संयुक्त राज्य अमेरिका र इजरायलसँगको युद्ध सुरु भएको दुई महिनापछि इरानमा शक्ति संरचनामा ठूलो परिवर्तन देखिएको छ। अली खामेनेईको हत्या भएपछि सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक देशमा एकल, शक्तिशाली धार्मिक नेताको अभाव भएको छ। यस परिवर्तनले इरानको युद्ध रणनीति र वार्ताप्रतिको दृष्टिकोणमा प्रभाव पारिरहेको छ।यद्यपि मोज्तबा खामेनेईलाई नयाँ सर्वोच्च व्यक्तित्वका रूपमा अघि सारिएको छ, स्रोतहरूका अनुसार उनको भूमिका धेरै हदसम्म प्रतीकात्मक मात्र रहेको छ। वास्तविक निर्णय गर्ने शक्ति सैन्य नेतृत्वतर्फ सरेको छ, विशेषगरी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) र सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलमा। यिनै निकायहरूले अहिले राजनीतिक र सैन्य रणनीतिमा प्रमुख भूमिका खेलेका छन्।
स्पष्ट केन्द्रीय नेतृत्वको अभावले कूटनीतिक वार्तामा इरानको प्रतिक्रिया ढिलो हुने गरेको छ। पाकिस्तानको मध्यस्थतासमेत समेटिएका प्रयासबारे जानकार अधिकारीहरूका अनुसार एकीकृत निर्णय संरचना नहुँदा प्रतिक्रिया दिन केही दिन लाग्ने गरेको छ।इरानको कूटनीतिक प्रयासको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन्, जसलाई संसद् सभामुख मोहम्मद बाकर कालीबाफले साथ दिएका छन्। सैन्य पक्षमा भने आईआरजीसी कमान्डर अहमद वाहिदी मुख्य पात्रका रूपमा उभिएका छन्, विशेषगरी युद्धविराम वार्तामा।
यसबीच मोज्तबा खामेनेई प्रारम्भिक आक्रमणमा घाइते भएपछि सार्वजनिक रूपमा देखिएका छैनन्। उनी अप्रत्यक्ष रूपमा सञ्चार गर्दै निर्णयहरू अनुमोदन गर्ने भूमिकामा मात्र सीमित रहेको बताइएको छ।विश्लेषकहरूका अनुसार यो अवस्था इरानको शासन प्रणालीमा व्यापक परिवर्तनको संकेत हो—धार्मिक नेतृत्वबाट सुरक्षा निकायको वर्चस्वतर्फ। आईआरजीसी समर्थित कट्टरपन्थी समूहहरूले पश्चिमी दबाबको प्रतिरोध र रणनीतिक नियन्त्रण कायम राख्ने नीतिमा जोड दिएका छन्, विशेषगरी स्ट्रेट अफ होर्मुज जस्ता संवेदनशील क्षेत्रमा।आन्तरिक परिवर्तन भए पनि इरानमा विभाजन वा पतनको कुनै संकेत देखिएको छैन। बरु, एकीकृत युद्ध रणनीति स्पष्ट भएको छ—पूर्ण युद्ध विस्तारबाट जोगिने, भूराजनीतिक प्रभाव कायम राख्ने, र राजनीतिक, आर्थिक तथा सैन्य रूपमा अझ बलियो बन्ने।