• Saturday, October 18, 2025

ओलीको नेतृत्वमा ‘मिसन ८४’ को सफलता सुनिश्चितः पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण उन्मूलनका लागि सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन्। नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा उनले इतिहासमा दासप्रथा औपचारिक रूपमा समाप्त भए पनि कतिपय स्थानमा त्यसका अवशेष अझै बाँकी रहेको उल्लेख गरे।

मन्त्री गुरुङले चन्द्र शमशेरले दासप्रथा औपचारिक रूपमा अन्त्य गरेको भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा यसको प्रभाव अझै कायम रहेको बताए। उनले सरकार यस्ता अवशेषलाई पूर्ण रूपमा निर्मूल गर्न निरन्तर लागिपरेको प्रष्ट पारे। उनले भने, “इतिहासमा दासप्रथा धेरै पहिले समाप्त भएको उल्लेख छ, तर कतिपय समाजमा यिस्टा अवशेष अझै जीवित छन्। यस्ता अवशेष हटाउन नीतिगत र व्यावहारिक रूपमा काम भइरहेको छ।”

नेपाली समाज सामन्ती व्यवस्थाबाट पुँजीवादी संरचनातर्फ अघि बढिरहेको बताउँदै मन्त्री गुरुङले सामाजिक व्यवहार, परम्परा र जीवनशैलीमा आएको परिवर्तनलाई पुँजीवादी रुपान्तरणसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे। उनले यस्तो परिवर्तन सकारात्मक वा नकारात्मक भन्ने विषयमा बहस खुला रहेको उल्लेख गर्दै समाजका हरेक परिवर्तनलाई विवेकपूर्ण ढङ्गले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।

अर्को प्रसङ्गमा मन्त्री गुरुङले एमालेको ‘मिसन ८४’ अभियानलाई सफल बनाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताए। उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै देशले राजनीतिक स्थायित्व र समृद्धिको बाटो तय गर्न सक्ने धारणा राखे।

Please Login to comment in the post!

you may also like