भक्तपुर- भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बस्दै आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भक्तपुरको गुण्डु सरेका छन्। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको समन्वयमा गुण्डुमा तीनवटा घर भाडामा लिइएको छ। ओलीलाई भव्य समारोहबीच सार्वजनिक गर्ने तयारी छ, तर उनी हालसम्म सार्वजनिक भएका छैनन्।
भदौ २३ गते जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ प्रदर्शनकारीको मृत्यु भएको थियो। गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए। तर, प्रधानमन्त्री ओलीले प्रदर्शनकारीको मृत्युप्रति असंवेदनशीलता देखाउँदै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायम राख्ने अडान लिए। सुरक्षा समितिको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले संकटउन्मुख अवस्थाबारे चेतावनी दिए पनि ओलीले बेवास्ता गरे।मन्त्रिपरिषद् बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई उदार हुन आग्रह गरे। त्यसपछि मात्र ओली सामाजिक सञ्जाल खोल्न सहमत भए। सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो निर्णय सार्वजनिक गरे, तर त्यतिन्जेल आन्दोलनकारीको आक्रोश र देशव्यापी अशान्ति चरमोत्कर्षमा पुगिसकेको थियो।भदौ २४ गते बिहानैदेखि प्रदर्शनकारीले नेताहरूको घरमा तोडफोड र आगजनी सुरु गरे। प्रहरीले अवस्था नियन्त्रण गर्न नसक्दा बालुवाटारमा तनाव बढ्यो। एमाले नेताहरूको छलफलमा उपाध्यक्ष विष्णु पौडेलले राजीनामा दिन सुझाए, तर महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालले विरोध गरे। चार सुरक्षा निकायका प्रमुखहरूले तत्काल राजीनामा मागे, तर ओलीले सुरक्षाको जिम्मेवारी लिन नसकेको भन्दै उल्टै आक्रोश पोखे। प्रदर्शनकारीले बालुवाटारको गेट तोडेर आगजनी सुरु गरेपछि मात्र ओलीले प्रधानसेनापति सिग्देलमार्फत राजीनामा बुझाए, जुन तत्काल स्वीकृत भयो।राजीनामा स्वीकृत भएपछि ओली, उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र सल्लाहकार विष्णु रिमाललाई नेपाली सेनाको हेलिकप्टरले शिवपुरी पुर्यायो। अन्य नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई उद्धार नगरी छाडियो। उनीहरू सभामुख निवास हुँदै प्रहरीको सहयोगमा नक्साल पुगे। प्रदर्शनकारीले कांग्रेस सांसद राजेन्द्र बजगाईंको वर्णबास होटेल तोडफोड गरेपछि प्रहरीले नेताहरूलाई फेरि सभामुख निवास फर्कायो। पछि अवस्था सामान्य भएपछि उनीहरूलाई उद्धार गरियो।जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्य र सुशासनको माग उठाएको थियो। आन्दोलनकारीको आक्रोशले देश दन्कियो। भदौ २६ गते राति सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनिन्। राष्ट्रपति निवासमा भएको छलफलमा प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गर्ने सहमति भयो। माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन २१ गते चुनावको अपिल गरेका छन्।
एमाले नेताहरूले जेनजी आन्दोलनलाई प्रतिक्रियावादी षडयन्त्र ठहर गर्दै ओलीलाई कारक नमान्ने अडान लिएका छन्। तर, सरकारको अराजकताले जनताको भरोसा गुमेको स्वीकार गर्न उनीहरू तयार छैनन्।