• Tuesday, March 3, 2026

बदलिँदो जनमतको चुनावी सन्देश


राजनीति होस् वा जीवनका अरू कुनै पनि क्षेत्र, कोही व्यक्ति, समूह वा परिवार अपरिहार्य हुँदैन । समयसँगै सबै कुरा परिवर्तनशील हुन्छन् भन्ने मान्यता नै आधुनिक समाजको आधार हो । भनिन्छ– समयबाहेक संसारमा स्थायी केही छैन । तर, राजनीतिमा कहिलेकाहीँ यस्ता पात्र देखिन्छन्, जो आफूलाई सत्ता र शक्तिबिनाको कल्पनै गर्न सक्दैनन् । यिनै प्रवृत्तिका राजनीतिज्ञहरूलाई व्यङ्ग्यात्मक रूपमा ‘सिंहमाथि सवार’ भनिन्छ । सत्ता रूपी सिंहमा चढुन्जेल ती शक्तिशाली देखिन्छन्, तर जब जनता वा समयले त्यस सिंहबाट ओरालिदिन्छ, तब त्यही सिंहले खाइदिएको अनुभूति हुन्छ ।

लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्तामा पठाउने हुन् र शक्तिको वास्तविक स्रोत पनि जनता नै हुन् । तर, सत्तालाई सेवा होइन, स्वामित्व ठान्ने राजनीतिक संस्कारले जब चुनाव वा आन्दोलनमार्फत झट्का खान्छ, तब उनीहरूमा गहिरो असुरक्षा र आक्रोश देखिन्छ । गएको ३५ वर्षको प्रजातान्त्रिक र लोकतान्त्रिक अभ्यासपछि आज नेपाली राजनीतिमा देखिएको दृश्य यही हो । पालैपालो सत्तामा बसेका ठूला दल र पुरानो पुस्ताका नेताहरू आत्मविश्वास गुमाएको अवस्थामा देखिन्छन् । चुनाव आउनुअघि नै ‘हारिन्छ कि’ भन्ने मनोविज्ञान उनीहरूको भाषण र व्यवहारमा झल्किन थालेको छ ।यही पृष्ठभूमिमा बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ तथा वैकल्पिक शक्तिहरूको उदयले विशेषगरी युवापुस्तामा नयाँ ऊर्जा र उत्साह पैदा गरेको छ । वर्तमान राजनीतिक परिदृश्यलाई सरसर्ती हेर्दा कम्तीमा चारवटा स्पष्ट रुझानहरू देखिन्छन्, जसले यो चुनावलाई अघिल्ला चुनावभन्दा फरक बनाइरहेका छन् ।

पहिलो, चुनावले ल्याएको नयाँ उत्साह । अमेरिकी पूर्वराष्ट्रपति फ्रान्क्लिन डि. रुजभेल्टले भनेझैँ, “प्रजातन्त्रका लागि सबैभन्दा ठूलो खतरा भनेको जनताको राजनीतिप्रतिको उपेक्षा हो ।” नयाँ संविधान जारी भएपछि भएका दुईवटा चुनावमा नागरिक सहभागिता संख्यात्मक रूपमा उल्लेख्य भए पनि राजनीतिक सार्थकता कमजोर देखियो । चुनावी तालमेलका नाममा शीर्ष नेताहरूले भागबन्डा गरेर तय गरेका उम्मेदवारलाई अनुमोदन गर्नकै लागि चुनाव गरिएको जस्तो अनुभूति भयो । तर, जेन–जी आन्दोलनपछिको यो चुनावमा माहौल केही फरक देखिन्छ । कांग्रेस, एमाले, नेकपा, मधेशवादी दलदेखि रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीजस्ता नयाँ शक्तिहरू पनि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।प्रत्यक्ष चुनावमा महिलाको उम्मेदवारी अझै कमजोर भए पनि उमेर संरचनामा देखिएको परिवर्तन उल्लेखनीय छ । ५० वर्षमुनिका ६३ प्रतिशतभन्दा बढी उम्मेदवार र ४० वर्षमुनिका ३१ प्रतिशत उम्मेदवार हुनु आफैँमा ठूलो परिवर्तन हो । २०७८ को जनगणनाअनुसार ४० वर्षमुनिको जनसंख्या ७० प्रतिशतभन्दा बढी रहेको देशमा यो राजनीतिक प्रतिनिधित्वतर्फको सकारात्मक संकेत हो । जेन–जी आन्दोलनपछि युवाहरूमा उम्मेदवार बन्ने र सक्रिय राजनीति गर्ने उत्साहले ‘नयाँ नेपाल सम्भव छ’ भन्ने सन्देश दिएको छ ।

