• Monday, August 24, 2026

सेवाग्राहीको पहुँचभन्दा टाढा प्राधिकरणका व्यवस्थापकहरूको कार्यकक्ष



काठमाडौं। सार्वजनिक निकायका उच्च पदस्थ अधिकारीहरूको कार्यकक्ष सेवाग्राहीको सहज पहुँचमा हुनुपर्ने व्यवस्था विभिन्न सरकारी नीति, निर्देशिका तथा सुशासनसम्बन्धी अवधारणामा जोड दिइएको छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा भने सेवाग्राहीले व्यवस्थापक तथा निर्णयकर्ता अधिकारीसम्म पुग्नै कठिन हुने अवस्था रहेको गुनासो बढ्दै गएको छ।सेवाग्राहीका अनुसार सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा महानिर्देशकको कार्यकक्षसम्म पुग्न मुख्य प्रवेशद्वारबाट प्रवेश गरेपछि थप धेरै सुरक्षा गेट पार गर्नुपर्छ। यसले सामान्य प्रशासनिक काम, गुनासो वा सुझाव लिएर जाने सेवाग्राहीलाई अनावश्यक झन्झट बेहोर्न बाध्य बनाएको छ।

महानिर्देशकसम्म पुग्नै कठिन

प्राधिकरण मुख्यालयमा प्रवेश गरेपछि एकपछि अर्को गेट पार गर्दै धेरै चरणका गेट पारपछिमात्र महानिर्देशकको कार्यकक्ष पुग्न सकिने अवस्था रहेको सेवाग्राहीहरू बताउँछन्। उनीहरूका अनुसार यस्तो व्यवस्थाले सामान्य नागरिकलाई आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न कठिन बनाएको छ।एक सेवाग्राहीले भने, "महानिर्देशकको कार्यकक्षसम्म पुग्ने प्रक्रिया हेर्दा त्यहाँ बस्ने व्यक्तिको सुरक्षामा असाधारण खतरा भएजस्तो देखिन्छ। तर त्यसको असर सेवाग्राहीले भोग्नुपरेको छ। यस्तो व्यवस्थाले संस्थाको निर्णय प्रक्रिया र सेवाप्रतिको दृष्टिकोणसमेत झल्काउँछ।"

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उस्तै अवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा पनि सेवाग्राहीले यस्तै कठिनाइ भोग्नुपर्ने अवस्था रहेको गुनासो छ।विमानस्थल प्रशासन, महाप्रबन्धक तथा अन्य उच्च अधिकारीका कार्यकक्षमा प्रवेश गर्नुअघि प्रवेश पास बनाउनुपर्ने, त्यसपछि प्रहरी सुरक्षा जाँचसहित धेरै चरणका गेट पार गर्नुपर्ने व्यवस्था छ। सेवाग्राहीहरूका अनुसार लामो प्रक्रिया पूरा गर्दै सम्बन्धित अधिकारीसम्म पुग्दा आफूले लिएर गएको विषयसमेत ओझेलमा पर्ने अवस्था सिर्जना हुने गरेको छ।

‘सहज पहुँच’ को सिद्धान्त कार्यान्वयन भएन

सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री प्रशासनका सिद्धान्तअनुसार निर्णय गर्ने तहका अधिकारीहरू सेवाग्राहीको सहज पहुँचमा रहनुपर्ने मान्यता छ। तर प्राधिकरणमा भने उच्च व्यवस्थापनका कार्यकक्षहरू अत्यधिक सुरक्षा घेराभित्र राखिएको भन्दै आलोचना हुने गरेको छ।प्राधिकरणसँग सम्बन्धित एक अधिकारीका अनुसार सेवाग्राहीमैत्री संरचना बनाउन सकिने भए पनि संस्थाभित्रकै व्यवस्थापन र निर्णय प्रक्रियाका कारण त्यसतर्फ आवश्यक सुधार हुन नसकेको हो।प्रशासनिक विज्ञहरूका अनुसार सुरक्षा संवेदनशीलता कायम राख्दै सेवाग्राहीको पहुँच सुनिश्चित गर्न सकिने व्यवस्था विश्वका अधिकांश सार्वजनिक संस्थामा अपनाइएको छ। सुरक्षा र सेवा प्रवाहबीच सन्तुलन कायम गर्नु सार्वजनिक संस्थाको दायित्व हुने उनीहरूको भनाइ छ।सेवाग्राहीहरू भने नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो कार्यालय संरचना र सेवाग्राही पहुँचसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै नागरिकमैत्री वातावरण निर्माण गर्नुपर्ने माग गरिरहेका छन्।

Please Login to comment in the post!

you may also like