दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्व राजनीतिमा तीव्र परिवर्तन देखिन थालेको समय थियो । सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धपछि एशिया र अफ्रिकाका धेरै देशहरूमा उपनिवेशवादविरुद्ध स्वतन्त्रताको लहर चलेको थियो । ‘कहिल्यै घाम नअस्ताउने’ भनिएको बेलायती साम्राज्यविरुद्ध भारतमा महात्मा गान्धीको नेतृत्वमा ‘भारत छोडो आन्दोलन’ उत्कर्षमा पुगेको थियो । यही अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको प्रभाव नेपालमा पनि पर्न थालेको थियो । त्यही समयमा नेपालमा निरंकुश राणा शासनको नेतृत्व गरिरहेका श्री ३ महाराज जुद्धशमशेर राणाले सत्ता त्यागको घोषणा गरे, जसले देशको राजनीतिक इतिहासमा नयाँ मोड सिर्जना गर्यो ।
वि.सं. २००२ साल मंसिर १४ गते अपराह्न १ बजे सिंहदरबारमा सबै कर्मचारी र भारदारहरूलाई उपस्थित हुन आदेश दिइयो । उक्त अवसरमा जुद्धशमशेरले भावुक सम्बोधन गर्दै आफूले जीवनभर राज्यका लागि गर्नुपर्ने कर्तव्य पूरा गरिसकेको, वृद्ध भइसकेको र अब बाँकी जीवन धर्मकर्ममा बिताउने इच्छा भएको घोषणा गरे । उनले आफ्नो श्रीपेच निकालेर पद्मशमशेरको शिरमा लगाउँदै शासनसत्ता हस्तान्तरण गरे । सत्यमोहन जोशीका अनुसार उक्त दृश्य अत्यन्त भावुक थियो, जसले दरबारभित्र उपस्थित सबैलाई स्तब्ध बनाएको थियो ।इतिहासकारहरूका अनुसार जुद्धशमशेरको राजत्यागको पछाडि गहिरो आत्मग्लानि र पश्चात्तापको भावना थियो । आफ्नै कार्यकालमा राणा शासनविरुद्ध उभिएका चार जना युवालाई मृत्युदण्ड दिएको घटनाले उनलाई जीवनभर पछ्याएको बताइन्छ । रेसुङ्गा प्रभुजस्ता सन्तहरूको सुझावले पनि उनलाई सत्ता त्याग गरेर संन्यासी जीवन रोज्न प्रेरित गरेको मानिन्छ । यही पृष्ठभूमिमा ७१ वर्षको उमेरमा जुद्धशमशेर ‘स्वामी महाराज’का रूपमा सिंहदरबारबाट बाहिरिए ।
जुद्धशमशेरको बिदाइपछि ६२ वर्षीय पद्मशमशेर नयाँ श्री ३ महाराज बने । सिंहदरबारभित्र जयजयकार भयो, तर नयाँ महाराज पद्मशमशेर आफैं भावुक देखिन्थे । श्रीपेच लगाएको केही दिनपछि भएको सिन्दुरजात्राका क्रममा टुँडिखेलमा आयोजित सभामा उनले आफूलाई ‘दुनियाँको नोकर’ घोषणा गरे । निरंकुश शासनको प्रतीक मानिने राणा प्रधानमन्त्रीले आफूलाई जनताको सेवक भन्नु त्यतिबेला असाधारण घटना थियो । यही कारण पद्मशमशेरलाई उदारवादी राणा प्रधानमन्त्रीका रूपमा इतिहासमा स्मरण गरिन्छ ।प्रधानमन्त्रीको हुकुम नै कानुन मानिने युगमा पद्मशमशेरले जनताको सेवक हुँ भन्ने अभिव्यक्ति दिनु केवल भावनात्मक मात्र होइन, राजनीतिक संकेत पनि थियो । तर, उनको भावुक स्वभावका कारण कतिपय इतिहासकारहरूले उनलाई ‘रुञ्चे महाराज’समेत भनेका छन् । उनी बेला–बेला आँसु झार्ने गर्थे, जुन कुरा दरबारभित्र मात्र होइन, बाहिर पनि चर्चाको विषय बन्यो ।
पद्मशमशेर महात्मा गान्धीको विचारबाट गहिरो रूपमा प्रभावित थिए । प्रधानमन्त्री बनेको पहिलो दिन नै उनले गान्धीको विचारधाराप्रति सहमति जनाएका थिए । गान्धीलाई भेटेको आरोपमा थुनामा परेका तुलशी मेयरलाई उनले जेलमुक्त गरे । भारतमा स्वतन्त्रता आन्दोलन उत्कर्षमा पुगेसँगै नेपालमा पनि राणाविरोधी चेतना विस्तार हुँदै गयो । पद्मशमशेरले गान्धी र भारतीय कांग्रेसका नेताहरूसँग अनौपचारिक सम्बन्ध विस्तार गरे र सूर्यप्रसाद उपाध्यायमार्फत गान्धीलाई सन्देश पठाए । गान्धीलाई पस्मिनाको पछ्यौरा उपहार पठाउनुले पनि उनको झुकाव प्रष्ट पार्छ ।