• Saturday, June 21, 2025

नेपाल र जर्मनका राष्ट्रपति बिच भेटबार्ता


राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटवार्ता भएको छ । सोमबार जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर शनिबार राति जर्मनी पुगेका छन् ।

जर्मनी पुगेका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आज भेटवार्ता भएको हो । भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसीयलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानूनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

Please Login to comment in the post!

you may also like