• Tuesday, March 3, 2026

एकताबाट विघटनतिर प्रलोप : नेताहरू तीन धारमा


तत्कालीन नेकपा (माओवादी केन्द्र) भित्रको असन्तुष्टि र वैचारिक विचलनको पृष्ठभूमिमा १८ कात्तिकमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले ‘प्रगतिशील अभियान’ घोषणा गर्दा वामपन्थी राजनीतिमा नयाँ आशा पलाएको जस्तो देखिएको थियो । केही समयमै यही समूहले जनता समाजवादी पार्टी (नयाँ शक्ति) सँग एकता गर्दै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोप) गठन गर्‍यो । ७ मंसिरमा पाँच सदस्यीय अध्यक्ष परिषद्सहित पार्टी एकताको औपचारिक घोषणा भयो । अध्यक्ष परिषद्‌मा जेन–जी प्रतिनिधि, महिला, मधेशी, दलित र जनजातिको सहभागिताले समावेशी राजनीतिक अभ्यासको सन्देश दिन खोजिएको थियो । तर, एकताका बेला देखिएको उत्साह, चमकधमक र राजनीतिक अपेक्षा छोटो समयमै खुम्चिँदै गएर अहिले पार्टी नै विघटनको संघारमा पुगेको जस्तो देखिन्छ ।

२१ फागुनमा हुन लागेको चुनाव नजिकिँदै जाँदा प्रलोपभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । पार्टीबाट टिकट पाएका र पाउन लागेका नेताहरू नै टिकट त्यागेर अन्य दलबाट उम्मेदवार बनेपछि प्रलोपको संगठनात्मक अवस्था कमजोर बनेको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रलोपाका उम्मेदवार दीपक साउद एमालेबाट उम्मेदवार बनेका छन् । सुदूरपश्चिम प्रदेशमा तत्कालीन माओवादीबाट प्रलोपातर्फ लाग्ने केन्द्रीय सदस्यहरूमध्ये एक रहेका साउदलाई सुरुमा प्रलोपाले नै टिकट दिएको थियो । तर, पार्टीसँग कुनै सरसल्लाह नगरी उनी एमाले प्रवेश गरेर त्यहीँबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् ।प्रलोपाका केन्द्रीय सदस्य रामबहादुर देवकरका अनुसार सुदूरपश्चिममा संगठन कमजोर भएकाले अछाममा साउदलाई जिम्मेवारी दिइएको थियो । तर, टिकट पाएको केही समयमै उनी पार्टी छोडेर एमाले प्रवेश गरे । ‘संगठन थिएन, त्यही भएर दीपकजीलाई टिकट दिएका थियौँ । तर, पार्टीसँग कुनै छलफल नगरी एमाले प्रवेश गर्नुभयो,’ देवकर भन्छन् । यस घटनाले पार्टी नेतृत्वप्रति कार्यकर्ताको भरोसा झन् कमजोर बनाएको उनीहरूको भनाइ छ ।

यस्तै अवस्था गण्डकी प्रदेशमा पनि देखिएको छ । गण्डकी प्रदेशका सह–इन्चार्ज विमल अधिकारीले पार्टी कार्यालयमा असहमतिपत्र बुझाएर तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका लागि भोट मागिरहेका छन् । उनका अनुसार गण्डकी प्रदेशका अधिकांश जिल्लामा पार्टी संरचना निष्क्रिय छ । ‘तनहुँ, पर्वत, लमजुङ, मुस्ताङ र मनाङका जिल्ला अध्यक्षहरू निष्क्रिय भएर बसेका छन्,’ अधिकारी भन्छन् । माओवादीबाट छुट्टिँदा देखिएको उत्साह नेतृत्वकै कारण शिथिल हुँदै गएको र पार्टी विघटनतर्फ उन्मुख भएको उनको आरोप छ ।अधिकारीका अनुसार प्रलोप वामपन्थी पार्टी बनाउने उद्देश्यसहित गठन गरिएको भए पनि शीर्ष नेताहरूको फरक–फरक राजनीतिक तालमेलले पार्टीलाई दिशाहीन बनाएको छ । ‘जनार्दनको आफ्नै ताल, बाबुराम भट्टराईको आफ्नै ताल र सुदन किराँतीको आफ्नै ताल छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पार्टी कसरी टिक्छ ?’पार्टीभित्रको असन्तुष्टि जिल्लास्तरसम्मै फैलिएको छ । प्रलोपाका पर्वत जिल्ला अध्यक्ष रमेश पौडेल आफूहरू हाल मौन बसेको बताउँछन् । ‘विधि र विधान मिचेर उम्मेदवारी फिर्ता लिने काम नेतृत्वले नै गरेपछि तलका कार्यकर्ताले कसको विश्वास गर्ने ?’ उनी प्रश्न गर्छन् । नेतृत्व नै अविश्वसनीय भएपछि पार्टीमा निष्क्रियता बढ्नु स्वाभाविक भएको उनको भनाइ छ ।

नेता–कार्यकर्ताका अनुसार प्रलोपका मुख्य नेताहरू नै अहिले तीन धारमा विभाजित छन् । जनार्दन शर्माले पश्चिम रुकुममा आफ्नै जित सुनिश्चित गर्न एमालेसँग गठबन्धन गरेको आरोप पार्टीभित्रै उठेको छ । प्रलोपाका एक उम्मेदवारका अनुसार शर्माले आफूलाई केन्द्रमा राखेर गठबन्धन गरे पनि अन्य उम्मेदवारका विषयमा कुनै चासो देखाएनन् । अर्कोतर्फ, बाबुराम भट्टराईले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए भने सुदन किराँती हर्क साम्पाङको पक्षमा खुलेर लागेको कार्यकर्ताहरू बताउँछन् । ‘नेताहरू नै यसरी आ–आफ्नो बाटो लागेपछि प्रलोपका उम्मेदवारका लागि कसले भोट माग्ने ?’ ती उम्मेदवार भन्छन् ।कोशी प्रदेशमा प्रलोपले चार जना उम्मेदवार उठाएको छ । तर, त्यहाँ पनि पार्टीले आफ्ना उम्मेदवार जिताउनभन्दा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारलाई हराउने उद्देश्यले श्रम संस्कृति पार्टीलाई सघाउने नीति लिएको छ । सामाजिक सञ्जालमा समेत प्रलोपका नेता–कार्यकर्ताले आफ्ना उम्मेदवारभन्दा हर्क साम्पाङ समर्थित उम्मेदवारका लागि भोट मागिरहेको देखिन्छ । प्रलोपाका केन्द्रीय सदस्य हेमन्त राई भन्छन्, ‘हामीले जित्ने सम्भावना कम छ । त्यसैले कांग्रेस, एमाले र नेकपाका उम्मेदवारलाई हराउने रणनीति लिएका छौँ ।’

कम्तीमा अध्यक्ष परिषद्‌का पाँचै जना सदस्य चुनावी मैदानमा उत्रिनुपर्ने भए पनि त्यो सम्भव नभएको प्रलोपाका केन्द्रीय सदस्य बद्री चुडाल बताउँछन् । ‘शीर्ष नेतृत्व चुनाव लडेको भए पार्टी जनस्तरमा स्थापित हुन्थ्यो,’ उनी भन्छन् । नेतृत्व चुनाव नलड्नु नै हार सरह भएको उनको विश्लेषण छ ।प्रलोपाले देशभर ९२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराए पनि पछि ६ जनाले उम्मेदवारी निष्क्रिय बनाएका छन् । गोरखा क्षेत्र नम्बर १ बाट बाबुराम भट्टराईले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । त्यस्तै, सिन्धुली, नुवाकोट, सल्यान र कालीकोटमा पनि उम्मेदवारी फिर्ता वा खारेज भएका छन् । जनार्दन शर्माको गृहप्रदेश कर्णाली र बाबुराम भट्टराईको गृहजिल्लामै उम्मेदवारी फिर्ता भएपछि कार्यकर्ता सबैभन्दा बढी भट्टराईसँग रुष्ट बनेका छन् ।

एक प्रलोप नेताका अनुसार ‘विधिको शासन र देशको नेतृत्व’को कुरा गर्ने भट्टराईले एक निर्वाचन क्षेत्रको जिम्मा लिन नसक्नु कार्यकर्तामाथिको धोका हो । ‘उधारो सम्झौताका आधारमा उम्मेदवारी फिर्ता लिएर देशको नेतृत्व गर्छु भन्नु गम्भीर राजनीतिक विरोधाभास हो,’ उनी भन्छन् ।यसैबीच, जनार्दन शर्माले सुरुमा नेत्रविक्रम चन्द र घनश्याम भुसालसँग वामपन्थी एकताको छलफल गरे पनि पछि बाबुराम भट्टराई र केही रास्वपा नेतासँगको संवादपछि त्यो प्रक्रिया छाडेको आरोप पनि पार्टीभित्रै उठेको छ । माओवादी नाम र गोलाकारभित्रको हँसिया–हथौडा चुनाव चिह्न छाड्नुले वैचारिक स्पष्टता गुमाएको कार्यकर्ताहरूको गुनासो छ ।यद्यपि, प्रलोपका नेता अनिल शर्मा भने पार्टीभित्र कुनै गम्भीर मतभेद नरहेको दाबी गर्छन् । ‘सबै चुनावमा खटिएका छन्,’ उनी भन्छन्, ‘केही ठाउँमा समन्वय कमजोर भएको होला, तर पार्टी यो चुनावबाट स्थापित हुन्छ ।’ तर, कार्यकर्ताहरूको व्यापक असन्तुष्टि र नेतृत्वको विभाजित व्यवहारले प्रलोपले वामपन्थी वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्न गम्भीर चुनौती भोगिरहेको स्पष्ट देखिन्छ ।

Please Login to comment in the post!

you may also like