भारतमा पाँच महिनाअघि भएको एउटा भीषण विमान दुर्घटनाको अनुसन्धान अहिले तीव्र विवादको घेरामा छ। १२ जुनमा अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डिया फ्लाइट १७१ विमान उडेको ३२ सेकेन्डमै भवनमा ठोक्किँदा २६० जनाको मृत्यु भएको थियो। अहिले भारतको सर्वोच्च अदालतले समेत यसबारे चासो देखाउँदै कप्तानलाई दोष नदिन आग्रह गरेको छ।
दुर्घटनापछि भारतीय हवाई दुर्घटना अनुसन्धान ब्यूरो ले एक महिनापछि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। तर उक्त प्रतिवेदनले दुर्घटनाको कारणका रूपमा पाइलटहरूको क्रियाकलापलाई प्राथमिकताका साथ उल्लेख गरेपछि विवाद सुरु भएको हो। आलोचकहरूले प्रतिवेदनले सम्भावित प्रविधिक त्रुटि वा विमानमा भएको प्रणालीगत गल्तीबाट ध्यान हटाएको दाबी गरेका छन्।
भारतीय हवाई दुर्घटना अनुसन्धान ब्यूरोको १५ पृष्ठ लामो प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ— उडान सुरु भएपछि केही सेकेन्डमै इन्धन आपूर्ति नियन्त्रण गर्ने “फ्यूल कटफ स्विच” ‘रन’बाट ‘कटफ’ स्थितिमा पुगेको थियो। यो स्विच सामान्यतया विमान सुरु गर्न वा उडानपछि इन्जिन बन्द गर्न प्रयोग गरिन्छ। जब स्विच ‘कटफ’मा पुग्छ, इन्धन आपूर्ति रोकिन्छ र इन्जिन तुरुन्तै बन्द हुन्छ। प्रतिवेदनका अनुसार, पाइलटहरूले पुनः इन्धन सुरु गर्न खोजे पनि त्यसबेला धेरै ढिलो भइसकेको थियो।ककपिट भ्वाइस रेकर्डिङमा सुन्न सकिने एक संवादले विवादलाई झन् बढाएको छ। एक पाइलटले सोध्छन्, “तिमीले किन कटफ गर्यौ?” र अर्को पाइलटको जवाफ आउँछ, “मैले त गरेकै होइन।”
यो छोटो संवाद सार्वजनिक भएपछि कप्तान सुमित सभरवाल र सह-पाइलट क्लाइभ कुनदरमाथि मानविय त्रुटि वा आत्महत्याको शंका उठ्यो। केही भारतीय र अमेरिकी विश्लेषकहरूले समेत “पाइलटद्वारा जानाजानी इन्धन बन्द गरिएको हुनसक्छ” भन्ने अनुमान गरे।तर यो निष्कर्षलाई धेरै विशेषज्ञहरूले “अन्यायपूर्ण र अधुरो” भनेका छन्। पीडितका परिवारका तर्फबाट वकिल माइक एन्ड्र्यूजले भने, “यो विमान अत्यन्त जटिल प्रणाली भएको थियो। दुईवटा छोटा सूचनाका आधारमा पाइलटहरूलाई आत्महत्याको दोष दिनु गलत र अनुचित हो।”भारतीय उड्डयन सुरक्षा विज्ञ क्याप्टन अमित सिंहले उपलब्ध तथ्याङ्कहरूको विश्लेषण गर्दै नयाँ दृष्टिकोण अघि सारेका छन्। उनको भनाइमा, दुर्घटनाको मूल कारण विमानको कम्प्युटर प्रणालीमा भएको “विद्युत् अवरोध” हुनसक्छ।
