• Tuesday, March 3, 2026

युक्रेन–रुस युद्धको ‘अमेरिकी शान्ति–प्रस्ताव’मा किभको जवाफ पुग्यो; ट्रम्पले भने– ‘युरोपेली नेताहरू भेटको तयारीमा छन्’



अमेरिकी राष्ट्रपतिको त्रम्प प्रशासनले तयार पारेको नयाँ शान्ति–प्रस्तावमा युक्रेनले बुधबार औपचारिक जवाफ बुझाएको अमेरिकी तथा युक्रेनी अधिकारीहरूले CNN लाई बताएका छन्। युद्धलाई अन्त्यतिर डोर्याउन सकिने सम्भावित सहमतिको रूपरेखा बिस्तारै स्पष्ट हुँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार युद्ध छिटो टुंग्याउनुपर्ने दबाब दिइरहेका छन्।

पछिल्ला हप्ता–दिनयता युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र गतिमा अघि बढिरहेका छन्। बुधबार ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै “अब यतिवेलासम्म कहिल्यै नभएको जति नजिक” सम्भावित समाधान पुगेको दाबी गरे।

उनका अनुसार बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले उनलाई यसै साताको अन्त्यतिर युरोपमा भेट गर्न समेत प्रस्ताव गरेका छन्, जहाँ उनीहरूका साथ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि उपस्थित हुने सम्भावना छ।

“उनीहरूले के ल्याएर फर्कन्छन्, त्यसमा निर्भर गर्छ,” ट्रम्पले भने, “हामी अनावश्यक रूपमा समय फाल्न चाहँदैनौँ।”

एक युरोपेली कूटनीतिज्ञका अनुसार ‘ट्रम्पको चासो र अधैर्य’ का कारण छलफलहरू छिटो गतिमा अघि बढिरहेका छन्।

अमेरिकी प्रस्ताव: २८ बुँदाबाट २० बुँदामा झरेको दस्तावेज


करिब एक महिनाअघि मात्र सार्वजनिक भएको, अमेरिकी नेतृत्वमा तयार पारिएको र रुसले पनि समर्थन गरेको २८ बुँदे प्रारम्भिक शान्ति–प्रस्ताव पछिल्लो केही कूटनीतिक वार्तापछि २० बुँदामा सीमित बनाइएको छ।

यो प्रस्तावसँगै सुरक्षा–प्रतिश्रुतिसम्बन्धी अर्को दस्तावेज र युद्धपछिको आर्थिक पुनर्निर्माणसम्बन्धी छुट्टै कागजात पनि अघि बढाइएको छ। जेलेन्स्कीले बुधबार आर्थिक पुनर्निर्माणसम्बन्धी छलफल गरेको जानकारी दिएका थिए।

किभले आफूले पठाएको नयाँ प्रतिक्रियामा कतिपय संशोधन गरेको हो कि होइन, त्यसबारे सुरुमा स्पष्ट जानकारी नआएको बताइन्छ।

तर सामग्रीबारे जानकार दुई युरोपेली कूटनीतिज्ञका अनुसार २० बुँदे नयाँ प्रस्तावले सम्पर्क–रेखा वरिपरि असैन्य क्षेत्र बनाउने सुझाव राखेको छ।

यसले युक्रेनलाई नाटोको आर्टिकल–५ जस्तै सुरक्षा–प्रतिश्रुति दिने व्यवस्था पनि समेटेको छ—जसमा कुनै सदस्यमाथि आक्रमण भए सबैले रक्षा गर्नुपर्छ।

साथै युक्रेनलाई २०२७ सम्म युरोपियन युनियनको सदस्य बनाउने प्रतिवद्धता प्रस्तावमा उल्लेख छ।

रूसले युक्रेनको नाटो सदस्यता कहिल्यै नहुने अडानलाई प्राथमिकता दिए पनि, नयाँ अमेरिकी प्रस्तावमा “नाटो सदस्यता निषेध” भन्ने वाक्य हटाइएको छ—तर नाटो सदस्यताबारे प्रत्यक्ष उल्लेख पनि गरिएको छैन, जसले विषयलाई ‘अस्पष्ट तर खुला’ राखेको बुझिन्छ।

चुनाव, सीमावर्ती क्षेत्र, र विवादास्पद मान्यताहरू


प्रस्तावले युक्रेनमा छिट्टै चुनाव गराउने कुरा पनि समेटेको छ—६० देखि ९० दिनभित्र सुरक्षा सुनिश्चित भए चुनाव गर्न सकिने जेलेन्स्कीको भनाइसँग मिल्दोजुल्दो।तर कूटनीतिज्ञहरूले भनेका अनुसार केही बुँदाहरू अझै पनि युक्रेनी तथा युरोपेली पक्षका लागि विवादास्पद छन्।

सबैभन्दा संवेदनशील मध्ये एक—रुसद्वारा कब्जा गरिएका युक्रेनी भूभागलाई अमेरिकी मान्यता


यदि यो अन्तिम सम्झौतामा परेको खण्डमा, अमेरिकी परम्परागत नीतिको ऐतिहासिक उल्टफेर हुनेछ, किनकि वाशिङ्टनले सदैव युक्रेनको क्षेत्रीय अखण्डतालाई सबैभन्दा कडा रूपमा समर्थन गर्दै आएको थियो।

अर्को विवादास्पद प्रावधान—युक्रेनका सशस्त्र बलको आकार ८ लाख सैनिकसम्म सीमित गर्ने प्रस्ताव। यो अघिल्लो ६ लाखको प्रस्तावभन्दा बढाइएको भए पनि, युद्धरत राष्ट्रका लागि यो सीमा कतिसम्म व्यवहारिक हुन्छ भन्ने विषयमा प्रश्न उठ्न सक्छ।

यसबाहेक रुसका ‘फ्रोजेन एसेट’ को भविष्य अमेरिकामा रुस–अमेरिका बीचमै तय हुने उल्लेख गरिएकोछ—जुन कुरा युरोपेली पक्षका लागि पनि अत्यन्तै संवेदनशील बनेको छ, किनकि ती सम्पत्तिको ठूलो हिस्सा युरोपमै सुरक्षित अवस्थामा राखिएको छ।

रुस–युक्रेन : अझै सहमतिमा पुग्ने संकेत छैन


अमेरिका र युरोपेली मुलुकहरूको कूटनीतिक सक्रियता तीव्र भए पनि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौतामा रुचि देखाएको कुनै स्पष्ट संकेत अहिले पनि देखिएको छैन, युरोपेली तथा नाटो अधिकारीहरूको भनाइ छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने—“यदि दुवै पक्षबीच पुल बाँध्ने कुनै उपाय छ भने संसारमा त्यो गर्नसक्ने शक्ति हामीसँग मात्र छ। तर अन्त्यमा, युद्ध रोक्ने कि नरोक्ने—उनीहरू आफैँले निर्णय गर्नुपर्छ। यदि उनीहरूले रोक्न चाहँदैनन् भने युद्ध जारी रहन्छ।”

अहिलेसम्मका सबै प्रयत्न—वार्ता, प्रस्ताव, दबाब, र कूटनीतिक दौड–धूप—कूटनीतिक इतिहासमै दुर्लभ गतिमा चलिरहेका छन्। तर यी सबै प्रयासहरू अझै अत्यन्तै नाजुक र विघटनशील अवस्थामा छन्, विशेषगरी भू–भाग हस्तान्तरणजस्ता विषयले सहमतिलाई कहिल्यै पनि भत्काउन सक्छ।

Please Login to comment in the post!

you may also like