• Saturday, June 21, 2025

कुच्चिएको सिक्का भारतीय प्रम मोदी लाई उपाहार पठाउने गभर्नरलाई कार्वाहीको माग


 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत गरेको भन्दै राष्ट्र बैंककै कार्यकारी निर्देशक विनोद राज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुच्चिएको सिक्का उपहार पठाएर गभर्नर अधिकारीले देशकै बेइज्जत गरेको हुँदा  आवश्यक निर्देशन दिन आचार्यले पत्रमार्फत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

गत असोज ८ गते राष्ट्र बैंकका प्रथम गभर्नर स्व. हिमालय शमशेर जबराको सम्मानमा काठमाडौँको होटेल ह्यात रिजेन्सीमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा सहभागी हुन आएका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासमार्फत प्रधानमन्त्री मोदीलाई कुच्चिएको सिक्का उपहार पठाइएको आचार्यले बताएका छन्।

उक्त कार्यक्रमपछि दुई देशका गभर्नरबीच सिक्का उपहार आदानप्रदान भएको र त्यसै क्रममा गभर्नर अधिकारीले निलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ कार्डसमेत राखेर गभर्नर दासमार्फत प्रधानमन्त्री मोदीलाई गाई अंकित सिक्काहरु उपहार पठाएको पत्रमा उल्लेख छ।

तर, भारत पठाइएका सिक्का खोटा र स्वरुप बिग्रेका भन्ने जानकारी उतैबाट आएपछि तत्काल गभर्नर कार्यालयका उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाई निजमार्फत उक्त खोटा र स्वरुप बिग्रेका सिक्काको बदलामा नयाँ सिक्काहरु पठाइएको आचार्यको भनाइ छ।

गभर्नर कार्यालयले टक्सारबाट उपहार शिर्षकअन्तर्गत खरिद गरेका ती सिक्का सग्लो नै रहे पनि सन्दुकको साइज सानो भएकोले जबरजस्ती सिक्का राख्दा कुच्चिएको पत्रमा उल्लेख छ।

‘उपरोक्त क्रियाकलाप माथि उल्लेखित मिति, समय, स्थान र उपस्थितिमा मेरै सामुन्ने भएको हो भनी जानकारीका लागि म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई किटानी उजुरी गर्दै निज गभर्नर अधिकारीलाई अब आइन्दा यस्तो कार्य नगर्न आवश्यक निर्देशन दिनुहुन विनम्र अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

आचार्यले उक्त पत्र कार्तिक २३ गते लेखेका हुन्। उक्त पत्रबारे राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्लेनसहित ११ जनालई बोधार्थ गराएका छन्।

Please Login to comment in the post!

you may also like