• Tuesday, March 3, 2026

खाडी देशहरूको हवाई क्षेत्र बन्द हुँदा काठमाडौंबाट ३१ अन्तर्राष्ट्रिय उडान रद्द



काठमाडौँ विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार, खाडी क्षेत्रका केही देशहरूको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि काठमाडौं आउने र जाने ३१ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।प्रभावित एयरलाइन्सहरूमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स रहेका छन्। रद्द भएका उडानहरूमा कुवेत–काठमाडौं–कुवेत, शारजाह–काठमाडौं–शारजाह, अबुधाबी–काठमाडौं–अबुधाबी, दुबई–काठमाडौं–दुबई, दोहा–काठमाडौं–दोहा र काठमाडौं–दोहा सेक्टर समावेश छन्।

विशेष गरी एयर अरेबिया र फ्लाइ दुबईका केही उडानहरू मंगलबारसम्म रद्द रहने जनाइएको छ। यसअघि शनिबार र आइतबार ४१ उडान रद्द भएका थिए, जसका कारण करिब ६,८०० यात्रु अलपत्र परेका थिए।खाडी क्षेत्र बन्द गरिएका देशहरूमा कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन रहेका छन्।

विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स तथा निकायसँग समन्वय भइरहेको जानकारी दिएको छ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी थप जानकारी वा पुनर्तालिकाका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

Please Login to comment in the post!

you may also like