• Saturday, May 30, 2026

चीनको मरुभूमिमा विशाल आणविक सुरक्षा संरचना निर्माण, अमेरिकालाई चुनौती दिने तयारी



चीनले आफ्नो आणविक शक्ति सुरक्षित राख्न र सम्भावित अमेरिकी आक्रमणको प्रतिकार गर्न विशाल सैन्य संरचना निर्माण गरिरहेको खुलासा भएको छ। रोयटर्सले अध्ययन गरेका स्याटेलाइट तस्बिरहरू अनुसार चीनले आफ्नो दुर्गम उत्तरपश्चिमी मरुभूमि क्षेत्रमा व्यापक सैन्य पूर्वाधार निर्माण गरिरहेको देखिएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार यी संरचनाहरूको उद्देश्य अमेरिकाले पहिलो आणविक आक्रमण गरे पनि चीनले जवाफी हमला गर्न सक्ने क्षमता सुरक्षित राख्नु हो। चीनसँग पहिले नै यस्ता आणविक मिसाइल छन्, जसले अमेरिकाको कुनै पनि सहरमा प्रहार गर्न सक्छन्। अहिले भने बेइजिङले आणविक प्रतिरोध क्षमतालाई अझ बलियो बनाउने गरी नयाँ नेटवर्क विस्तार गरिरहेको देखिएको छ।

स्याटेलाइट तस्बिरहरूले चीनको सिन्जियाङ क्षेत्रस्थित हामी आणविक साइलो क्षेत्रमा ८० भन्दा बढी प्रक्षेपण प्लेटफर्म, भूमिगत बंकर, सञ्चार केन्द्र तथा सुरक्षात्मक संरचना निर्माण भएको देखाएका छन्। यी संरचनाहरू चीनका लामो दूरीका आणविक मिसाइलहरू राखिएका साइलो नजिक निर्माण गरिएका हुन्। सुरक्षा विश्लेषकहरूले यी प्लेटफर्महरू मोबाइल मिसाइल लन्चर, वायु प्रतिरक्षा प्रणाली तथा इलेक्ट्रोनिक युद्ध प्रणाली सञ्चालनका लागि प्रयोग हुन सक्ने बताएका छन्। यसले चीनले आफ्नो भूमिमा आधारित आणविक शक्ति सुरक्षित राख्न अत्यन्त ठूलो स्तरको पूर्वाधार विस्तार गरिरहेको संकेत गर्दछ।

विश्लेषक अलेक्जेन्डर निलका अनुसार चीनले हजारौं वर्ग किलोमिटर मरुभूमिमा यस्तो सैन्य संरचना निर्माण गरिरहेको छ, जसले उसको रणनीतिक आणविक प्रतिरोध क्षमतालाई अत्यधिक बलियो बनाउनेछ। चीनको आणविक नीति “पहिले प्रयोग नगर्ने” अर्थात् “नो फर्स्ट युज” सिद्धान्तमा आधारित भए पनि उसले पहिलो आक्रमण भए जवाफी हमला गर्न सक्ने विश्वसनीय क्षमता कायम राख्न खोजिरहेको बताइएको छ। यही कारणले चीनका लागि मरुभूमिमा रहेका आणविक साइलोहरूको सुरक्षा अत्यन्त महत्वपूर्ण मानिएको छ।

रोयटर्सले सार्वजनिक गरेको विवरण अनुसार चीनले निर्माण गरेका दुई ठूला अष्टकोणीय संरचना विशेष चासोको विषय बनेका छन्। यी संरचनाहरू हामी साइलो क्षेत्रबाट क्रमशः करिब १४० किलोमिटर र २३० किलोमिटर दूरीमा रहेका छन्। स्याटेलाइट तस्बिरहरूमा ती संरचनाभित्र सैनिक बसोबासका भवन, ठूला सैन्य सवारी साधन राख्ने क्षेत्र तथा सम्भावित सञ्चार केन्द्रहरू देखिएका छन्। संरचनाको केन्द्रमा एउटा मुख्य भवन रहेको छ भने त्यसको वरिपरि सैनिक आवास र सैन्य उपकरण भण्डारण क्षेत्र निर्माण गरिएको छ। बाहिरी भागमा अस्थायी संरचना, सैन्य सवारी साधन तथा सम्भावित हवाई प्रतिरक्षा मिसाइल प्रणाली पनि देखिएको विश्लेषकहरूले बताएका छन्।

