काठमाडौँ महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्ने घोषणा गरेको छ ।
महानगरले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यार्थीलाई पढ्दै कमाउँदै अवधारणा अनुसार पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाको लागि आवश्यक व्यवस्था उल्लेख छ । सरकारले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कमाउँदै कार्यक्रम गर्दै आएको थियो । महानगरले पार्ट टाइम रोजगारीको अवधारणा ल्याएको हो ।
महानगरले खेलकुदलाई विशेष प्राथमिकता राखेको छ । विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि पूर्व प्राथमिकता तहदेखि अनिवार्य खेलकुदका कार्यक्रम अघि बढाउने महानगरले नीति लिएको छ ।
त्यस्तै व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गर्ने नीति ल्याएको छ । महानगरले हरेक विद्यालयमा विद्यालय स्तरमा वार्षिक रूपमा एक महिने खेल महोत्सव आयोजना गर्ने नीति अघि सारेको छ ।
शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयका गोल्डमेडलिस्टलाई सिधै शिक्षक बनाउने नीति पनि महानगरले अङ्गीकार गरेको छ । महानगरले विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाउने नीति लिएको हो।
बुदागत रुपमा निम्न नीति हरु समेटिएका छ्न।
१. विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्व प्राथमिक तहदेखि नै अनिवार्य गरिनेछ । सबै श्रोत केन्द्रमा कम्तीमा एक–एक जना मनोसामाजिक परामर्शदाता र नर्सको व्यवस्था गरिनेछ । पूर्व प्राथमिक तहका कक्षालाई कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
२. विद्यार्थीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ ।
३. सामुदायिक विद्यालयहरूमा दिवा खाजाको लागि डाइट प्लान सहितको मापदण्ड लागु गरिनेछ । यसो गर्दा विद्यार्थी सङ्ख्या दुई सय भन्दा कम भएका विद्यालयहरूमा सेन्ट्रल किचनको अवधारणा समेत प्रयोगमा ल्याइनेछ ।
४. सामुदायिक र संस्थागत विद्यालय तथा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौँ महानगरपालिकाको एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
५. अटिजम भएका विद्यार्थीलाई लक्षित गरी विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिनेछ । सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा अपाङ्गता भएका विद्यार्थीहरूलाई भेदभावरहित तवरमा पठनपाठन कार्य गर्न गराउन अनिवार्य गरिनेछ ।
६.विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
७. काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक तथा रोजगार परामर्श केन्द्रहरूको अनुमति, नवीकरण, नियमन, गुणस्तर परीक्षण र प्रमाणीकरण सम्बन्धी कार्य गर्न काठमाडौँ सीप तथा तालिम परिषद् गठन गरिनेछ ।
८.सामुदायिक विद्यालयहरूको भौतिक तथा वित्तीय परीक्षणका आधारमा विद्यालय सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । विद्यालयको चल अचल सम्पत्तिलाई शैक्षिक प्रयोजनका लागि मात्रै उपयोग गरिनेछ ।
९. महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई पुस्तकालयको रूपमा विकास गरिनेछ । निजी तथा गैरसरकारी संस्थाहरूलाई पुस्तकालय सेवा विस्तार गर्न प्रोत्साहन गरिनेछ
१०.विद्यालयको वित्तीय सुशासनको लागि विद्यालयको लेखा परीक्षण महानगरपालिकाबाट गरिने प्रबन्ध मिलाइनेछ ।
११. व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गरिनेछ । विद्यालय स्तरमा वार्षिक रूपमा एक महिने खेल महोत्सव आयोजना गरिनेछ ।
१२. काठमाडौँको स्थानीय पहिचान र मौलिक सभ्यताका विषयहरू समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरी कक्षा ११ र सो भन्दा माथिल्लो तहका विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि सहजीकरण गरिनेछ ।
१३. विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाइनेछ । काठमाडौँलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा विकास गरी विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिनेछ ।