काठमाडौं— नागरिक उड्डयन सुरक्षाको संवेदनशील क्षेत्रमा गम्भीर कमजोरी देखिँदादेखिँदै सौर्य एयरलाइन्सलाई उडान अनुमति दिने तयारी भएको खुलासा भएको छ। प्राधिकरणका उच्च स्रोतका अनुसार सेफ्टी अडिटमा कमजोर अंक प्राप्त गरे पनि “अब सुधार गर्छौं” भन्ने आश्वासनका आधारमा उडान अनुमति दिन आन्तरिक तयारी अगाडि बढाइएको हो। यो निर्णयसँगै नागरिक उड्डयन प्राधिकरण (क्यान) भित्रै गम्भीर प्रश्न र असन्तोष चुलिँदै गएको छ।
उच्च स्रोतका अनुसार सौर्य एयरलाइन्सले हालै सम्पन्न सेफ्टी अडिटमा अपेक्षाकृत कमजोर मूल्यांकन पाएको थियो। अडिटले उडान सञ्चालन, मर्मत–सम्भार, मानव संसाधन व्यवस्थापन, सेफ्टी म्यानेजमेन्ट सिस्टम र आपतकालीन तयारीलगायतका पक्षमा सुधार आवश्यक रहेको स्पष्ट औंल्याएको थियो। तर ती कमजोरी तत्काल सुधारिएको ठोस प्रमाण नआउँदै प्राधिकरणले उडान अनुमति दिने तयारी थालेको दाबी गरिएको छ।स्रोत भन्छ, “सेफ्टी अडिटको मर्म सुधार कार्यान्वयन हो। तर यहाँ आश्वासनलाई नै आधार मानेर निर्णय हुन लागेको छ। यो नागरिक उड्डयन सुरक्षाका लागि खतरनाक नजीर हो।”यस प्रक्रियामा क्यानको फ्लाइट सेफ्टी विभागका प्रमुख प्रभाकर चन्द्र मलिकले निर्णायक भूमिका खेलेको उच्च स्रोतको दाबी छ। स्रोतका अनुसार मलिकले निमित्त महानिर्देशक देव चन्द्र लाल कर्णलाई सौर्य एयरलाइन्सलाई उडान अनुमति दिन ‘कन्भिन्स’ गरिसकेका छन्। “आन्तरिक छलफलमा सेफ्टी अडिटमा देखिएका कमजोरीलाई ‘क्रमिक रूपमा सुधार हुने’ भन्दै प्रस्तुत गरिएको छ,” स्रोतले भन्यो।
क्यानभित्रै कतिपय अधिकारीहरूले भने नियम, मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासको उल्लंघन हुने भन्दै आपत्ति जनाएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्डअनुसार सेफ्टी अडिटमा देखिएका प्रमुख कमजोरी सुधार नभएसम्म उडान अनुमति दिनु जोखिमपूर्ण मानिन्छ। “हामी यात्रुको जीवनसँग खेलवाड गर्न सक्दैनौं,” एक वरिष्ठ अधिकारीले भने, “सेफ्टीमा सम्झौता गर्ने अधिकार कसैलाई छैन।”सौर्य एयरलाइन्सले भने अडिटमा औंल्याइएका कमजोरी सुधारका लागि कार्ययोजना पेश गरेको र त्यसको कार्यान्वयन सुरु भइसकेको दाबी गरेको छ। एयरलाइन्सका एक प्रतिनिधिले नाम नछाप्ने शर्तमा भने, “हामीले सबै सुझावलाई गम्भीरतापूर्वक लिएका छौं। प्राधिकरणसँग निरन्तर समन्वय भइरहेको छ।” तर कार्ययोजनाको प्रगति, समयसीमा र अनुगमन संयन्त्रबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।नागरिक उड्डयन क्षेत्रमा काम गर्ने विज्ञहरूले यस्तो निर्णयले नियामक संस्थाको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएका छन्। उड्डयन सुरक्षा विज्ञका अनुसार “सेफ्टी अडिट पास/फेलको औपचारिकता होइन, यात्रुको जीवन रक्षा गर्ने उपकरण हो।” उनले थपे, “यदि आश्वासनकै भरमा अनुमति दिइयो भने भोलि कुनै दुर्घटना भए यसको नैतिक र कानुनी जिम्मेवारी कसले लिन्छ?”यसैबीच, क्यानको नेतृत्वमा स्थायित्व नहुनु, निमित्त व्यवस्थापनमै महत्वपूर्ण निर्णयहरू हुनु र आन्तरिक दबाबका बीच निर्णय हुनुले संस्थागत कमजोरी झन् उजागर गरेको छ। प्राधिकरणभित्रै ‘सेफ्टीभन्दा व्यवसायिक दबाब हाबी हुन लागेको’ गुनासो सुनिन थालेको छ।
यात्रु अधिकारकर्मीहरू पनि यो प्रकरणलाई गम्भीर रूपमा लिँदै पारदर्शिता माग गरिरहेका छन्। उनीहरूको माग छ—सेफ्टी अडिटको पूर्ण प्रतिवेदन सार्वजनिक गरियोस्, सुधारका ठोस प्रमाण पेश गरियोस् र त्यसपछि मात्र उडान अनुमति दिइयोस्।अब प्रश्न उठेको छ—कमजोर सुरक्षा अंक हुँदाहुँदै आश्वासनकै आधारमा उडान अनुमति दिनु कति उचित छ? नागरिक उड्डयन सुरक्षाको मापदण्ड कागजमै सीमित रहने कि व्यवहारमै लागू हुने? सौर्य एयरलाइन्स प्रकरणले क्यानको नियामक भूमिकामाथि गम्भीर परीक्षण खडा गरेको छ।