• Tuesday, March 3, 2026

उत्सवबाट सुरु भएर सीपमा टुंगिने यात्रा


जर्मनीमा बच्चा ६ वर्षको भएपछि स्कुल जीवनको सुरुवात केवल पढाइको विषय हुँदैन, त्यो एउटा उत्सव हुन्छ। स्कुलको पहिलो दिन बालबालिका चिटिक्क परेका लुगा लगाएर, हातमा आफूभन्दा पनि ठूलो रङ्गीचङ्गी ‘सुगरकोन’ बोकेर स्कुल पुग्छन्। मिठाई, चकलेट र साना खेलौनाले भरिएको यो सुगरकोन उनीहरूका लागि नयाँ जीवन अध्यायको प्रतीक हो। स्कुलमा औपचारिक कार्यक्रम हुन्छ, जहाँ बालबालिका खुसी हुँदै स्टेजमा चढ्छन्। त्यसपछि अभिभावक र आफन्तसँग रमाइलो गर्दै कतै घरमै त कतै रेस्टुरेन्टमा सानो पार्टीसमेत आयोजना गरिन्छ।

अभिभावकहरूले यस दिनका लागि महिनौँअगाडिदेखि तयारी गर्छन्। सुगरकोन बोकेको आफ्ना छोराछोरीको फोटो वर्षौँसम्म घरको भित्तामा सजाइन्छ। जर्मनीमा यो दिनलाई शिक्षाको सुरुवात मात्रै होइन, जीवनको नयाँ अध्यायको आरम्भ मानिन्छ। यहाँ शिक्षा बोझ होइन, उत्सव हो।औपचारिक शिक्षा सुरु हुनुअघि ६ वर्ष नपुग्दासम्म बालबालिकालाई किन्डरगार्टेन पठाउन सकिन्छ, तर यो अनिवार्य छैन। स्कुल जाँदा बच्चाले आफ्नो नाम लेख्न जानु पर्याप्त मानिन्छ। त्यसैले किन्डरगार्टेनमा पढाइभन्दा खेल, गीत, चित्रकला र बाहिरी गतिविधिमा जोड दिइन्छ। पार्क भ्रमण, समूहमा काम गर्ने अभ्यास, पालो कुर्न सिकाउने, साझा गर्ने संस्कार बसाल्ने जस्ता लाइफ स्किलहरू सिकाइन्छ। जर्मनीको शिक्षा दर्शन स्मार्ट बच्चाभन्दा पनि काइन्ड बच्चा बनाउनेतर्फ केन्द्रित देखिन्छ।

जर्मनीमा औपचारिक शिक्षा ६ वर्षको उमेरबाट सुरु भई कक्षा १ देखि ४ सम्म सबै बालबालिकाले समान रूपमा पढ्छन्। कक्षा ४ पछि भने शिक्षकको सिफारिसमा विद्यार्थीको क्षमता, रुचि र समग्र प्रदर्शन मूल्यांकन गरी फरक–फरक विद्यालयमा पठाइन्छ।कक्षा ४ पछि विद्यार्थीहरू मुख्यत: तीन प्रकारका विद्यालयमा विभाजन हुन्छन्— गिम्नाजियम, रियालशुले र हाउप्टशुले। गिम्नाजियम शैक्षिक रूपमा अब्बल विद्यार्थीका लागि हो, जहाँ ९ वर्षको अध्ययनपछि ‘अबिटुर’ परीक्षा दिएर विश्वविद्यालय प्रवेश गरिन्छ। रियालशुले मध्यमस्तरको शिक्षा हो, जसले प्राविधिक र व्यावसायिक बाटो खोल्छ। हाउप्टशुले भने व्यवहारिक सीपमा केन्द्रित हुन्छ, जहाँ पढाइसँगै काम सिकाइन्छ र विद्यार्थीहरू प्लम्बर, इलेक्ट्रिसियनजस्ता पेशामा दक्ष बन्छन्।

जर्मनीको विशेषता के हो भने स्कुल सकिँदै करिअर सुरु हुन्छ। रियालशुले र हाउप्टशुलेपछि विद्यार्थीहरू सिधै डुअल भोकेस्नल ट्रेनिङमा प्रवेश गर्छन्। यहाँ विद्यार्थीले पढ्दै काम गर्छन्, तलब पाउँछन्, सामाजिक सुरक्षा र स्वास्थ्य बीमासमेत प्राप्त गर्छन्। ट्रेनिङ सकिएपछि धेरैजसो विद्यार्थीहरू त्यही कम्पनीमा पूर्णकालीन कर्मचारी बन्छन्। यही प्रणालीका कारण जर्मनीमा युवा बेरोजगारी दर अत्यन्त न्यून छ।यहाँ शिक्षा किन्डरगार्टेनदेखि विश्वविद्यालयसम्म प्रायः निःशुल्क छ—चाहे जर्मन नागरिक हुन् वा विदेशी। केही अन्तर्राष्ट्रिय र विशेष विद्यालयबाहेक सरकारी विद्यालयमा शुल्क तिर्नु पर्दैन। निजीभन्दा सार्वजनिक विद्यालयप्रति बढी विश्वास गरिन्छ।ग्रेडिङ प्रणाली पनि फरक छ। यहाँ १ ग्रेड सबैभन्दा राम्रो र ६ सबैभन्दा खराब मानिन्छ। फेल हुनु लाजको विषय होइन, बरु अझै सिक्न बाँकी छ भन्ने संकेत मानिन्छ। एउटै कक्षा दोहोर्‍याउनु सामान्य कुरा हो। शिक्षकहरू रिसाउँदैनन्, बरु सहयोग गर्छन्, अतिरिक्त कक्षा र काउन्सिलिङ प्रदान गरिन्छ।

विद्यालयस्तरमै विद्यार्थीलाई टिमवर्क, लिडरसिप र समस्या समाधान गर्न सिकाइन्छ। फिल्ड ट्रिप, प्रोजेक्ट वर्क र प्रेजेन्टेसन पाठ्यक्रमकै हिस्सा हुन्छन्। परीक्षा भए पनि अत्यधिक दबाब हुँदैन। विद्यालयस्तरको सबैभन्दा महत्त्वपूर्ण परीक्षा ‘अबिटुर’ हो, जसले विश्वविद्यालय प्रवेशको ढोका खोल्छ।अनुसन्धान र आविष्कारमा जर्मन विश्वविद्यालयहरू विश्वकै अग्रणी मानिन्छन्। यहाँ किताबी ज्ञानभन्दा बढी प्रयोगात्मक सोच, अनुसन्धान र उद्योगसँगको सहकार्यलाई प्राथमिकता दिइन्छ। टेक्निकल युनिभर्सिटी र युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमार्फत जर्मनीले सीप, ज्ञान र रोजगारीलाई एउटै सूत्रमा बाँधेको छ।यसरी हेर्दा जर्मनीको शिक्षा प्रणाली केवल पास–फेलमा सीमित छैन। यो बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र समाजोपयोगी नागरिक बनाउने दीर्घकालीन यात्रा हो।

Please Login to comment in the post!

you may also like