केपी शर्मा ओलीको उपस्थितिमा झापा–५ मा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमले निर्वाचन आचारसंहिताको पालना सम्बन्धी प्रश्न उठाएको छ। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली आइतबार झापा पुगेर निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा व्यस्त रहँदा सोही क्रममा शिक्षक संगठनले उनको सम्मान तथा समर्थनमा भेला आयोजना गरेको हो।
निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा सहभागी हुन, दलको सदस्यता लिन वा उम्मेदवारलाई राखेर राजनीतिक उद्देश्यका कार्यक्रम गर्न निषेध गरिएको छ। तर झापा–५ मा एमाले निकट शिक्षकहरूले खुलेआम भेला गरी आफ्ना उम्मेदवार ओलीको पक्षमा माहोल बनाउने प्रयास गरेको आरोप लागेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा स्थिरता र विधिको शासन आवश्यक रहेको बताए। उनले जनअसन्तोषको नाममा भइरहेका गतिविधिलाई आपराधिक संज्ञा दिँदै यस्ता क्रियाकलापले देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्याउने चेतावनी दिए। साथै, अघिल्लो शिक्षक आन्दोलनमा घुसपैठ हुन सक्ने आशंकाका कारण समयमै सचेत भएर आन्दोलन स्थगन गरिएको दाबीसमेत गरे।
ओलीले शिक्षकका समस्या समाधानका लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै वार्ता र समझदारीमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए। तर चुनावी माहोलमा शिक्षकहरूको सहभागिताले शिक्षा क्षेत्रको तटस्थतामाथि कस्तो असर पर्छ भन्ने विषयमा उनले स्पष्ट धारणा व्यक्त गरेनन्।सोही क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका नेकपाका उम्मेदवार रञ्जित तामाङले भने राज्यकोषबाट तलब खाने शिक्षकहरूले उम्मेदवारको पक्षमा खुलेआम प्रचारमा उत्रिनु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरे। उनले निर्वाचन आयोगले यस विषयमा के कदम चाल्छ भन्ने प्रश्नसमेत उठाए।
कार्यक्रममा शिक्षक संगठनका अध्यक्ष लम्बोदर पौडेलले ओलीको प्रशंसा गर्दै झापाली शिक्षकहरू एमाले नेतृत्वको सरकार हेर्न आतुर रहेको बताएका थिए। कार्यक्रममा झापा–५ का एमाले चुनावी कमान्डर तथा पूर्वमन्त्री देवेन्द्र दाहाललगायत शिक्षक संगठनका जिल्ला स्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।ओली केही दिन झापाका विभिन्न स्थानमा मतदातासँग घरदैलो कार्यक्रममा व्यस्त रहने उनका सचिवालयले जनाएको छ। कानुनको पालना गर्नुपर्ने जिम्मेवार पदमा बसिसकेका नेता तथा शिक्षकहरूबाटै आचारसंहिता उल्लंघन भएको आरोप लागिरहँदा यसले निर्वाचनको निष्पक्षतामाथि असर पार्ने चिन्ता व्यक्त गरिएको छ।