नागरिकता किर्ते कसुरमा अदालतबाट न्यायिक हिरासतमा राख्न तेस्रो पटक तीन दिनको म्याद थप भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौँको मेडिसिटी अस्पतालमा लैजान काब्या हस्पिटलले रिफर गरेको छ।
तेस्रो पटक तीन दिनको म्याद थप गर्दा जिल्ला अदालत धनुषाले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकुलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो।
चिकित्सकले स्वास्थ्य अवस्थाको गम्भीरता हेरेर एयरलिफ्ट गर्न समेत सिफारिस गरेको छ। सोमबार जिल्ला अदालत धनुषाले हस्ताक्षर र हस्तलिखित नमुनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगायत निकायबाट विवरण मगाउने, सिरोहियाको औँठाछापको नमुना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको प्रहरीको दाबी सदर गर्दै तीन दिन म्याद थपेको थियो।
आदेशमा सिरोहिया बिरामी भएको र मिसिलमा संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा उनको स्वास्थ्य अवस्थाको प्रतिकुलतालाई बिचार गर्दा अनुसन्धानमा शीघ्रता र उपर्युक्त अस्पतालमा लगेर उपचार गराउनु तथा उनको नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपर्युक्त हुने भन्दै आवश्यक व्यवस्था मिलाउन आदेश दिएको थियो।