• Saturday, June 21, 2025

बिचौलिया व्यापारी दिपक भट्ट निकट श्रेष्ठलाई धितोपत्र बोर्डको जिम्मा


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षका रुपमा नियुक्त गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिश समितिले श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिश गरेको थियो। धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्ति श्रेष्ठ पनि सिफारिशमा परेका थिए।


अध्यक्ष नियुक्तिमा लामो समयदेखिको राजनीतिक विवादका कारण बोर्ड झण्डै एघार महीना अध्यक्षविहीन भएको थियो। २०८० पुस २० गते अघिल्ला अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्ड अर्थ मन्त्रालयका प्रतिनिधिको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो। अध्यक्ष नियुक्तिको प्रक्रिया पटकपटक विवादमा परेपछि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन।


२०८० फागुनमै अर्थ मन्त्रालयले सार्वजनिक सूचना निकालेर बोर्ड अध्यक्षमा योग्यता पुगेका व्यक्तिबाट दरखास्त आह्वान गरेकोमा आवेदन दिएका १९ जनामध्ये पाँच जना संक्षिप्त सूचीमा छनोट भएको भन्दै २०८० चैतमा अर्थ मन्त्रालयले सूचना निकालेको थियो। २०८१ जेठ मसान्तमा मात्रै अर्थ मन्त्रालयले संक्षिप्त सूचीमा परेका उम्मेदवारको अन्तर्वार्ताको सूचना निकालेको थियो।


गत असार २ गते अध्यक्ष पदका लागि उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तोकिए पनि संक्षिप्त सूचीमा परेका पाँचमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए। नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्कीले अन्तर्वार्ता बहिष्कार गरेका थिए। अर्थ मन्त्रालयले सूचना निकालेर गत असार ५ गते पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाए पनि त्यो दिन फेरि उनीहरूले अन्तर्वार्ता बहिष्कार नै गरेका थिए।


गत असोज तेस्रो साता अन्तर्वार्ताका लागि तोकिएको दिन छनोट समिति संयोजक शिवराज श्रेष्ठ एकाएक बिरामी परेको बताएर अन्तर्वार्ता रोकिएको थियो। तर, मंसीर ९ मा फेरि अन्तर्वार्ताको मिति तोकिएपछि यसअघि बहिष्कार गर्दै आएका नवराज अधिकारी र कृष्णबहादुर कार्की अन्तर्वार्ता दिन गएका थिए। योसँगै छनोट समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो।


धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त भएका श्रेष्ठ व्यवसायी हुन। बुटवलका श्रेष्ठले यसअघि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य तथा स्वाभिमान लघुवित्तको अध्यक्षको रुपमा काम गरेका थिए। उनी व्यवसायी दीपक भट्ट निकट मानिन्छन्। नेपालमा जलविद्युत् आयोजना निर्माणमा संग्लन चिनियाँ कम्पनी चाइना कचौपा ग्रुप कर्पोरेशनको स्थानीय एजेन्ज भट्टका तर्फबाट श्रेष्ठले ऊर्जा मन्त्रालयमा हुने बैठकहरूमा समेत सहभागिता जनाउने गरेको जानकार स्रोतले बताएको छ।


दीपक भट्ट प्रधानमन्त्री ओली निकट मानिन्छन्। यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारका वेला धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषय चरम राजनीति मुद्दा बन्न पुगेको थियो। त्यतिवेला अर्थमन्त्री वर्षमान पुनले दाहाल सरकार ढल्नुका पछाडि धितोपत्र बोर्डका अध्यक्षमा एमालेले अघि सारेका पात्रलाई रोक्न खोज्नु पनि एक कारण भएको सार्वजनिक टिप्पणी गरेका थिए।


धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति दिने विषय लामो समयदेखि चर्चामा छ। बोर्ड अध्यक्षको नियुक्ति त्यसैकारण चर्को कर्पोरेट तानातानमा पर्दै आएको छ।

Please Login to comment in the post!

you may also like