• Saturday, June 21, 2025

संसदको गरिमा राख्न नसकेकोमा निबर्तमान सभामुख सापकोटाको गुनासो


नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन्।

शनिवार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए।

संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए। उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए। उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए।

उनले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल र पेचिलो परिस्थिति पैदा भएको छ। सदन सुचारु गर्न दिनदिनै नेतृत्व तहमा पनि छलफल चलिरहेको छ। भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ। कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ। संसद्‌भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन। त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा स्तरहीन र मर्यादाहीन भएको छ।’

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताए। उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए। 

Please Login to comment in the post!

you may also like