देशभित्र बढ्दो असन्तुष्टि र बाह्य राजनीतिक दबाबलाई बुझ्दै पद्मशमशेरले सुधारको बाटो रोजे । यदि समयअनुसार सुधार नगर्ने हो भने राणा शासन टिक्न सक्दैन भन्ने निष्कर्षमा उनी पुगेका थिए । त्यसका लागि भाइ भारदार र बुद्धिजीवीहरूसँग छलफल गरी राजनीतिक सुधारका विकल्पहरू खोज्न थाले । काठमाडौंमा पढेलेखेका मानिसहरूबीच भारतको स्वतन्त्रता आन्दोलन र गान्धीका गतिविधिबारे कानेखुसी चल्न थालेको थियो ।
पद्मशमशेरको शासनकालमा जनताको चेतना विस्तार गर्ने केही महत्वपूर्ण निर्णय भए । जुद्धशमशेरको पालासम्म सीमित वर्गलाई मात्र रेडियो सुन्न अनुमति थियो । पद्मशमशेरले सर्वसाधारणलाई रेडियो राख्न छुट दिए । साथै, गोरखापत्रलाई सातामा तीनपटक प्रकाशन गर्ने व्यवस्था मिलाइयो । भारतीय पत्रपत्रिका आयातमा लागेको प्रतिबन्ध हटाइएपछि नेपाली जनताले बाह्य संसारबारे जानकारी पाउन थाले, जसले राजनीतिक चेतनामा उल्लेखनीय वृद्धि गर्यो ।यद्यपि, यी सुधारवादी कदम कट्टर राणा शासकहरूलाई मन परेको थिएन । उनीहरू तरबारको बलमा स्थापित शासन तरबारकै बलमा जोगाउनुपर्ने धारणा राख्थे । पद्मशमशेरको उदारताले राणा शासन समाप्त हुने डर उनीहरूमा थियो । यही पृष्ठभूमिमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो र विराटनगर केन्द्रित मजदुर आन्दोलन सुरु भयो । २१ फागुन २००३ मा सुरु भएको हडताल नेपालकै पहिलो संगठित मजदुर आन्दोलन थियो ।आन्दोलन चर्किएपछि बीपी कोइरालाको नेतृत्वमा राष्ट्रिय कांग्रेस सक्रिय भयो । राणा सरकारले आन्दोलन दबाउन सेना परिचालन गरी बीपीसहित छ जनालाई पक्राउ गर्यो । यही घटनाले पद्मशमशेरलाई राजनीतिक सुधार अपरिहार्य भएको निष्कर्षमा पुर्यायो । त्यसपछि २००४ साल वैशाख १५ गते वैधानिक सुधार समिति गठन गरियो, जसको उद्देश्य संविधान र नागरिक अधिकारसम्बन्धी सुधारको खाका तयार गर्नु थियो ।
सुधारको पहिलो अभ्यासस्वरूप पद्मशमशेरले काठमाडौं म्युनिसिपलिटीको निर्वाचन गराउने निर्णय गरे । २९ जेठ २००४ मा सम्पन्न उक्त निर्वाचन नेपालको इतिहासमा पहिलोपटक जनताबाट प्रतिनिधि छानिएको घटना थियो । यद्यपि, मतदान अधिकार २५ वर्ष पुगेका पुरुषहरूमा मात्र सीमित थियो । महिलाहरूले मतदान अधिकार माग गरे पनि तत्काल सम्भव नभएको भन्दै आश्वासन मात्र दिइयो ।२ साउन २००४ मा निर्वाचित र मनोनीत सदस्यहरूको औपचारिक घोषणा गरियो । पद्मशमशेरले उनीहरूलाई सम्बोधन गर्दै यसलाई राजनीतिक सुधारको पहिलो किस्ता भने । उनले नगरपालिकाको महत्व र जनप्रतिनिधिको जिम्मेवारीबारे स्पष्ट पारे । तर, राणा शासनको कठोर नियन्त्रणका कारण नगरपालिकाले स्वतन्त्र रूपमा काम गर्न सकेन । अन्ततः २८ चैत २००४ मा २१ मध्ये ११ सदस्यले राजीनामा दिए ।राणा शासनको १०४ वर्षे इतिहासमा त्यो नै एक मात्र निर्वाचन थियो । यद्यपि, सीमित र अपूर्ण भए पनि उक्त नगर निर्वाचनले नेपालमा प्रजातन्त्र, नागरिक अधिकार र प्रतिनिधिमूलक शासनको बीउ रोप्यो । यही बीउले तीन वर्षपछि २००७ सालको राजनीतिक परिवर्तन सम्भव बनायो । इतिहासकारहरूका अनुसार पद्मशमशेरको सुधारवादी प्रयास र पहिलो नगर निर्वाचन नेपाली लोकतान्त्रिक आन्दोलनको आधारशिला सावित भयो ।