अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई विदेशबाट पटक–पटक ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका नाइके फिलिपिन्समा प्रहरीको नियन्त्रणमा परेका छन्। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहका नेतृत्वकर्ता भनिएका प्रकाश पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा फिलिपिन्सको राजधानी मनिलामा त्यहाँको प्रहरीले घेराबन्दीमा लिएको उच्च स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पाठकलाई नेपाल ल्याई कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ। उनलाई पक्राउ गरी नेपाल हस्तान्तरण गर्न आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने बताइएको छ। सोहीअनुसार नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जाने तयारीमा रहेको छ।उक्त समूहले मंसिर दोस्रो साता अख्तियारको आधिकारिक इमेलमा १० दिनको अल्टिमेटम दिँदै राईलाई राजीनामा नदिए हत्या गर्ने धम्की दिएको थियो। इमेल तथा सामाजिक सञ्जालमार्फत पठाइएका धम्कीमा १० जनाको हत्या गर्ने योजना बनाइएको उल्लेख थियो, जसमा राईको नाम समेत समावेश गरिएको बताइएको छ।प्रहरीले यसअघि नै धम्की दिने समूहको पहिचान भइसकेको र उनीहरूको लोकेसन ट्रयाक भइरहेको जनाएको थियो। घटनालाई गम्भीर रूपमा लिएर अन्तर्राष्ट्रिय समन्वयमा अनुसन्धान अघि बढाइएको थियो। धम्की दिने मुख्य पात्र नियन्त्रणमा आएसँगै घटनाबारे थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ।