सुनुवाइ आगामी वर्ष फेब्रुअरीसम्म जारी रहन सक्ने अनुमान गरिएको छ। यसको परिणामले जर्मनीको आन्तरिक राजनीतिमा समेत प्रभाव पार्न सक्छ। जर्मनीको दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता बन्द गर्न र रूससँग ऊर्जा व्यापार सम्बन्ध पुनःस्थापित गर्न माग गर्दै आएको छ।
पाइपलाइन विस्फोटपछि प्रारम्भिक महिनाहरूमा पश्चिमी अधिकारीहरूले मुख्य रूपमा रूसमाथि आशंका व्यक्त गरेका थिए। तर, मस्कोले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आफ्नै पाइपलाइन विस्फोट गराउने आरोपलाई निरर्थक बताउँदै आएको छ। रूसले पश्चिमी पूर्वाधारमाथि पछिल्लो समय भएका भनिएका तोडफोड तथा ड्रोन आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप पनि अस्वीकार गर्दै आएको छ।अब जर्मनीमा सुरु हुने सुनुवाइले नर्ड स्ट्रिम विस्फोट प्रकरणमा संकलित प्रमाण, आरोपितहरूको भूमिका र घटनाको पृष्ठभूमिबारे थप तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यद्यपि, घटनामा कसको प्रत्यक्ष संलग्नता थियो र कसले आदेश दिएको थियो भन्ने विषय अदालतको अनुसन्धान तथा प्रमाणको परीक्षणपछि मात्र स्पष्ट हुनेछ।