• Saturday, June 21, 2025

अपराध गरेर विदेश भागेका दुई अभियुक्त दुबई बाट समातिए


अपराध गरेर विदेश भागेका दुई अभियुक्तलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरी ल्याएको छ । ज्यानसम्बन्धी कसुर र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट्सबाट ल्याइएको हो । 

मोरङको लेटाङ नगरपालिका– ३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका– १३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरी ल्याएको हो । इन्टरपोलको सहयोग र एनसिबी अबुधाबी युएईको समन्वयमा उनीहरूलाई पक्राउ गरी ल्याइएको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए । 

पक्राउ परेकामध्ये लिम्बू ज्यानसम्बन्धी कसुर मुद्दामा फरार थिए । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय लेटाङले प्रक्रिया अघि बढाएको थियो । एनसिबी काठमाडौंको अनुरोधमा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी, विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोषउपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुलेपछि रेड नोटिस प्रक्रिया अघि बढेको थियो । सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएकोमा त्यसको करिब एक वर्षपछि उनी पक्राउ परेका हुन् । 

बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा र सन्तोषलाई साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रवक्ता कार्कीले बताए । नेपालको अन्य देशसँग सुपुर्दगी सन्धि नभए पनि इन्टरपोलको समन्वयमा सम्बन्धित देशबाट निष्कासनको प्रक्रियामार्फत फरार अभियुक्तहरूलाई पक्राउ गरी ल्याउने गरेको छ । (नयाँ पत्रीका बाट साभार)

Please Login to comment in the post!

you may also like