• Wednesday, August 6, 2025

गगन थापा निकट मेयर बिरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर


काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दायर गरेको छ । उनी काँग्रेस महामन्त्री गगन थापा निकट हुन ।  नौ करोड २२ लाख ४६ हजार भ्रष्टाचार र १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियारले तीनैजनालाई प्रतिवादी कायम गरी दुई अलग कसुरमा मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतले नगरपालिकामै कार्यक्षेत्र रहेको पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि, जगत्गुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक तथा अध्यक्ष घरजग्गा व्यवसायी कँडेलबाट घुस रिसवत लिएको अख्तियारको दाबी छ । पदको दुरुपयोग गरी व्यवसायीसँग गैरकानुनी साझेदारी गरेको र विभिन्न माध्यमबाट घुस लिएर सम्पत्ति शुद्धीकरणसमेत गरेको अख्तियारको अभियोग छ । मेयर बस्नेतलाई मुख्य कसुरदार ठहर गरेर पत्नी उर्मिलासहित कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

कँडेलको जगत्गुरु कृपालु प्रतिष्ठानलाई मेयर बस्नेतले नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको देखिएको छ । प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट सात अर्ब ४८ करोड विदेशी सहायता प्राप्त गर्न मेयरले सहमति दिएको पनि अख्तियारको छानबिनबाट भेटिएको छ । प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरेको आरोप पनि मेयर बस्नेतविरुद्ध लगाइएको छ ।

प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी ४७ करोड ७५ लाख बजारमूल्य रहेको २३८.७५ आना जग्गा कँडेल र उनको कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरेको थियो । उक्त सम्झौतासमेत कार्यान्वयन गर्न जग्गाधनीहरूलाई गफलत (भ्रम)मा पारी मेयरले सम्झौता गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । मेयर बस्नेतले नै तीन करोड ७२ हजार जग्गाधनीहरूलाई भुक्तानी दिई प्रतिष्ठानले निर्माण गर्ने मन्दिरका लागि जग्गा लिने भनी बैनाबट्टा गरेका थिए ।

जग्गा खरिद गर्न कँडेलबाट मेयरले ०७४ देखि ०७८ सम्म विभिन्न मितिमा पाँच करोड ३६ लाख ६८ हजार र पत्नीको नाममा समेत गरेर कुल ६ करोड २८ लाख ६८ हजार ५६२ रुपैयाँ बैंकखातामा प्राप्त गरेको भेटिएको छ । कोलोनी सञ्चालक कँडेल र मेयरबिच जग्गा कारोबारका धेरै सम्झौता भएका देखिएका छन् । ०७७ र ०७८ मा दुईबिच ४७ करोड ७५ लाखको कारोबार भएका छन् । उक्त रकमको बजारमूल्य भएका जग्गा पद्मा कोलोनीले जग्गाधनीहरूलाई १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ मात्र भुक्तानी दिएर लिएको छानबिनबाट भेटिएको छ । यसमध्ये बैनाबट्टबापतको तीन करोड ७२ हजार मेयर बस्नेतले जग्गा बिक्रीकर्तालाई दिएको देखिन्छ । राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी जग्गा बजारमूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको भेटिएको छ ।

मेयर बस्नेतका नाममा विभिन्न समयमा घरजग्गा कारोबारसँग सम्बन्धित ठुलो रकम आए–गएकोसमेत भेटिएको छ । २९ असार ०८० मा उनको प्रभु बैंकको खातामा दुई करोड ६० लाख, ०८० कै फागुन र चैतमा सोही बैंक खातामा सात करोड १२ लाख २७ हजार गरी नौ करोड ७२ लाख २७ हजार प्राप्त भएको देखिएको छ । त्यसबाट उनले आठ करोड ४७ लाख २८ हजार रुपैयाँ खर्च तथा भुक्तानी गरेकोसमेत पाइएको छ । त्यस्तै, मेयर बस्नेतको एनएमबि बैंकको खातामा ०८० जेठमा एक करोड प्राप्त भएको र त्यो पूरै रकम खर्च तथा भुक्तानी भएको पनि देखिन्छ ।

मेयर बस्नेतले पत्नी उर्मिलासँगको मिलोमतो तथा योजनामा ओहोदाको दुरुपयोग गरी काम गरिदिएबापत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ घुस बैंकखातामा लिएको अख्तियारको दाबी छ । त्यसमध्ये मेयरको खातामा एक करोड ५९ लाख ७३ हजार र पत्नी उर्मिलाको खातामा ५६ लाख रुपैयाँ प्राप्त भएको छ । मेयरले ६ करोड ८२ लाख रुपैयाँ मूल्यबराबरको जग्गा पनि लिएको देखिएको छ । मेयर बस्नेतले पुत्र अनोजको बिहेभोज पनि घुसबापत नै कँडेललाई तिर्न लगाएको भेटिएको छ । पुत्रको वैवाहिक भोज गर्दाको २४ लाख ७२ हजार ६३७ रुपैयाँ मेयरले चारतारे ‘शंकर होटेल’मा भुक्तानी गर्न लगाएको भेटिएको छ । ‘बैंकखाता, जग्गा र बिहे भोजको भुक्तानीसमेत गरेर नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँबराबरको घुस मेयरदम्पतीले पद्मा कोलोनी, पद्मा मर्चेन्ट प्रालि तथा त्यसका सञ्चालक अध्यक्ष कँडेलबाट लिएको वारदात पुष्टि भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