उनले ‘फुल अथोरिटी डिजिटल इन्जिन कन्ट्रोल’ नामक प्रणालीले गलत सिग्नल पठाई इन्धन आपूर्ति बन्द गरेको हुनसक्ने दाबी गरेका छन्। उनको भनाइमा, ककपिटका स्विचहरू वास्तवमा पाइलटले छोएका नै थिएनन्, बरु इन्जिन आफैंले विद्युत् त्रुटिका कारण बन्द भएको हुनसक्छ।उनले भने, “प्रारम्भिक प्रतिवेदन पक्षपाती रूपमा तयार गरिएको छ। यसले प्राविधिक विसंगतिहरूलाई बेवास्ता गर्दै केवल पाइलटलाई दोषी देखाउने प्रयास गरेको छ।”कप्तान सुमित सभरवालका ९१ वर्षीय पिता पुष्कराज सभरवालले यो मुद्दामा स्वतन्त्र न्यायिक छानबिनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।अदालतमा सुनुवाइका क्रममा न्यायाधीश सुर्यकान्तले भने, “यो दुर्घटना अत्यन्तै दुःखद छ, तर तपाईंले आफ्नो छोरा दोषी ठहरिएको दुःख बोकिराख्नुपर्दैन। कसैले उनलाई दोष दिन सक्दैन।”अब १० नोभेम्बरमा यसबारे थप सुनुवाइ हुने तय भएको छ।यस दुर्घटनामा प्रयोग भएको विमान बोइङ ७८७ ‘ड्रिमलाइनर’ मोडेल हो, जुन अमेरिकी कम्पनी बोइङले बनाएको हो। बोइङले भने आफ्नो विमान सुरक्षित रहेको बताउँदै भारतीय अनुसन्धान संस्थालाई सहयोग गर्ने जनाएको छ।
तर अमेरिकी ‘फाउन्डेशन फर एभिएसन सेफ्टी’ का संस्थापक एड पियर्सनले भने यो घटनालाई “विमानका प्रणालीगत समस्या लुकाउने प्रयास” भन्दै कडा आलोचना गरेका छन्।उनका अनुसार, बोइङ ७८७ मा पहिले पनि पानी चुहावट र विद्युत् समस्या देखिएको थियो, जसले इन्जिन नियन्त्रण प्रणालीमा असर पार्न सक्थ्यो। उनले भने, “पाइलटहरूलाई दोषी देखाउँदै प्रणालीगत गल्ती लुकाउन खोजिएको छ, जुन पूर्ण रूपमा गलत छ।”एयर इन्डियाका प्रमुख क्याम्पबेल विल्सनले पनि दुर्घटनालाई “विनाशकारी र पीडादायक” भनेका छन्। तर उनले प्रारम्भिक अनुसन्धानले विमान वा इन्जिनमा कुनै समस्या नभएको निष्कर्ष निकालेको बताए।उनका अनुसार, “एयर इन्डिया अनुसन्धानमा सहयोगी भूमिका निभाइरहेको छ, तर प्रत्यक्ष संलग्न छैन।”अन्तर्राष्ट्रिय हवाई दुर्घटना नियमनअनुसार अन्तिम प्रतिवेदन १२ महिनाभित्र सार्वजनिक हुनुपर्ने हुन्छ। तर धेरैजसो घटनामा यो समयसीमा लामो खिचिन्छ।
त्यसैले, जबसम्म अन्तिम प्रतिवेदन आउँदैन, दुर्घटनाको वास्तविक कारण अज्ञात नै रहनेछ।फ्लाइट १७१ को दुर्घटनाले भारतीय उड्डयन क्षेत्र मात्र होइन, विश्वभरका विमान सुरक्षा मापदण्डमाथि पनि प्रश्न उठाएको छ। एकातिर पाइलटहरूलाई दोष दिने प्रवृत्तिको आलोचना भइरहेको छ, अर्कोतर्फ प्रविधिक गल्ती वा प्रणालीगत कमजोरीको गहिरो अनुसन्धानको माग बढ्दो छ।अब सबैको ध्यान सर्वोच्च अदालत र अन्तिम अनुसन्धान प्रतिवेदनतर्फ केन्द्रित छ — जसले यी २६० जनाको मृत्युको वास्तविक कारण उजागर गर्नेछ।