• Saturday, June 21, 2025

थाई प्रधानमन्त्री पेटोङटार्नको गठबन्धन सरकार सङ्कटमा: फोन संवाद प्रकरणले जनआक्रोश


थाईल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको छ। यसको मुख्य कारण कम्बोडियाका पूर्वनेता हुन सेनसँगको उनको फोन वार्तालाप सार्वजनिक हुनु हो, जसले लामो समयदेखि चलिरहेको सीमा विवादलाई अझ बल्झाएको छ।

यो वार्तालाप बाहिरिएपछि थाई जनतामा आक्रोश छाएको छ र पेटोङटार्नको फिउ थाई पार्टीको एक प्रमुख गठबन्धन साझेदारले सरकार छोडेको छ। ३८ वर्षीय पेटोङटार्नमाथि अहिले ठूलो दबाब परेको छ।

उक्त फोन संवादमा प्रधानमन्त्री पेटोङटार्नले हुन सेनलाई "अंकल" (मामा/काका) भनेर सम्बोधन गरेकी थिइन्। हुन सेन उनकै परिवारका मित्र र दक्षिणपूर्वी एसियाका एक वरिष्ठ राजनीतिज्ञ हुन्। संवादमा उनले एक थाई सैन्य कमान्डरलाई समेत बेवास्ता गरेकी थिइन्।

"कम्बोडियाली नेतासँगको मेरो कुराकानीको अडियो चुहावट भएर जनतामा असन्तुष्टि बढेकोमा म माफी चाहन्छु," बिहीबार उनले बढ्दो दबाबबीच भनिन्।

पेटोङटार्नको सत्तारुढ गठबन्धनको दोस्रो ठूलो पार्टी भुम्जाईथाईले बुधबार गठबन्धन छाडेपछि उनको पार्टीको संसदीय स्थितिमा ठूलो धक्का लागेको छ।

अहिले उनको गठबन्धनसँग झिनो बहुमत मात्र छ, जुन अन्य साझेदारहरूले पनि छाडेमा गुम्नेछ। अन्य दुई गठबन्धन साझेदारहरूले बिहीबार अबेरसम्ममा स्थितिको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

आलोचकहरूले प्रधानमन्त्रीको हुन सेनसँगको अत्यधिक नम्र व्यवहारप्रति आपत्ति जनाएका छन्, जहाँ उनले हुन सेनलाई "अंकल" भनेर सम्बोधन गरिन् र उनको आवश्यकता "व्यवस्थापन" गर्ने वाचा गरिन्।

उनीहरूले प्रधानमन्त्रीमाथि देशको राजनीतिक रूपमा प्रभावशाली सेनालाई कमजोर पारेको आरोप पनि लगाएका छन्। पेटोङटार्नले हुन सेनलाई फोनमा भनेकी थिइन् कि सीमा तनावको पछिल्लो घटनालाई सम्हाल्ने थाई सैन्य कमान्डर "केवल राम्रो देखिन चाहेका थिए र अनावश्यक कुराहरू बोलेका थिए।"

सिनावात्रा र कम्बोडियाको हुन परिवारबीचको मित्रता दशकौं पुरानो हो। हुन सेन र पेटोङटार्नका बुबा, थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले एकअर्कालाई "धर्म दाजुभाइ" मान्छन्।

थाई नेताले उक्त फोन संवादलाई "वार्ताको एउटा प्रविधि" भन्दै बचाउ गरेकी छिन्, तर विपक्षी नेताहरूले उनलाई राजीनामा दिन आह्वान गरेका छन्।

हुन सेनले भनेका छन् कि उनले अडियो क्लिप ८० जना राजनीतिज्ञहरूसँग साझा गरेका थिए र तीमध्ये एक जनाले यसलाई सार्वजनिक गरे। उनले पछि १७ मिनेटको सम्पूर्ण रेकर्डिङ आफ्नो फेसबुक पेजमा साझा गरेका थिए।

पेटोङटार्न प्रधानमन्त्री भएको जम्मा १० महिना मात्र भयो। उनका पूर्ववर्ती स्रेथा थाभिसिनलाई मन्त्रिपरिषद् नियुक्ति सम्बन्धी नियम उल्लङ्घन गरेकोमा देशको संवैधानिक अदालतले हटाएपछि गत अगस्तमा उनले प्रधानमन्त्रीको पदभार सम्हालेकी थिइन्।

उनी थाक्सिन सिनावात्राकी छोरी हुन्, जो १५ वर्षको निर्वासनपछि गत अगस्टमा थाईल्याण्ड फर्केका थिए। उनी थाईल्याण्डको इतिहासमै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्, र दोस्रो महिला प्रधानमन्त्री पनि (पहिलो उनकी काकी यिंगलक सिनावात्रा थिइन्)।

Please Login to comment in the post!

you may also like