• Sunday, April 19, 2026

सिक्टा सिँचाइ आयोजनामा दुई दशकमा ४६ प्रतिशत प्रगति


बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको करिब दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई निर्माण सुरु भएको आयोजनामा हालसम्म रु २३ अर्ब ७७ करोड २९ लाख खर्च भइसकेको छ, जुन कुल गुरुयोजनाको ४४.९५ प्रतिशत वित्तीय प्रगति हो। चालु आर्थिक वर्षका लागि प्रस्तावित रु तीन अर्ब ३० करोड ५९ लाख बजेटमध्ये रु एक अर्ब ५७ करोड मात्र प्राप्त भएको आयोजनाले जनाएको छ।

चैत मसान्तसम्म रु ८५ करोड ७७ लाखभन्दा बढी खर्च हुँदा यस अवधिमा ७६.३१ प्रतिशत भौतिक र ५४.४८ प्रतिशत वित्तीय प्रगति भएको छ। राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको यस आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेकोमा हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। संशोधित गुरुयोजनाअनुसार कुल लागत रु ५२ अर्ब ६४ करोड पुर्‍याई आव २०८९/९० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजना सम्पन्न भएपछि बाँकेका करिब १७ हजार परिवारका चार लाख कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ भने बाली सघनता १६८ प्रतिशतबाट बढाएर २४२ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

Please Login to comment in the post!

you may also like