विशेषज्ञहरूका अनुसार यी संरचनाहरू चीनको आणविक कमाण्ड, नियन्त्रण तथा सञ्चार प्रणालीसँग सम्बन्धित हुन सक्छन्। केही विश्लेषकहरूले यहाँ फाइबर अप्टिक सञ्चार प्रणाली, स्याटेलाइट डिश र माइक्रोवेभ सञ्चार टावरहरू पनि निर्माण भइरहेको बताएका छन्। कार्नेगी इन्डोमेन्ट फर इन्टरनेशनल पिसका आणविक नीति विशेषज्ञ टोङ झाओका अनुसार यी संरचनाहरू चीनको आणविक सञ्चालन, सञ्चार तथा नियन्त्रण प्रणालीसँग प्रत्यक्ष सम्बन्धित हुन सक्ने सम्भावना छ।

चीनले पछिल्ला वर्षहरूमा आफ्नो आणविक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको अमेरिकी अधिकारीहरू र हतियार नियन्त्रण विशेषज्ञहरूले बताउँदै आएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको पछिल्लो प्रतिवेदनअनुसार चीनले सन् २०३० सम्म एक हजारभन्दा बढी आणविक वारहेड तयार पार्ने लक्ष्य राखेको छ। अहिले चीनका तीन मुख्य साइलो क्षेत्रमा करिब १०० अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल तैनाथ रहेको अनुमान गरिएको छ। चीनले आफ्नो प्रारम्भिक चेतावनी प्रणालीलाई पनि सुदृढ बनाएको बताइएको छ। “हुओयान–१” नामक स्याटेलाइट प्रणालीमार्फत चीनले प्रक्षेपण भएको ९० सेकेन्डभित्र अन्तरमहादेशीय मिसाइल पहिचान गर्न सक्ने क्षमता विकास गरेको अमेरिकी अधिकारीहरूको दाबी छ।

रोयटर्सले अध्ययन गरेका तस्बिरहरूमा मरुभूमिमा निर्माण गरिएका कंक्रीटका प्लेटफर्महरू सडकमार्फत अष्टकोणीय संरचनासँग जोडिएका देखिन्छन्। यी प्लेटफर्महरू मोबाइल आणविक मिसाइल लन्चर, हवाई प्रतिरक्षा प्रणाली वा इलेक्ट्रोनिक युद्ध सञ्चालनका लागि प्रयोग हुन सक्ने सुरक्षा विश्लेषकहरूको भनाइ छ। केही स्थानमा मरुभूमिको भूभागभित्र लुकाइएका सम्भावित मिसाइल प्रक्षेपण स्थल पनि देखिएका छन्। त्यहाँ सैनिक अभ्यास, ठूलो संख्यामा सैन्य सवारी साधनको आवागमन तथा अस्थायी शिविर निर्माण भएका प्रमाणहरू पनि भेटिएका छन्।

यसैबीच चीनले दक्षिणतर्फ अर्को अष्टकोणीय संरचना पनि निर्माण गरेको छ, जुन पूर्ण रूपमा विकसित भइसकेको छैन। विश्लेषकहरूका अनुसार यो क्षेत्र लक्ष्य अभ्यासका लागि प्रयोग भइरहेको हुन सक्छ। स्याटेलाइट तस्बिरहरूमा क्षतिग्रस्त भवन, बम विस्फोटका खाल्डाखुल्डी तथा पश्चिमी लडाकु विमानजस्तै देखिने नक्कली विमानहरू राखिएको देखिएको छ। यसलाई सम्भावित सैन्य अभ्यास र परीक्षण क्षेत्रका रूपमा हेरिएको छ।

विशेषज्ञहरूका अनुसार चीनले निर्माण गरिरहेको यस्तो व्यापक सुरक्षा सञ्जाल अन्य प्रमुख आणविक शक्तिहरूभन्दा फरक छ। अमेरिका र रुसले मुख्यतः ठूलो संख्यामा साइलो, तिनको मजबुत संरचना तथा भौगोलिक दूरीमा भर परेर आणविक प्रतिरोध क्षमता कायम राख्ने गरेका छन्। तर चीनले भने विशाल सुरक्षात्मक नेटवर्क, सञ्चार संरचना र मोबाइल प्रतिरक्षा प्रणालीमार्फत आफ्नो आणविक शक्ति सुरक्षित राख्न खोजिरहेको देखिन्छ।

अमेरिकी वैज्ञानिक महासंघका आणविक सूचना परियोजनाका निर्देशक हान्स क्रिस्टेन्सेनले चीनको यस्तो प्रयास असाधारण भएको बताएका छन्। उनका अनुसार यति दुर्गम र कठोर वातावरणमा यति ठूलो सैन्य संरचना निर्माण भएको दृश्य आफूले पहिले कहिल्यै नदेखेको बताए। विश्लेषकहरूका अनुसार चीनको यो रणनीति अमेरिकासँग बढ्दो आणविक प्रतिस्पर्धा तथा ताइवानजस्ता संवेदनशील विषयमा बढ्दो तनावसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ।

Please Login to comment in the post!

you may also like