नेपाली राजनीतिमा पछिल्लो समय नीति, एजेन्डा र संगठनभन्दा पनि ‘न्यारेटिभ’ निर्णायक बन्दै गएको छ । जनतासमक्ष नेता कसरी प्रस्तुत गरिन्छ, उसको छवि कसले र कसरी निर्माण गर्छ, र त्यो छविलाई मिडियाले कुन कोणबाट व्याख्या गर्छ—यी सबैले राजनीतिका शक्ति सन्तुलनलाई प्रत्यक्ष प्रभाव पारिरहेका छन् । यही सन्दर्भमा एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली मिडियाले क्रमशः ‘घुमुवा’ वा ‘पर्यटक प्रधानमन्त्री’ को न्यारेटिभमा सीमित गर्दै लगेका छन् भने अर्कोतिर नेपाली कांग्रेसका सभापति गगन थापाको सर्लाही यात्रालाई भने सहज, स्वाभाविक र सकारात्मक राजनीतिक कदमका रूपमा ग्रहण गरेको देखिन्छ । यी दुई भिन्न मिडिया व्यवहारले नेपाली राजनीतिमा मिडिया म्यानेजमेन्ट, न्यारेटिभ सेटिङ र छवि राजनीतिले कति गहिरो प्रभाव पार्छ भन्ने प्रष्ट संकेत गर्छ ।
प्रचण्डको हकमा हेर्दा, पछिल्ला केही वर्षयता उनको प्रधानमन्त्रीकाललाई उपलब्धिभन्दा पनि यात्रामुखी, भ्रमणमुखी र औपचारिकतामै सीमित देखाउने प्रयास लगातार हुँदै आएको छ । विदेश भ्रमण होस् वा देशभित्रका जिल्ला दौडाहा, ती यात्राबाट के नीतिगत निर्णय भए, के ठोस परिणाम निस्किए भन्नेभन्दा पनि ‘कति देश घुमे’, ‘कति होटल बसे’, ‘कति फोटो सेसन भए’ भन्ने खालको रिपोर्टिङले प्राथमिकता पाएको देखिन्छ । यसरी निर्माण गरिएको ‘पर्यटक प्रधानमन्त्री’ को न्यारेटिभले प्रचण्डको राजनीतिक गहिराइ, द्वन्द्वपछिको संक्रमणकालीन राजनीतिमा खेलेको भूमिका र वर्तमान सत्तासन्तुलनमा उनको रणनीतिक क्षमतालाई ओझेलमा पारेको छ । मिडियाले निरन्तर एउटै फ्रेम दोहोर्याउँदा त्यो जनमानसमा सत्यजस्तै स्थापित हुन जान्छ, चाहे त्यसको वस्तुगत आधार कमजोर नै किन नहोस् ।यसको ठीक उल्टो चित्र गगन थापाको सर्लाही यात्रामा देखिन्छ । काठमाडौंको स्थापित, सुरक्षित र परिचित निर्वाचन क्षेत्र छोडेर मधेशको फरक भूगोलमा चुनाव लड्ने निर्णय आफैँमा जोखिमपूर्ण छ । तर मिडियाले यसलाई ‘जोखिम’ भन्दा बढी ‘साहस’, ‘राष्ट्रिय नेता बन्ने प्रयास’ र ‘राजनीतिक समानताको अभ्यास’ का रूपमा व्याख्या गर्यो । गगनको सर्लाही आगमनलाई मिडियाले न त बाहिरबाट लादिएको कदम भन्यो, न त अवसरवादको लेप लगायो । बरु यसलाई समावेशी राजनीति, पहाड–मधेश सम्बन्ध सुधार र राष्ट्रिय एकताको प्रतीकका रूपमा प्रस्तुत गरियो । यही फरक प्रस्तुतीकरणले देखाउँछ—मिडियाले एउटै कामलाई पनि कसरी फरक न्यारेटिभमा ढाल्न सक्छ ।यसको पछाडि गगन थापाको ‘मिडिया म्यानेजमेन्ट’ पक्षलाई नकार्न सकिँदैन । यहाँ मिडिया म्यानेजमेन्ट भन्नाले समाचार नियन्त्रण वा निर्देशन होइन, बरु आफ्नो एजेन्डा, भाषा र व्यवहारलाई मिडियाले बुझ्न सक्ने गरी प्रस्तुत गर्ने राजनीतिक कौशल हो । गगन थापाले लामो समयदेखि मिडियासँग संवाद गर्दै आएका छन् । उनका अभिव्यक्ति स्पष्ट, चुनौतीपूर्ण र उद्धरणयोग्य हुन्छन् । उनी आफैँ न्यारेटिभ सेट गर्छन्—मिडियाले पछ्याउने मात्रै हो । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ जस्ता सरल तर शक्तिशाली वाक्यहरूले राजनीतिक सन्देशलाई सजिलै हेडलाइन बनाइदिन्छ । यही कारण गगनको सर्लाही यात्रा ‘अस्पष्ट प्रयोग’ नभई ‘राजनीतिक मिसन’ का रूपमा स्थापित हुन पुग्यो ।
