• Sunday, June 22, 2025

समस्याग्रस्त सहाकारी कुन पार्टी निकट नेताका बढी ???


प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै उनीमाथि संसदीय छानविनको माग गरेर थालेको सदन अवरोध ४ बुँदे सहमतिसँगै अन्त्य भएको छ ।

सत्तापक्ष र कांग्रेसबीच भएको ४ बुँदे सहमतिमा रविको नाम छैन तर उनी विगतमा संलग्न रहेको गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट गएको रकमको छानविन गर्ने भनिएको छ ।

संसदीय छानबिन समितिलाई दिइएको कार्यादेशमा २० वटा यसअघि संकटग्रस्त घोषणा भएका र ९ वटा बचतकर्ताको वचत फिर्ता नगरी बन्द अवस्थामा रहेका सहकारीहरुको नाम दिएर छानविनको लागि ३ महिना समय तोकिएको छ।

अब संसदीय समितिलाई छानबिनका लागि दिइएका २९ वटा सहकारीमध्ये जीबी राईबाहेक अन्य सञ्चालक तथा हर्ताकर्ताहरू केही नेपाली कांग्रेसका जिम्मेवार नेताहरू नै रहेका छन् भने केही एमाले र माओवादीका छन् । समस्याग्रस्त २० मध्ये अधिकांश सहकारी १० वर्षभन्दा अघि नै बन्द भइसकेका हुन् ।

संसदीय समितिको कार्यादेशमा परेको संमस्याग्रस्त लालिगुराँस सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा हर्ताकर्ता सुरेन्द्र भण्डारी कांग्रेस नेता हुन् । उनी गोरखाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सहकारी विभागका उपप्रमुख छन् ।

त्यस्तै समस्याग्रस्त पशुपति सेभिङ एण्ड क्रेडिट र कान्तिपुर सहकारीका सञ्चालक तथा संस्थापक चन्द्रबहादुर लामा (सीबी) काभ्रेपलान्चोकबाट नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी कांग्रेसबाट यसअघि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका थिए ।

छानबिनको लागि दिइएको सुमेरु सहकारीका अध्यक्ष भरत महर्जन ललितपुरका नेपाली कांग्रेसका नेता हुन् । उनी अहिले फरार रहेका छन् । त्यस्तै कुबेर बचत तथा ऋण सहकारीका खुसचन्द्र श्रेष्ठ र प्यासिफिक सेभिङका धिरेन्द्रप्रसाद प्रधान पनि कांग्रेस निकट रहेको सहकारी अभियन्ताहरू बताउँछन् ।

समस्याग्रस्त घोषित भएको गौतमश्री सहकारीका संस्थापक संचालक रामबहादुर गौतम भने काभ्रेपलाञ्चोकका माओवादी नेता हुन् ।

यता समस्याग्रस्त घोषित नभइसकेको तर संसदीय समितिको कार्यादेशको अनुसूचीमा रहेको आइडियल यमुना सहकारीका सञ्चालक केबी उप्रेती एमालेका सहकारी विभाग सचिव हुन् । उनको सहकारीमा समस्या आएपछि एमालेले उनलाई विभागको सचिवबाट हटाएको छ ।

उनीमाथि नेफ्स्कुनको निर्वाचनमा एमालेका उम्मेदवार परितोष पौडेललाई हराएर कांग्रेसका चन्द्र ढकाललाई जिताएको आरोप समेत थियो । त्यस्तै अनुसूचीमा रहेका इमेज सहकारीका संस्थापक देवकुमार नेपाली एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर हुन् ।

छानबिनको सूचीमा रहेका अन्य सहकारीमध्ये केही व्यवसायीहरूले चलाएका हुन् भने केही देखिने अनुहार एउटा र भित्र लगानी भिआईपीहरूकै रहेको बताइन्छ । छानबिन समितिले ती सहकारीका वास्तविक सञ्चालक र बचत अपचलन गर्नेहरू पत्ता लगाउनेछ ।

सुधीर बस्नेतको ओरेन्टल, कोहिनुर हिलजस्ता सहकारीहरू १३ वर्षदेखि नै संकटग्रस्त भएर बन्द भइसकेका छन् भने बस्नेत जेल पुगेका छन् । 

Please Login to comment in the post!

you may also like