• Saturday, June 21, 2025

रक्सी खाएर अछाममा काङ्ग्रेस नेता बिच कुटाकुट


जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र कांग्रेस जिल्ला प्रवक्ता पदमबहादुर शाहबीच मदिरा पिएर कुटाकुट भएको छ। आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा अन्य दुईजनासहित उनीहरूले मदिरा सेवन गरेका थिए। राति साढे १० बजेसम्म चलेको ‘मदिरा पाटी’मा सुरक्षित आवास गृह (सेफ हाउस) र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा उनीहरूबिच कुटाकुट भएको हो। 

समन्वय प्रमुख कुँवरले गालामा झापड हानेर शाहको घाँटी च्यापेपछि शाह प्रतिकारमा उत्रिएका स्रोतकाे दाबी छ। समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको घाँटी, हात र छातीमा चोट लागेको छ।

कुँवर कांग्रेसबाटै निर्वाचित समन्वय प्रमुख हुन्। अछाममा जिल्ला समन्वय समितिले जिम्मा लिएर सेफहाउस सञ्चालन गर्ने विषयमा कांग्रेसभित्र दुई थरी धारणा छ। सेफहाउस जिल्ला समन्वय समितिको मातहतमा रहन नहुने पक्षमा प्रवक्ता शाहको समूह छ भने समन्वय प्रमुख कुँवरको समूह समन्वय समितिले नै सेफहाउस सञ्चालन गर्नेुपर्ने पक्षमा छ।

यही विषयमा लफडा सुरु भएपछि दुईजनाबिच कुटाकुट भएको थियो। उनीहरूबिच कुटाकुट भएको खबर पाएपछि राति नै प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूले मदिरा सेवन गरेको देखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।

जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजका अनुसार दुवैजनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

आफूमाथि नियोजित रूपमा कुटपिट भएको भन्दै समन्वय प्रमुख कुँवरले प्रहरीमा उजुरी दिएका छन्। शाहले पुरानै रिसइबीका कारण यस्तो गरेको हुन सक्ने उनी बताउँछन्। 

यता शाह भने आफूलाई एक्कासि अश्लील गालीगलाैज गरेर आक्रमण गरेपछि त्यसको प्रतिकार मात्र गरेको बताउँछन्। कुँवरले आफूलाई एकोहोरो कुटपिट गरेपछि प्रतिकार गरेको उनले नयाँ पत्रिकालाई बताए। सेफहाउसको विषयसँगै पार्टी नेतृत्वको चर्को विरोध गरेपछि झगडा सुरु भएको शाहको भनाइ छ।

Please Login to comment in the post!

you may also like