यसमा अर्को महत्वपूर्ण पक्ष जन–मनोविज्ञान पनि हो । प्रचण्ड लामो समयदेखि सत्ताको केन्द्रमा रहँदै आएका नेता हुन् । उनीप्रति थकान, अविश्वास र निराशा मिश्रित भावना समाजमा देखिन्छ । यस्तो अवस्थामा मिडियाले नकारात्मक न्यारेटिभ प्रस्तुत गर्दा त्यसले सहजै समर्थन पाउँछ । तर गगन थापा भने ‘परिवर्तनको आशा’ बोकेका नेताको रूपमा स्थापित छन् । उनीप्रति आलोचना भए पनि अपेक्षा अझै जीवित छ । त्यसैले उनको हरेक कदमलाई ‘संभावना’ को चस्माबाट हेरिन्छ । मिडिया पनि यही सामाजिक मनोविज्ञानबाट अलग छैन ।नेपाली मिडियाको अर्को विशेषता भनेको ‘कन्ट्रास्ट खोज्ने प्रवृत्ति’ हो । एक पात्रलाई उचाल्न अर्को पात्रलाई होच्याउने शैली यहाँ सामान्य भइसकेको छ । प्रचण्डलाई ‘घुमुवा’ देखाउँदा गगन ‘ग्राउन्डेड’ नेता देखिन्छन् । एक जना ‘पुरानो सत्ता संस्कृति’ को प्रतिनिधि ठहरिँदा अर्को ‘नयाँ राजनीति’ को प्रतीक बनाइन्छ । यथार्थ राजनीति भने यति सरल छैन, तर मिडिया न्यारेटिभ सरलतामै चल्छ ।
यसले दीर्घकालीन रूपमा नेपाली राजनीतिलाई दुई किसिमले असर गर्न सक्छ । पहिलो, न्यारेटिभमै टिक्ने राजनीति बलियो हुँदै जान्छ, जहाँ कामभन्दा छवि महत्वपूर्ण हुन्छ । दोस्रो, मिडियासँग संवाद गर्न जान्ने नेता अघि बढ्छन्, संवाद गर्न नसक्ने वा नगर्ने नेता पछि पर्छन् । गगन थापाको सफलतामा उनको संगठनात्मक संघर्ष, वैचारिक अडानसँगै मिडियामा आफूलाई प्रस्तुत गर्ने क्षमता पनि एउटा महत्वपूर्ण ‘कस्सी’ को रूपमा देखिन्छ ।अन्ततः प्रश्न मिडियाको भूमिकामाथि पनि उठ्छ । मिडिया आलोचक मात्रै होइन, न्यारेटिभ निर्माता पनि हो । कसलाई कसरी हेर्ने, कुन यात्रालाई ऐतिहासिक बनाउने र कुन भ्रमणलाई पर्यटनमा सीमित गर्ने—यी निर्णयले राजनीतिक दिशालाई प्रभावित गर्छन् । गगन थापाको सर्लाही यात्रालाई सहज रूपमा ग्रहण गरिएको तथ्य आफैँमा गलत होइन । तर यही सहजता सबै नेताका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न भने गम्भीर छ ।नेपाली राजनीतिमा अब प्रतिस्पर्धा केवल चुनावी मतको होइन, ‘कथा’ को पनि हो । जसले आफ्नो कथा विश्वसनीय रूपमा भन्न सक्छ, उसैले राजनीति जित्ने संकेत देखिन थालेको छ । गगन थापाले यो कुरा बुझेका छन्, प्रचण्ड यो कथात्मक युद्धमा कमजोर देखिएका छन् । यही अन्तरले आज मिडियामा एउटा ‘घुमुवा प्रधानमन्त्री’ र अर्को ‘राष्ट्रिय नेता बन्न खोज्दै गरेको सभापति’ को छवि निर्माण भएको छ । राजनीतिका आगामी मोडहरूमा यो न्यारेटिभ कति टिक्छ, त्यो भने अब जनताले निर्णय गर्नेछन् ।