• Tuesday, March 3, 2026

एक जहाजमै व्यावसायिक उडान अनुमति : सौर्य एयरलाइन्स प्रकरणले नियामकको विश्वसनीयतामै प्रश्न


काठमाडौंबाट  पोखरा उडानका क्रममा दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पुनः व्यावसायिक उडान सञ्चालनको अनुमति दिनु थप विवादको केन्द्रमा परेको छ। दुर्घटनापछि छानबिन समितिले तोकेका सर्तहरू ‘फास्ट ट्र्याक’मार्फत पूरा गरेको देखाउँदै अनुमति दिइए पनि, सौर्य एयरलाइन्ससँग हाल सञ्चालनमा एउटामात्रै जहाज रहेको तथ्य बाहिरिएपछि नियामक निकायको निर्णयमाथि गम्भीर प्रश्न उठेको हो।उड्डयन नियमावलीअनुसार कुनै पनि वायुसेवाले नियमित व्यावसायिक उडान सञ्चालन गर्न कम्तीमा तीनवटा उडानयोग्य जहाज हुनु अनिवार्य मानिन्छ। तर सौर्य एयरलाइन्सको हकमा यो आधारभूत मापदण्ड नै उल्लंघन गरिएको स्रोतहरूको दाबी छ। “व्यावसायिक उडानका न्यूनतम सर्त नै पूरा नभएको अवस्थामा अनुमति दिनु नियमको ठाडो उल्लंघन हो,” प्राधिकरणकै एक उच्च स्रोतले बताए। उनका अनुसार एक जहाजमै सम्पूर्ण व्यावसायिक उडान निर्भर हुनु उडान सुरक्षा, नियमितता र आपतकालीन व्यवस्थापन सबै हिसाबले जोखिमपूर्ण अवस्था हो।

यससँगै सौर्य एयरलाइन्स लामो समयदेखि गम्भीर आर्थिक समस्यामा जुधिरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। जहाज मर्मत, बीमा, कर्मचारी तलब र सञ्चालन खर्चमै दबाबमा रहेको कम्पनीलाई यति छिटो व्यावसायिक उडान अनुमति दिनु किन आवश्यक ठानियो भन्ने प्रश्न अहिले प्राधिकरणभित्र र बाहिर दुवैतर्फ उठिरहेको छ। उड्डयन क्षेत्रका जानकारहरूका अनुसार आर्थिक रूपमा कमजोर वायुसेवाले सुरक्षा मापदण्डमा सम्झौता गर्न सक्ने जोखिम उच्च हुन्छ, जसको प्रत्यक्ष असर यात्रुको ज्यानमा पर्न सक्छ।दुर्घटनापछि सामान्यतया वायुसेवाको संरचनागत सुधार, व्यवस्थापन पुनर्संरचना, प्राविधिक क्षमता परीक्षण र वित्तीय स्थायित्वको गहिरो मूल्यांकन गरिनुपर्ने हो। तर सौर्य एयरलाइन्सको हकमा यी सबै पक्षलाई छायाँमा पार्दै छिटो निर्णय गरिएको आरोप लाग्दै आएको छ। स्रोतहरूका अनुसार प्राधिकरणभित्रै कतिपय अधिकारीहरूले अनुमति दिन नहुने मत राखे पनि माथिल्लो तहको दबाबमा निर्णय गरिएको हो।

यस प्रकरणलाई झनै संवेदनशील बनाएको अर्को पक्ष भनेको उड्डयन सुरक्षा निर्देशनालय नै निमित्त प्रमुखको भरमा चलिरहेको अवस्था हो। उडान सुरक्षाको मुख्य नियामक निकायमा स्थायी नेतृत्व नहुँदा निगरानी कमजोर भएको र नियम कार्यान्वयनमा ढिलासुस्ती तथा मनपरी बढेको आरोप लामो समयदेखि लाग्दै आएको छ। सौर्य एयरलाइन्सलाई दिइएको अनुमति यही कमजोर संरचनाको परिणाम भएको विश्लेषकहरूको ठम्याइ छ।नेपालको नागरिक उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा समेत संवेदनशील निगरानीमा रहेको बेला दुर्घटनाग्रस्त, आर्थिक रूपमा कमजोर र न्यूनतम मापदण्डसमेत पूरा नगरेको वायुसेवालाई व्यावसायिक उडान अनुमति दिनु देशको उड्डयन सुरक्षाप्रति गम्भीर लापरबाही भएको टिप्पणी भइरहेको छ। क्यानले औपचारिक रूपमा नियम र सिफारिसअनुसार निर्णय गरिएको दाबी गरे पनि, एक जहाजमै उडान अनुमति, आर्थिक संकट र हतारो निर्णयका प्रश्नहरूले नियामक निकायको विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ। यात्रुको सुरक्षाभन्दा प्रक्रिया टार्ने प्रवृत्ति हाबी भएको हो कि भन्ने आशंका अहिले उड्डयन क्षेत्रको मुख्य बहस बनेको छ।

Please Login to comment in the post!

you may also like