• Sunday, April 5, 2026

पोखरा–भैरहवा विमानस्थल सञ्चालनयोग्यता प्रतिवेदनमाथि प्रश्न



पोखरा–भैरहवा विमानस्थल सञ्चालनयोग्यता प्रतिवेदनमाथि प्रश्ननेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत निर्माण सम्पन्न भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न असफल भएका विषयमा फेरि प्रश्न उठ्न थालेका छन्। दुवै विमानस्थल हाल मुख्यतः आन्तरिक उडानमै सीमित छन्। वायुसेवा कम्पनीहरूको अनिच्छा, पर्याप्त बजार मागको अभाव र केही प्राविधिक जटिलतालाई यसका मुख्य कारणका रूपमा हेरिएको छ। यद्यपि निर्माण सम्पन्न भएपछि सञ्चालन तयारी तथा हस्तान्तरणका लागि गठन गरिएको शक्तिशाली समितिले विमानस्थल सञ्चालनयोग्य रहेको निष्कर्षसहितको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालनमा ल्याइए पनि अहिले त्यही समितिको भूमिका र प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।
प्राधिकरण स्रोतका अनुसार हाल भइरहेको अनुसन्धानमा वास्तविक निर्णयकर्ता र प्रभावशाली अधिकारीहरूलाई जोगाउने प्रयास भएको आशंका गरिएको छ। उड्डयन क्षेत्रका जानकारहरूले विमानस्थललाई प्राविधिक रूपमा उपयुक्त ठहर्याउने अधिकारीहरू अनुसन्धानको दायराबाहिर राखिए गलत निर्णयलाई संरक्षण मिल्ने र संस्थागत जवाफदेहिता कमजोर हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यसले “कमजोरमाथि कारबाही, शक्तिशालीलाई उन्मुक्ति” भन्ने गलत सन्देश प्रवाह हुन सक्छ।
स्रोतका अनुसार सञ्चालन तयारी तथा हस्तान्तरण समितिमा हाल उडान तथा हवाई सुरक्षा निर्देशनालयका निमित्त प्रमुखसमेत संलग्न थिए र उनले त्यसबेला समितिको नेतृत्व गरेका थिए। पोखरा, भैरहवा र प्राधिकरण प्रधान कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको चाहनाअनुसार काम अघि बढाएको दाबी पनि गरिएको छ। यसले विमानस्थलको प्राविधिक उपयुक्तता मूल्यांकन प्रक्रियामै निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
उड्डयन क्षेत्रका विज्ञहरूले उडान सुरक्षाजस्तो संवेदनशील विषयमा कुनै पनि प्रकारको हतार, दबाब वा पूर्वनियत निष्कर्ष दीर्घकालीन जोखिमको कारण बन्न सक्ने बताएका छन्। त्यसैले सकारात्मक प्रतिवेदन दिने अधिकारीहरू, समितिका पदाधिकारीहरू र निर्णय प्रक्रियामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने उच्च अधिकारीहरूमाथि पनि निष्पक्ष र समग्र अनुसन्धान हुनुपर्ने माग बलियो बन्दै गएको छ।

Please Login to comment in the post!

you may also like