अमेरिकाले क्युबाका पूर्व नेता राउल क्यास्ट्रो विरुद्ध दुई दशकअघि मानवीय सहायता सम्बन्धी विमान खसालिएको घटनामा अभियोग दर्ता गर्ने योजना बनाएको खबर सार्वजनिक भएपछि क्युबामा तनाव अझ बढेको छ। इन्धन अभाव र आर्थिक संकटसँग जुधिरहेको क्युबा अहिले दशककै सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको छ।९४ वर्षीय क्रान्तिकारी नेता राउल क्यास्ट्रोमाथि अभियोग लागेमा यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको क्युबामाथिको दबाब अभियानमा ठूलो कदम मानिनेछ। ट्रम्प प्रशासनले क्युबाको कम्युनिस्ट सरकारलाई भ्रष्ट र अक्षम भन्दै शासन परिवर्तनको दबाब दिँदै आएको छ।क्युबाले हालसम्म अभियोगको सम्भावित कदमबारे प्रत्यक्ष प्रतिक्रिया दिएको छैन। तर क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज ले BRICS विदेशमन्त्रीहरूको बैठकमा अमेरिकाविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। उनले “अमेरिकी नाकाबन्दी, प्रतिबन्ध र बल प्रयोगको धम्कीका बाबजुद क्युबा आफ्नो समाजवादी विकास र सार्वभौमिकताको बाटोमा अघि बढिरहने” बताएका छन्।
हाभानाका धेरै नागरिकले राउल क्यास्ट्रोविरुद्धको सम्भावित मुद्दाले अमेरिका–क्युबा सम्बन्ध अझ बिग्रिने बताएका छन्। ५९ वर्षीया शिक्षिका सोनिया टोरेसले राउल क्यास्ट्रोमाथिको कारबाहीलाई “क्युबाली गौरवमाथिको आक्रमण” भन्दै विरोध जनाइन्। उनले आवश्यक परे “क्युबाको रक्षा लठ्ठी र ढुंगाले समेत गर्ने” चेतावनी दिइन्।अमेरिका र क्युबाबीचको तनाव सन् १९५९ मा फिडेल क्यास्ट्रो नेतृत्वको कम्युनिस्ट क्रान्तिपछि सुरु भएको थियो। त्यसपछि क्युबाले सोभियत संघसँग गठबन्धन गर्दै अमेरिकी स्वामित्वका उद्योग तथा सम्पत्ति कब्जा गरेपछि दुई देशबीच सम्बन्ध लगातार तनावपूर्ण रहँदै आएको छ।
विश्लेषक तथा लेखक पिटर कोर्नब्लुह का अनुसार राउल क्यास्ट्रोमाथिको अभियोग अमेरिका–क्युबा वार्ताको “अन्तिम बिन्दु” हुनसक्छ। उनले यस्तो कदमले सम्भावित सैन्य कारबाहीलाई कानुनी आधार दिन सक्ने चेतावनी दिएका छन्।अमेरिकी न्याय विभागका स्रोतका अनुसार सम्भावित अभियोग सन् १९९६ मा “ब्रदर्स टु द रेस्क्यु” नामक मानवीय संस्थाका दुई विमान क्युबाले खसालेको घटनासँग सम्बन्धित छ। क्युबाले त्यसबेला आफ्नो हवाई क्षेत्रको रक्षा गरेको दाबी गरेको थियो। तर पछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले ती विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा खसालिएको निष्कर्ष निकालेको थियो।हाल कुनै औपचारिक सरकारी पदमा नरहे पनि राउल क्यास्ट्रोलाई अझै पनि क्युबाली क्रान्तिको प्रमुख प्रतीक र प्रभावशाली नेताका रूपमा हेरिन्छ।