आर्जन गरेको नौ करोड २२ लाख ४६ हजार सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने–छल्ने उद्देश्यले प्रतिवादीहरूको आपसी मिलेमतो र योजनामा अन्य गतिविधि गरेको पनि देखिएको छ । उक्त सम्पत्ति ऋण भुक्तानी, मेयरपत्नीको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेको भेटिएको छ । सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी १३ करोड १२ लाख ७३ हजारको सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ ।

मेयर बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा नौ करोड २२ लाख ४६ हजार बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । सोही उपदफाको देहाय (झ) बमोजिम उनलाई आठदेखि १० वर्षसम्म कैद सजायको मागदाबी अख्तियारले गरेको छ । मेयरका रूपमा ऐनको दफा २४ बमोजिम उनलाई थप सजायको मागदाबी पनि गरिएको छ । त्यसअनुसार उनलाई थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यस्तै, मेयर बस्नेतदम्पतीले घुसबापत प्राप्त सम्पत्ति तथा जग्गा बिक्री–वितरण गरी कर्जा भुक्तानीसमेत गरेको, विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरेको, घर निर्माणमा खर्च÷मसौट गर्नेसमेत गरेको अनुसन्धानबाट संकलित सबुत प्रमाणबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।

मेयरपत्नी उर्मिलालाई कसुरको लाभ प्राप्त गर्ने प्रकृतिको मतियारको रूपमा प्रतिवादी कायम गरी पतिको समान बिगो र सजाय मागदाबी अख्तियारले गरेको छ । दम्पतीका नामका जग्गा तथा सम्पत्तिबाट बिगो जफत गर्न पनि अख्तियारले भनेको छ । त्यस्तै, घरजग्गा व्यवसायी कँडेललाई पनि भ्रष्टाचार निवारण ऐनबमोजिम नौ करोड २२ लाख ४६ हजार रुपैयाँ नै बिगो कायम गरिएको छ । उनलाई पनि ऐनबमोजिम आठदेखि १० वर्ष कैद र जग्गा तथा सम्पत्तिबाट बिगो जफतको मागदाबी अख्तियारले गरेको छ ।

भ्रष्टाचारको कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरणसमेत गरेको भेटिएपछि तीनैजना प्रतिवादीउपर अख्तियारले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को ‘क’, ‘ख’ र ‘ग’ बमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अख्तियारले संलग्नविरुद्ध मुद्दा दायर गरेको हो । कसुरबाट प्राप्त सम्पत्ति रूपान्तरण वा हस्तान्तरण, प्रकृति, स्रोत, स्थान, निःसर्ग, कारोबार, स्वामित्व वा सम्पत्तिउपरको अधिकार लुकाउने वा छल्ने वा कसुरको सम्पत्ति प्राप्त, प्रयोग वा धारण गरेको देखिएपछि ऐनको व्यवस्थाबमोजिम अख्तियारले सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा अख्तियारले मेयर बस्नेतलाई मूल कसुरदार ठहर गरेको छ । उनीविरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै, ऐनको दफा ३० बमोजिम सम्पत्ति शुद्धीकरण कसुरमा बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुईदेखि १० वर्षसम्मको सजायको दाबी गरेको छ । उनको स्वामित्वमा रहेको जग्गा तथा सम्पत्ति जफत लिन पनि अख्तियारले भनेको छ । जनप्रतिनिधि भएकाले उनलाई दफा ३० को १, २, ३, ४ उपदफामा हुने सजायमा १० प्रतिशत थप सजायसमेत अख्तियारले मागदाबी गरेको छ ।

उर्मिलालाई पनि पति मोहनसमान बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा षड्यन्त्र, मद्दत, दुरुत्साहनजस्ता कार्य गरी मतियार भएको आरोपमा अख्तियारले दफा ३० (२) बमोजिम आधा सजायको मागदाबी गरेको छ । उनको नाममा रहेको कसुरसँग सम्बन्धित जग्गा तथा सम्पत्ति जफतको मागदाबी पनि गरेको छ ।

त्यस्तै, पद्मा कोलोनी, पद्मा मर्चेन्ट र कम्पनी सञ्चालक कँडेलविरुद्ध कसुर गर्न दुरुत्साहन गरेको आरोपमा ऐनबमोजिम मेयरलाई समान बिगो मागदाबी अख्तियारले गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा षड्यन्त्र गरेकामा मूल कसुरदारको सजायको आधा सजायलगायतका अन्य विभिन्न दफाबमोजिमका सजायको मागदाबीसहित कसुरको जग्गा तथा सम्पत्ति मागदाबी गरेको छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा विशेष अदालतमा दर्ता गराएको यो दोस्रो मुद्दा हो । गत चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन भएपछि आयोगले भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको कसुर हेर्ने अधिकार पाएको थियो ।


Please Login to comment in the post!

you may also like