• Saturday, June 21, 2025

गणेश थापालाई गेटमै रोक्दा नेपाल फुटबल संघ साधारण सभामा विवाद


अखिल नेपाल फुटबल संघ  साधारण सभामा विवाद भएको छ ।धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उदघाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेपछि संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरिएको छ । अब बन्दसत्र सुरु हुँदै छ ।साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले गणेश थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वको टोली साधारण सभा स्थलमा परिचालन गरिएको थियो ।

थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखे पनि सुनुवाइ भएन । थापाको भनाइ थियो, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’उदघाटन समारोहमा थापालाई प्रवेशमा रोक लगाएको विषयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ बोल्न चाहेनन् ।एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको जिकिर गरे । ‘यसको प्रक्रिया होला, सचिवालयमा पेपरहरु आउला,’ उनले भने, ‘हामीले के बुझ्न जरुरी छ भने, ‘एन्फाको अहिले केस हेर्नुहुन्छ भने २५–३० केस छन् । कुन सचिवालयमा आयो/आएन भन्ने सबै विषयहरु सचिवालयले मलाई जानकारी गराउने हो । त्यो जानकारी पछाडि मैले आधिकारिक हिसाबले बोल्ने हो । तर वास्तविक के छ भन्ने जबसम्म मैले सचिवालयसँग सम्पर्क गर्न सक्दिनँ तबसम्म मलाई पनि थाहा हुँदैन ।’

‘अदालतको निर्णय मान्ने कि नमान्ने ?’ भन्ने प्रश्नमा उनले ‘अदालतको निर्णय मान्दैनौं’ नभनेको जिकिर गरे ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।

थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी जरिवाना मा परेका थिए ।

प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

यसबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने संकेत पाएको भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल गएका थिए ।

Please Login to comment in the post!

you may also like