• Tuesday, March 3, 2026

सौर्य एयरलाइन्सलाई उडान अनुमति : दुर्घटनापछि पनि नियामकको हतारो निर्णय



नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौं बाट पोखरा उडानका क्रममा दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सलाई पुनः व्यावसायिक उडान सञ्चालन गर्न अनुमति दिएको तथ्य सार्वजनिक भएको छ। प्राधिकरणका उच्च स्रोतका अनुसार दुर्घटनाको छानबिन समितिले तोकेका सर्तहरू ‘फास्ट ट्र्याक’ मार्फत पूरा गरेको देखाएर उडान अनुमति जारी गरिएको हो। नियामक निकायको यस निर्णयले उड्डयन सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

उच्च स्रोतले जानकारी दिएअनुसार सौर्य एयरलाइन्सले दुर्घटनापछि बनाइएको छानबिन समितिले तोकेका प्राविधिक, प्रशासनिक र सुरक्षासम्बन्धी सर्तहरू छिटो पूरा गरेको विवरण पेश गरेपछि क्यानले व्यावसायिक उडान अनुमति दिएको हो। तर, ती सर्तहरू व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन भए भन्नेबारे प्राधिकरणभित्रै आशंका रहेको बताइन्छ। “कागजमा सबै कुरा मिलाइएको छ, तर वास्तविक उडान सुरक्षामा कति सुधार आयो भन्ने प्रश्न अझै अनुत्तरित छ,” एक उच्च अधिकारीले भने।

दुर्घटनापछि कुनै पनि वायुसेवालाई पुनः उडान अनुमति दिनुअघि विस्तृत प्राविधिक परीक्षण, उडान सुरक्षाको पुनर्मूल्यांकन, चालक दलको क्षमता परीक्षण र व्यवस्थापन संरचनाको समीक्षा अनिवार्य मानिन्छ। तर सौर्य एयरलाइन्सको हकमा यी प्रक्रिया अपेक्षाकृत छोटो समयमै टुंग्याइएको भन्दै नियामक निकायमाथि दबाब र प्रभावको आशंका पनि उब्जिएको छ। स्रोतहरूका अनुसार आन्तरिक असहमतिका बाबजुद माथिल्लो तहको निर्देशनमा अनुमति प्रक्रिया अगाडि बढाइएको हो।यसैबीच, उडान सुरक्षाको प्रमुख नियामक निकाय उडान सुरक्षा निर्देशनालय (फ्लाइट सेफ्टी डाइरेक्टोरेट) नै निमित्तको भरमा सञ्चालन भइरहेको विषयले आलोचना झन् चर्काएको छ। निर्देशनालयको स्थायी नेतृत्व नहुँदा नियमन कमजोर भएको र निर्णय प्रक्रियामा गम्भीरता हराएको आरोप लाग्दै आएको छ। उड्डयन क्षेत्रका विज्ञहरूका अनुसार सुरक्षाजस्तो संवेदनशील निकाय निमित्त प्रमुखको भरमा चल्नु आफैंमा जोखिमपूर्ण अवस्था हो।

नेपालको नागरिक उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा समेत निगरानीमा रहेको अवस्थामा दुर्घटनाग्रस्त वायुसेवालाई छिटो उडान अनुमति दिनु देशको उड्डयन छविका लागि समेत नकारात्मक हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। यसअघि पनि विभिन्न वायुसेवाका दुर्घटनापछि छानबिन प्रतिवेदन कार्यान्वयन नगरी उडान अनुमति दिने प्रवृत्तिले उड्डयन सुरक्षामा सुधार नआएको आलोचना हुँदै आएको छ।क्यान भने औपचारिक रूपमा छानबिन समितिका सिफारिस पालना भएको दाबी गर्दै आएको छ। तर प्राधिकरणकै पारदर्शिताको अभाव हुनुले सौर्य एयरलाइन्सलाई दिइएको उडान अनुमति ‘नियमभन्दा हतारो’ भएको आशंका बलियो बनाएको छ। दुर्घटनाबाट पाठ सिकेर उड्डयन सुरक्षालाई प्राथमिकता दिनुपर्ने बेला नियामक निकायको यस्तो निर्णयले यात्रुको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

Please Login to comment in the post!

you may also like