दोस्रो रुझान बालेन र रास्वपाको उभार हो । यसपटक रास्वपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अगाडि सारेको छ । वर्षौँदेखि राजनीतिमा जरा गाडेर बसेका केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने बालेनको निर्णयले युवापुस्तामा विशेष उत्साह थपेको छ । जनकपुरको आमसभा होस् वा झापामा उम्मेदवारी दर्ताको दृश्य, बालेनले ‘रकस्टार’ जस्तै व्यवहार पाएका छन् । प्रश्न उठ्छ– विकास, सुशासन र नीतिगत खाकाबारे विस्तृत बहस नगर्दा पनि बालेनप्रतिको यति ठूलो आकर्षण किन ?यसको उत्तर समाजको गहिरो असन्तोषमा छ । धेरैको बुझाइमा पुराना दल र नेताहरूले वर्षौँसम्म भ्रष्टाचार संस्थागत गरे, राजनीति सत्ताकब्जाको खेल बन्यो र परिणाम शून्य रह्यो । त्यसैले ‘नयाँ अनुहार भ्रष्ट नहुन सक्छन्, नभए पनि पुरानाभन्दा खराब त हुँदैनन्’ भन्ने भाष्य समाजमा बलियो बनेको छ । सामाजिक सञ्जाल र अनलाइन मिडियाको प्रभुत्व रहेको अहिलेको युगमा निरन्तर मिडिया ध्यान (न्युज साइकल) कब्जा गर्न सक्नु ठूलो राजनीतिक शक्ति बनेको छ, जसमा बालेन र रास्वपा अहिलेसम्म सफल देखिन्छन् ।तर, चुनौतीहरू पनि कम छैनन् । प्रधानमन्त्रीका उम्मेदवार बनेपछि बालेनका अभिव्यक्ति, नीति र व्यवहारमाथि कडा समीक्षा सुरु भइसकेको छ । मधेशमा संघीयता, पहिचान र सामाजिक न्यायका सवालमा उनको वास्तविक धारणा के हो भन्ने खोजी तीव्र हुँदै जानेछ । काठमाडौंमा नगरप्रहरीको धरपकडका घटनाले मधेशी समुदायमा बनेको धारणा उनको राष्ट्रिय नेताको छविमाथि कस्तो प्रभाव पार्छ, त्यो पनि खुला प्रश्न हो ।

तेस्रो रुझान गगन थापाको नेतृत्वमा कांग्रेसको पुस्तान्तरण हो । अन्तरिमकालका लागि भए पनि कांग्रेसले नयाँ सभापति पाउनु र गगनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नु आफैँमा ठूलो सन्देश हो । कांग्रेसजस्तो पुरानो पार्टीमा लामो समयदेखि हावी ‘जेरिन्टोक्रेसी’ लाई विशेष महाधिवेशनले केही हदसम्म तोडेको छ । दुईतिहाइ नयाँ उम्मेदवारसहित कांग्रेसले आफूलाई समयसापेक्ष बनाउने प्रयास गरेको देखिन्छ । तर, जनतामा रहेको विश्वास संकट कांग्रेस र एमालेलाई अझै चुनौती बनेको छ । “पहिले पनि यस्तै वाचा गरे, तर उल्टो गरे” भन्ने स्मृति जनतामा गहिरो छ, जुन चुनौती बालेन वा नयाँ शक्तिहरूलाई कम छ ।मधेशमा गगन र बालेन दुवैको प्रतिस्पर्धा चासोको विषय बनेको छ । एकातिर गणतन्त्रवादी एजेन्डाका कारण गगनप्रति सहानुभूति छ, अर्कोतिर पहिलो मधेशी प्रधानमन्त्री बन्न सक्ने सम्भावनाले बालेनप्रति आकर्षण छ । यो द्वन्द्वले मधेशलाई निर्णायक क्षेत्र बनाइदिएको छ ।चौथो र अन्तिम रुझान चुनावपछिको स्थायित्व र सुधारको प्रश्न हो । ‘पपुलिज्म’ टिकाउ हुन्छ कि हुँदैन भन्ने बहस विश्वभर चलिरहेको छ । अनुभवले देखाउँछ– सुधार लागू गर्न या त स्पष्ट बहुमत चाहिन्छ, या त व्यापक राष्ट्रिय सहमति । नेपालको सम्भावित चुनावी परिणाम हेर्दा कुनै एक दलले सजिलै बहुमत ल्याउने अवस्था देखिँदैन । यदि फेरि ‘म्याजिक नम्बर’ को खेल दोहोरियो भने पुरानै अस्थिरता र सत्ताको सौदाबाजी फर्किन सक्छ ।

यसैले अब नेपाली राजनीतिमा एउटा आधारभूत समझदारी आवश्यक छ । जनताले जसलाई धेरै मत दिए, उसैले सरकार चलाउने नैतिकता विकास गर्नुपर्छ । नर्वे, स्विडेन वा फिन्ल्यान्डजस्ता देशमा अल्पमत सरकार सामान्य छन्, तर साना दलले प्रधानमन्त्री पदमा अनैतिक दाबी गर्दैनन् । यस्तो अभ्यासले मात्र लोकतन्त्रको सम्मान हुन्छ ।अब उम्मेदवार र प्रधानमन्त्रीका सम्भावित अनुहारहरू जनतासामु आएका छन् । चुनावी घोषणापत्रमाथि गहिरो बहस जरुरी छ । अझ सम्भव भए बालेन, गगन, ओली र प्रचण्डलाई एउटै मञ्चमा राखेर खुला बहस गरियोस् । यो केवल चुनावी तमासा होइन, भावी नेतृत्वलाई आजैदेखि जवाफदेही बनाउने अभ्यास हुनेछ । अन्ततः लोकतन्त्रमा सिंहमाथि सवार कोही हुँदैन । जनता नै सिंह हुन्, र त्यो सत्य नबुझ्नेहरू समयसँगै ओर्लिन बाध्य हुन्छन् ।

Please Login to comment in the post!

you may also like