राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकोप्टर चढेर यात्रा गरेपछि बीच आकाशमै फर्किनुपरेको घटना सार्वजनिक भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उच्च स्रोतका अनुसार निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा निर्वाचन आयोगको पूर्वस्वीकृति बिना हवाई सवारी प्रयोग गर्न नपाइने प्रावधान रहेको छ। तर उक्त प्रावधान उल्लङ्घन गर्दै शाहले हेलिकोप्टरमार्फत यात्रा गरेको पत्ता लागेपछि सम्बन्धित निकायले हस्तक्षेप गरेको बताइएको छ।
जानकारी अनुसार बालेन्द्र शाहले काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्ट कम्पनीको ९- एन ओ बि हेलिकोप्टर चढेर झापा जाने योजना बनाएका थिए। तर निर्वाचन आयोगसँग आवश्यक अनुमति नलिएको जानकारी विमानस्थल तथा उड्डयन सम्बन्धित निकायमा पुगेपछि हेलिकोप्टरलाई गन्तव्यमा अवतरण गर्न अनुमति दिइएन। स्रोतका अनुसार यसबारे जानकारी प्रधानमन्त्रीका स्वकीय सचिवमार्फत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देउचन्द्रलाल कर्णलाई पनि गराइएको थियो।
त्यसपछि काठमाडौँ टावरमार्फत आकाशमा उडिरहेको हेलिकोप्टरलाई सन्देश पठाइएपछि उक्त हेलिकोप्टरलाई तुरुन्तै फर्कन निर्देशन दिइएको बताइएको छ। सो निर्देशनपछि हेलिकोप्टर झापातर्फ अगाडि बढ्न नपाई पुनः काठमाडौँ फर्किएको स्रोतको दाबी छ।निर्वाचनको समयमा राजनीतिक दलका नेता वा उम्मेदवारहरूले हवाई सवारी प्रयोग गर्दा निर्वाचन आयोगको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। उक्त प्रावधानको पालना नगर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन मानिने भएकाले सम्बन्धित निकायले कडाइका साथ निगरानी गरिरहेको छ। यस घटनाले निर्वाचन आचारसंहिताको पालनाबारे थप बहस र चासो बढाएको छ।