• Tuesday, March 3, 2026

डरबाट न्यायसम्म : सिरहा कारागारभित्रको एउटा अपरेसन कथा


कारागार भनेको राज्यको नियन्त्रण, कानुनको शासन र दण्ड व्यवस्थाको प्रतिरूप मानिन्छ। तर कहिलेकाहीँ त्यही कारागारभित्र एउटा अदृश्य समानान्तर शासन जन्मिन्छ—जहाँ कानुनको होइन, डरको राज चल्छ। जिल्ला कारागार सिरहा भित्र तीन वर्षसम्म फैलिएको इन्द्रजित यादवको दबदबा त्यही समानान्तर शासनको भयावह कथा हो।कारागारको मुख्य ढोका प्रशासनले खोल्थ्यो, तर निर्णयको साँचो इन्द्रजितको हातमा थियो। उनको स्वीकृतिविना न कैदीसँग भेटघाट सम्भव थियो, न अनुगमन। प्रशासनलाई थाहा थियो—तर चुप लाग्नु उनीहरूको विवशता थियो। शक्ति जब औपचारिक संरचनाबाट फुत्केर अनौपचारिक हातमा पुग्छ, त्यतिबेला राज्य स्वयं निरीह बन्छ।

इन्द्रजित कुनै सामान्य कैदी थिएनन्। हत्या अभियोगमा २५ वर्षको सजाय भोगिरहेका उनी कारागारभित्र ‘नाइके’ जस्तै व्यवहार गर्थे। आफ्नो विरोध गर्ने, आदेश नमानेका वा ‘अन्डर’मा बस्न अस्वीकार गर्ने कैदीमाथि उनको व्यवहार निर्मम हुन्थ्यो। आँखामा पट्टी बाँधेर, हात पछाडि कस्सेर, घरेलु हतियारले पिट्दै यातना दिने घटना पटक–पटक दोहोरिएको थियो। दुई पटक त उनले २५ जनासम्म कैदीलाई कारागार छाड्न बाध्य पारेका थिए।२५ माघको दिन फेरि त्यही दृश्य दोहोरियो। दस जना कैदीलाई आँखा बाँधेर कुटपिट गरियो, ढोकामा ताल्चा ठोकियो। पीडितहरूको अवस्था विद्रोही समूहले कब्जामा लिएका बन्दीसरह थियो। तर यसपटक घटनाले फरक मोड लियो। खबर फैलिँदै जिल्ला प्रहरी कार्यालय सिरहा सम्म पुग्यो। करिब तीन साताअघि मात्रै कमान्ड सम्हालेका एसपी बासुदेव पाठकले यो सूचनालाई गम्भीर रूपमा लिए।

उद्धार कार्य सजिलो थिएन। यसअघि पनि प्रहरी प्रवेशमा अवरोध र आक्रमणको प्रयास भइसकेको थियो। तर यसपटक निर्णय स्पष्ट थियो—अब समानान्तर शासन अन्त्य गर्नैपर्छ। नेपाली सेना, सशस्त्र प्रहरी, मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर, एम्बुलेन्स र दमकलसम्म तयारी अवस्थामा राखिए। कारागार चारैतिरबाट घेराबन्दी गरियो, ड्रोनमार्फत दृश्य नियालियो।रातभरको योजनापछि बिहान ११ बजे सर्च अपरेसन सुरु भयो। आधा घण्टाभित्रै इन्द्रजितसहित १३ जना नियन्त्रणमा लिए। पूर्वसूचनाअनुसार जिम हलको पुरानो ब्ल्याङ्केटभित्र लुकाइएको कटुवा पेस्तोल र ७.६२ लेखिएको दुई राउण्ड गोली बरामद भयो। तीन वर्षदेखि सुनिँदै आएको हतियारको रहस्य त्यस दिन प्रमाणित भयो।

यो अपरेसन केवल गिरफ्तारी थिएन; यो राज्यको पुनःस्थापनाको क्षण थियो। कैदीहरूले केही दिन ‘इन्द्रजित दाइ’को माग गर्दै नाराबाजी गरे। तर प्रशासन दृढ रह्यो—“बरु सूर्य पश्चिमबाट उदाउला, अब उनी फर्किँदैनन्।” त्यो वाक्य केवल चेतावनी होइन, नयाँ सन्देश थियो—कारागार अब डरको होइन, कानुनको अधीनमा चल्नेछ।इन्द्रजितलाई सरुवा गरेर केन्द्रीय कारागार जगन्नाथदेवल पठाइयो। सिरहा कारागारमा नयाँ नाइके तोकिए। वातावरण क्रमशः शान्त बन्दै गयो। तीन वर्षसम्म जमेको त्रासको बादल हटेपछि कैदी र प्रशासन दुवैले सास फेर्न पाए।तर एउटा प्रश्न अझै बाँकी छ—कारागारभित्र पेस्तोल कसरी छिर्‍यो? प्रारम्भिक आशङ्का नाइके तथा चौकीदारमार्फत हतियार प्रवेश भएकोतर्फ संकेत गर्छ। रासन किनमेलको बहानामा बाहिर–भित्र गर्ने प्रक्रियामा कमजोरी थियो कि? अनुसन्धान जारी छ। यो प्रश्नको उत्तर केवल एक व्यक्तिको दोषमा सीमित छैन; यो समग्र प्रणालीको कमजोरी उजागर गर्ने दर्पण हो।

यो घटनाले सिकाएको पाठ स्पष्ट छ—शक्ति सधैँ दाहिना हुँदैन। जब राज्य मौन हुन्छ, अवैध शक्ति फस्टाउँछ। तर जब राज्य सजग र संयमित ढंगले अघि बढ्छ, तब जङ्गी शासन ढल्छ। सिरहा कारागारको अपरेसन केवल एक अपराधीको पतन होइन; यो कानुनको शासन पुनःस्थापनाको कथा हो—जहाँ डरभन्दा ठूलो शक्ति न्याय बन्यो।

Please Login to comment in the post!

you may also like