• Tuesday, March 3, 2026

फागुन २१ को निर्वाचनमा केन्द्रित हुन कांग्रेसको ७७ जिल्लालाई परिपत्र


काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै ७७ वटै जिल्ला सभापति तथा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ।पार्टीले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत भएका वा नभएकासमेत सबैलाई विधि–विधानले पाएको अधिकारको सम्मान गर्दै जित–हारको बहसभन्दा माथि उठेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ।महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा पार्टीलाई अघि बढाउन नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास व्यक्त गरिएको छ।

परिपत्रमा उल्लेख गरिएको छ, “यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।”

विगतमा भएका कमजोरीहरूको आत्मालोचना गर्दै समीक्षा गरिएको उल्लेख गर्दै पार्टीले आजसम्मका उपलब्धिलाई समयको मागअनुसार संस्थागत गर्ने संकल्प पनि व्यक्त गरेको छ। परिपत्रमा “अब कांग्रेस बदलिएको छ, बदलिनेछ” भन्ने भनाइ समेत समावेश गरिएको छ।हालै सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चयन भएका छन्। यद्यपि, नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहले उक्त विशेष महाधिवेशनलाई अझै औपचारिक रूपमा स्वीकार गरिसकेको छैन।

Please Login to comment in the post!

you may also like