काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ। निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा रास्वपाले यो मुद्दालाई प्राथमिकताका साथ उठाएको हो। पार्टीले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न यो उपनिर्वाचनलाई पाइलट प्रोजेक्टका रूपमा उपयोग गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले छलफलमा बोल्दै निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकी रहेको तीन महिनाको अवधि विदेशबाट मतदानको प्राविधिक र कानुनी प्रणाली विकास गर्न पर्याप्त भएको बताए। उनले भने, "यो तीन महिनामा एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदानको व्यवस्था गर्न सकिन्छ। नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्न आयोग गम्भीर छ भने यो उपनिर्वाचनबाटै आफ्नो प्रतिबद्धता देखाओस्।" उनले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।
आचार्यले आयोगको जवाफदेहितामाथि प्रश्न उठाउँदै थपे, "यदि तीन महिनामा पनि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदानको व्यवस्था गर्न आयोग असमर्थ छ भने स्पष्ट भनोस् कि हामी २०८४ वा २०८९ को निर्वाचनमा पनि यो व्यवस्था गर्न सक्दैनौँ।" रास्वपाको यो मागले विदेशमा रहेका नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने विषयमा नयाँ बहस सिर्जना गरेको छ।