• Saturday, June 21, 2025

फोहोर गरेको आरोपमा एमालेलाई महानगरको जरिवाना


काठमाडौँ महानगरले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको छ।

खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा फोहरमैला गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको हो।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘…मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १ दरबारबमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेकाले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।’

महानगरका प्रवक्ता नवीन मानन्धरले जागरणसभाका क्रममा सडकपेटीमा फोहरमैला गरेकाले एमालेलाई कारबाहीस्वरूप जरिवाना गरिएको बताए।

सरकारको नेतृत्व गरिरहेको एमालेले अराजकताविरूद्ध भन्दै शुक्रबार दिउँसो काठमाडौँको दरबारमार्गमा जागरणसभा गरेको थियो। काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा भएको जागरणसभामा उल्लेख्य संख्यामा एमालेका नेता तथा कार्यकर्ताहरू पुगेका थिए।

जागरणसभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले सम्बोधन गरेका थिए।

Please Login to comment in the post!

you may also like