• Tuesday, March 3, 2026

जहाँ मृतकहरू पनि यात्रा गर्छन्....



एम्स्टर्डमको स्किफोल विमानस्थल। बिहान ५ बजे फोन बज्छ। बेन भोस उठ्छन्। ३५ वर्षदेखि उनको ब्यूँझाइ यही हो। एशियाबाट आउँदै गरेको एउटा जहाजमा एक जना यात्रुको मुटुले काम गर्न छोड्यो। अब त्यो यात्रुको अन्तिम गन्तव्य स्किफोल होइन, स्किफोलको मृत्यु–घर हो।बेन र उनका तीन जना सहकर्मी त्यहाँ काम गर्छन्। उनीहरूको कार्यालयमा फूलहरू मौसमअनुसार फेरिन्छन् – वसन्तको रंग, शरदको मलिनता। एउटा सानो रुख आँगनमा उभिएको छ, जसले आकाश छुन खोज्छ। त्यहाँ ३६ वटा चिसो कोठरी छन्, आवश्यक परे ४०० सम्म बनाउन सकिन्छ। यहाँ मृत्यु २४ सै घण्टा ड्युटीमा हुन्छ।जहाज अवतरण हुन्छ। यात्रुहरू झर्छन्। अनि मात्र बेन र सीमा प्रहरी पछिल्लो आपत्कालीन ढोकाबाट भित्र पस्छन्। डाक्टरले मुटुको धड्कन सुन्न खोज्छन् – अब सुन्नुपर्ने कुरा कागजमा लेखिन्छ। मृतकलाई कालो झोलामा राखिन्छ। विशेष गाडी जहाजको पखेटामुनि आइपुग्छ। कसैले देख्दैन। मृत्यु पनि यहाँ गोप्य यात्रा गर्छ।हरेक वर्ष २५०० जना मृतक यहाँ आउँछन्। कोही डच नागरिक विदेशमा मरेर फर्किन्छन्, कोही विदेशी यहाँ मरेर आफ्नो देश जान्छन्। जाडोमा धेरै आउँछन् – हिउँ चढ्न गएकाहरू, घाम खान स्पेन–पोर्चुगल पुगेका बूढाबूढीहरू। बेन भन्छन्, “हामी उनीहरूलाई घर पुर्‍याउँछौं, जसरी जीउँदो मान्छे घर फर्किन्छ।”यहाँ हरेक धर्मको सम्मान हुन्छ। मुस्लिमका लागि शरीर धुने कोठा छ। यहूदी रब्बाइ आउँछन्। हिन्दू परिवार फूलमाला लिएर आउँछ। सुरिनामका आफन्तहरू ब्यान्ड बजाउँदै, रक्सी लिएर आउँछन् – घण्टौंसम्म गाउँछन्, रुन्छन्, हाँस्छन्। मृतकको जीवन उत्सव बनाउँछन्। बेन टाढै बसेर हेर्छन् र मनमनै मुस्कुराउँछन् – यो पनि मृत्युको एउटा सुन्दर रूप रहेछ।कागजहरू धेरै चाहिन्छ। मृत्यु प्रमाणपत्र, दूतावासको छाप, कफनमा रातो मोहर। कहिलेकाहीं रुस जानुपर्दा १२ दिन लाग्छ, किनभने हरेक कागज रुसी भाषामा अनुवाद गर्नुपर्छ। लागत बढ्छ, धैर्यता सकिन्छ। तर बेन कहिल्यै हतास हुँदैनन्। उनी जान्दछन् – मृतकसँग हतार हुँदैन, हतार त जीउँदाहरूसँग हुन्छ।सबैभन्दा ठूलो पीडा तब हुन्छ, जब कोही पहिचानविहीन हुन्छ – शरणार्थी, कुनै देशले नस्वीकार्ने मृतक। बेनले त्यस्तै धेरैलाई काखमा बोकेका छन्। कसैको नाम थाहा हुँदैन, कसैको ठेगाना। तैपनि उनीहरू सबैको लागि एउटै कोमलता। किनभने बेनलाई थाहा छ – मृत्युले न पासपोर्ट हेर्छ, न धर्म।३५ वर्षमा बेनले सिकेका छन् – मृत्यु जति निश्चित छ, त्यति नै अनिश्चित पनि। तर उनको काममा एउटा कुरा सधैं निश्चित हुन्छ : हरेक मृतकलाई सम्मान, हरेक शोकाकुल परिवारलाई सान्त्वना।जब सबै काम सकिन्छ, कफन बन्द हुन्छ, रातो मोहर लगाइन्छ, कालो प्लास्टिकले बेरिन्छ। अनि मृतक फेरि उड्छन् – आफ्नो अन्तिम उडानमा। बेन ढोकामा उभिएर हेर्छन्। उनलाई लाग्छ, सायद मृत्यु पनि एउटा यात्रा नै हो – जसको गन्तव्य घर हो।र बेन भोस फेरि फोनको प्रतीक्षामा बस्छन्। किनभने यहाँ मृत्यु कहिल्यै बिदा लिँदैन।

Please Login to comment in the post!

you may also like