• Monday, August 24, 2026

नेपाल–भारत सीमा क्षेत्रमा आधुनिक प्रविधिबाट सुरक्षा निगरानी बढाइने



काठमाडौं — नेपाल र भारतले सीमावर्ती संवेदनशील क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन क्लोज्ड सर्किट टेलिभिजन    लगायत आधुनिक प्रविधि र उपकरण प्रयोग गर्ने सहमति गरेका छन्।

भारतको देहरादूनमा शुक्रबार सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल को १४औँ बैठकमा यस्तो समझदारी भएको हो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय पक्षको नेतृत्व भारतको गृह मन्त्रालयकी सहसचिव पौशुमी बसुले गरेकी थिइन्।नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले क्लोज्ड सर्किट टेलिभिजन लगायत आधुनिक तथा नवीनतम प्रविधि र उपकरण प्रयोग गरी संवेदनशील सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति गरेका हुन्।बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार प्रविधिको प्रयोग, त्यसको तैनाथी तथा स्थलमा सुरक्षा निकायले कसरी सञ्चालन गर्ने भन्ने विषयमा दुवै देशबीच थप छलफल हुनेछ।

बैठकमा मुख्य रूपमा सीमा सुरक्षा, सीमापार अपराध, व्यापार तथा आपसी चासोका अन्य विषयमा छलफल भएको थियो। सीमापार अपराध नियन्त्रणका लागि सम्बन्धित सुरक्षा निकायबीच समन्वय र वास्तविक समयमै सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।दुवै पक्षले लागुऔषध, मनोदीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु र मानव तस्करीलगायतका सीमापार अपराध नियन्त्रणमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन्।त्यसैगरी नक्कली नोटको कारोबार, हातहतियार तथा गोलीगठ्ठा तस्करीलगायत आर्थिक अपराध र अन्य गैरकानुनी गतिविधिका विषयमा पनि छलफल भएको थियो। नेपाली पक्षले पछिल्लो समय देखिएका साइबर अपराध तथा सीमापार डिजिटल ठगीजस्ता नयाँ सुरक्षा चुनौतीबारे पनि कुरा उठाएको थियो।नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था तथा पूर्वाधारलाई थप मजबुत बनाउने र सुरक्षा निकायबीच समन्वय तथा सूचना आदानप्रदान सुधार गर्ने उपायबारे पनि दुवै पक्षबीच छलफल भएको छ। कट्टरपन्थीकरण, धार्मिक अतिवाद, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र सीमा पूर्वाधारसम्बन्धी विषय पनि बैठकमा उठेका थिए।नेपाली अधिकारीहरूका अनुसार बैठकमा दसगजा क्षेत्रमा भएका अतिक्रमण हटाउने, अनधिकृत व्यापार नियन्त्रण गर्ने तथा नेपाली सुरक्षा निकायलाई भारतबाट प्राप्त हुने सहयोगबारे पनि छलफल भयो। नेपालको सुरक्षा संस्थाको क्षमता अभिवृद्धि गर्ने विषय पनि बैठकको एजेन्डामा समावेश थियो।

राष्ट्रिय परिचयपत्रलाई यात्रा कागजातका रूपमा मान्यता दिन आग्रह

नेपालले भारतसँग राष्ट्रिय परिचयपत्रलाई दुई देशबीच यात्राका लागि वैध यात्रा कागजातका रूपमा मान्यता दिन पुनः आग्रह गरेको छ।एक नेपाली अधिकारीका अनुसार भारत उक्त प्रस्तावप्रति सकारात्मक देखिएको छ। तर प्रस्तावबारे थप अध्ययन तथा विचार गर्न भारतले केही समय मागेको छ।बैठकमा तल्लो तहका सुरक्षा संयन्त्रले गरेका निर्णयहरूको समेत समीक्षा गरिएको थियो। यस क्रममा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी  र भारतको तर्फबाट जिल्ला मजिस्ट्रेट तथा नेपालको सशस्त्र प्रहरी बल  र भारतको सशस्त्र सीमा बल बीच भएका समन्वय र निर्णयबारे छलफल भएको थियो।नेपाल र भारतबीच हुने सुरक्षा बैठकहरूमा कट्टरपन्थीकरण, धार्मिक अतिवाद, तेस्रो देशका नागरिकका गतिविधि तथा सीमा सुरक्षा कडा बनाउने विषय नियमित रूपमा उठ्दै आएका छन्। यी विषय गृहसचिवस्तरीय वार्तादेखि प्रमुख जिल्ला अधिकारी र जिल्ला मजिस्ट्रेटस्तरीय बैठकसम्म छलफल हुने गरेका छन्।सीमा जिल्लामा देखिने सुरक्षा चुनौती तथा समस्यालाई सम्बोधन गर्न नेपाल र भारतबीच सीमा जिल्ला समन्वय समिति  नामक स्थायी स्थानीय तहको संयन्त्रसमेत रहेको छ।यसपटकको बैठकले नेपाल–भारत सीमा क्षेत्रमा प्रविधिको प्रयोग, सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदानलाई थप सुदृढ गर्दै सीमापार अपराध नियन्त्रणमा सहकार्य बढाउने दिशामा जोड दिएको छ।

Please Login to comment in the post!

you may also like