सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित भई सम्बोधन गरिरहेको कार्यक्रममा उनीहरूविरुद्ध नाराबाजी भएको हो।
बोल्दै गर्दा नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए। “जति गर्ने हो गर्नूस्। जति कराउने हो, कराउनूस्,” आफूविरुद्ध नाराबाजी भएपछि उनले सम्बोधनका क्रममा भने।
गौरापर्व खेल्न र हेर्न आएकाहरूको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए। “यही हो नेपालको चलन? यही हो सिकेर आएको ?’, देउवाले भने, “कार्यक्रम बिथोल्ने, लाज छैन।”
नाराबाजीबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। कांग्रेस सभापति देउवाअघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो। प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्सेनि काठमाडौँमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ।