• Saturday, June 21, 2025

चिकित्सा शिक्षा आयोगले बार्षिक क्यालेन्डर बनायो


चिकित्सा शिक्षा आयोगले २०८१/०८२ को शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ । आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थीको भर्नासम्म कार्यक्रम समावेश गरेर क्यालेन्डर प्रकाशित गरेको सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए ।

शुक्रवार बसेको कार्यकारी समितिको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको हकमा यो वर्षको एकीकृत प्रवेश परीक्षा भदौको पहिलो सातामा हुनेछ  भने स्नातकोत्तर तहको परीक्षा माघको तेस्रो हप्तामा हुनेछ।

प्रकाशित शैक्षिक क्यालेन्डर अनुसार एकीकृत प्रवेश परीक्षाको आवेदन भर्ने सूचना जेठ चौथो हप्तासम्म प्रकाशित गरिनेछ । स्नातकोत्तर तहको हकमा भदौमा आवेदन भर्ने सूचना प्रकाशन गरिनेछ ।

परीक्षा फाराम भर्ने समयावधि स्नातक तहको हकमा असार तेस्रो हप्तामा हुनेछ भने स्नातकोत्तर तहको हकमा कात्तिकको चौथो हप्तामा हुनेछ । एकीकृत प्रवेश परीक्षा सञ्चालन स्नातक तहको हकमा भदौको पहिला हप्तामा हुनेछ भने स्नातकोत्तर तहको हकमा माघको तेस्रो हप्तामा हुनेछ ।

प्रवेश परीक्षाको नतिजा भदौ दोस्रो हप्तामा सार्वजनिक हुनेछ भने स्नातकोत्तर तहको हकमा माघको चौथो हप्तामा प्रकाशन गरिनेछ । आयोगले २०८१ को मंसिर चौथो हप्तादेखि स्नातक तहको कक्षा प्रारम्भ गर्ने लक्ष्य लिएको छ भने स्नातकोत्तर तहको हकमा २०८२ वैशाख १ गतेदेखि हुने गरी तालिका निकालेको छ ।

एकीकृत प्रवेश परीक्षामा सहभागी हुन साबिकको व्यवस्थाका अतिरिक्त कक्षा १२ को परीक्षामा समावेश भएको प्रवेशपत्र पेश गरेर पनि आवेदन दिन सकिनेछ । कक्षा १२ को नतिजा प्रकाशन पछि मात्र स्नातक तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिने भएकाले शैक्षिक क्यालेन्डर नम्बर ७ भन्दा पछाडिको कार्यहरूको समयावधि परिमार्जन हुने सक्ने सदस्य सचिव काप्रीले बताए ।

अनलाइन आवेदन फाराम भर्ने समयावधि दोब्बर दस्तुरसहित बढीमा चार हप्तासम्मको हुनेछ।



Please Login to comment in the post!

you may also like