काठमाडौं। बिजनेस (व्यावसायिक) भिसामा पटक–पटक नेपाल प्रवेश गरी लामो समयदेखि अवैध रूपमा बसोबास तथा गतिविधि गर्दै आएका एक चिनियाँ नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। अध्यागमन विभागको अनुसन्धानअनुसार चिनियाँ नागरिक झाउ साओगाङ सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल आएका थिए। त्यसपछि उनले १३ पटकसम्म बिजनेस भिसामा नेपाल प्रवेश गरेका र करिब १३ वर्षदेखि नेपालमै बसोबास गर्दै आएको खुलेको हो।अध्यागमन विभागले ठमेलको पकनाजोल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै पनि किसिमको व्यापार वा व्यवसाय नगरी बसोबास गर्दै आएको पाइएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। उनका अनुसार ती चिनियाँ नागरिकले बिजनेस भिसाको दुरुपयोग गर्दै विभिन्न विद्यालयमा अध्यापनसमेत गरेको प्रमाण भेटिएको छ, जुन प्रचलित कानुनविपरीत हो।पर्यटक तथा बिजनेस भिसामा आएका विदेशी नागरिकलाई नेपालमा अध्यापन गर्न नपाइने व्यवस्था भए पनि झाउ साओगाङले विगत चार वर्षदेखि काठमाडौंका विभिन्न विद्यालय तथा धार्मिक संस्थामा चिनियाँ भाषा, गीत तथा अन्य विषय पढाउँदै आएको खुलेको छ। उनले सन् २०२२ मा काठमाडौं महानगरपालिका–७ स्थित इलाइट ग्रान्ड स्कुलमा करिब ६ महिनासम्म चिनियाँ भाषा अध्यापन गराएको भए पनि विद्यालयसँग कुनै औपचारिक सम्झौता नगरेको पाइएको छ। यस्तै, बौद्ध तीनचुलीस्थित ग्याङचेन सामलिङ स्कुलमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई चिनियाँ भाषा र गीत सिकाएको तथा स्वयम्भूस्थित न्यानाङ फेल्गे लिङ गुम्बामा पनि चिनियाँ भाषा पढाएको अनुसन्धानबाट खुलेको छ।
अध्यागमन नियमावली २०५१ अनुसार बिजनेस भिसा लिन तथा नवीकरण गर्न उद्योग मन्त्रालयको सिफारिस, विदेशी लगानी स्वीकृतिपत्र, कम्पनी वा उद्योग दर्ता प्रमाणपत्र, कर चुक्ता विवरण, उद्योग निरीक्षण प्रतिवेदनलगायत अनिवार्य कागजात आवश्यक पर्ने व्यवस्था छ। तर ती सबै प्रक्रिया पूरा नगरी झाउ साओगाङको बिजनेस भिसा १३ पटकसम्म नवीकरण हुँदै आएको देखिएको छ। यसले उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रार कार्यालय तथा सम्बन्धित निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।अनुसन्धानका क्रममा उनले कागजमा मात्रै ६ वटा कम्पनी दर्ता गराएको भेटिएको छ। यान सुपिङ होटल एन्ड रेस्टुरेन्ट प्रालि, होटल विथ रेस्टुरेन्ट यान, झोङ विन इन्टरनेसनल कार्गो कम्पनी, मो यिङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फरमेसन टेक्नोलोजी तथा शाव जिअसुन विथ रेस्टुरेन्ट कम्पनी उनका नाममा दर्ता छन्। तर ती कम्पनीमा कुनै लगानी, कारोबार, कर चुक्ता वा नियमित अनुगमन भएको प्रमाण भेटिएको छैन। ‘बिजनेस भिसा लिने उद्देश्यका लागि मात्रै कम्पनी दर्ता गरेको देखियो, तर वास्तविक कारोबार केही पनि छैन,’ विभागका प्रवक्ता टीकाराम ढकालले बताए।
ठमेलस्थित फेमली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका झाउ साओगाङ मेकानिकल इन्जिनियरिङमा स्नातक तहसम्म अध्ययन गरेका व्यक्ति हुन्। चीनमा रहँदा उनले इलेक्ट्रोनिक उपकरणको व्यापार गर्दै आएको बताएका छन्।यस्तै, अध्यागमन विभागले भिसाविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा एक अमेरिकी नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। ती अमेरिकीले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरी गोदावरी नगरपालिकामा घर भाडामा लिएर क्रिश्चियन धर्म प्रचारप्रसार गरेको तथा अवैध रूपमा बालगृह सञ्चालन गरेको पाइएको छ। उक्त बालगृहमा १२ जना बालबालिकालाई राखी धार्मिक गतिविधिमा संलग्न गराइएको विभागको दाबी छ।अध्यागमन विभागका अनुसार पछिल्लो ६ महिनाको अवधिमा भिसाविपरीत गतिविधिमा संलग्न ३०० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिई नेपालबाट निष्कासन गरिएको छ। काठमाडौं, ललितपुर, पोखरा, वीरगञ्ज, चितवन, इलाम, संखुवासभा, मुस्ताङलगायत विभिन्न स्थानबाट कानुन उल्लंघन गर्ने विदेशी नागरिकलाई कारबाही गरिएको महानिर्देशक तिवारीले जानकारी दिए।