काठमाडौं — बुद्ध एयरमा एउटै व्यक्तिलाई सेफ्टी म्यानेजर र क्वालिटी म्यानेजरको जिम्मेवारी दिइएको विषयले उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सरोकारवालाहरूले सेफ्टीसम्बन्धी कामको स्वतन्त्र मूल्यांकन र निगरानी गर्नुपर्ने व्यक्ति नै क्वालिटीसम्बन्धी जिम्मेवारीमा समेत रहेमा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। स्रोतका अनुसार बुद्ध एयरले सुरुमा युगल श्रेष्ठलाई क्वालिटी म्यानेजरका रूपमा नियुक्त गरेको थियो। तर पछि छुट्टै फाइलमार्फत श्रेष्ठलाई सेफ्टी म्यानेजरको जिम्मेवारीसमेत दिइएको र उक्त नियुक्तिलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएको दाबी गरिएको छ।
उड्डयन सुरक्षाको दृष्टिले एउटै व्यक्तिले सुरक्षा व्यवस्थापन गर्ने र त्यसैको प्रभावकारिता मूल्यांकन गर्ने जिम्मेवारी सम्हाल्नु उचित नहुने सरोकारवालाहरूको तर्क छ। एक अधिकारीले बिजनेसप्रेसलाई दिएको जानकारीअनुसार पछिल्लो समय बुद्ध एयरमा स–साना उडानसम्बन्धी इन्सिडेन्टहरू बढ्दै गएको देखिनु पनि यस विषयलाई थप गम्भीर बनाउने पक्ष हो।