• Thursday, March 5, 2026

मृत्युको छायाँबाट फर्किएको जीवन : पिट कार्लेटनको विमान दुर्घटनापछिको कथा


फेब्रुअरी महिनाको कठ्यांग्रिने चिसो दिन थियो। मिनेसोटाका अनुभवी हवाई यात्रु पिट कार्लेटनका लागि त्यो दिन पनि अरू व्यापारिक यात्राजस्तै सामान्य लागिरहेको थियो। विमानस्थलको सुरक्षा जाँच पार गर्नु, पानीको बोतल भर्नु र सहकर्मीहरूसँग गेटमा हल्का कुराकानी गर्नु—यी सबै उनका लागि दैनिकी जस्तै थिए। जीवनमा हजारौँपटक विमान चढिसकेका कार्लेटनलाई त्यो यात्रा कहिल्यै नबिर्सिने दुःस्वप्नमा बदलिनेछ भन्ने कल्पनासमेत थिएन।

डेल्टा कनेक्सन फ्लाइट ४८१९ मार्फत टोरन्टो उड्नुअघि उनले आफ्नो सिट ९डी, झ्यालछेउको सिटमा बसेर कानमा बीट्स इयरबड लगाए। क्यानडाको चर्चित रक ब्याण्ड द ट्र्याजिकली हिप का गीतहरू बज्न थाले। छेउको यात्रुसँग न त उनले कुरा गरे, न त छेउको यात्रुले उनलाई—ठीक त्यहीँ, सामान्य यात्राजस्तै।तर करिब ९० मिनेटको उडान अन्त्यतिर पुग्दै गर्दा परिस्थितिले असामान्य संकेत दिन थाल्यो। विमान अस्वाभाविक रूपमा हल्लिन थाल्यो। “केही त ठीक छैन,” भन्ने अनुभूति कार्लेटनको मनमा गडेर बस्यो। विमान तीव्र गतिमा अवतरणतर्फ झर्दै थियो। र अचानक—एक भयावह क्षण—विमान धावनमार्गमा ठोक्कियो, मानौँ फलामको पहाड जमिनमा बज्रियो।

मुख्य अवतरण प्रणाली भाँचियो। विमान धावनमार्गमा चिप्लिँदै गयो। झ्यालबाहिर कार्लेटनले आगोका ज्वाला देखे—उनको आँखाअगाडि मृत्यु नाचिरहेको थियो। केही सेकेन्डमै विमानको एउटा पखेटा टुटेर छुट्टियो, पुच्छर अलग्गियो र अन्ततः विमान उल्टो अवस्थामा अडियो। भुइँ छत बन्यो, छत भुइँ। यात्रुहरू सिट बेल्टले झुन्डिएका थिए—मानौँ चमेराहरू।

क्याबिनभित्र एकाएक सन्नाटा छायो। केवल एप्पल वाचहरूमा बजिरहेका आपतकालीन अलार्महरू सुनिन्थे। कार्लेटनले आफूलाई जोगाउन पहिलो पटक साँच्चिकै लड्नुपर्ने महसुस गरे। रगत टाउकोतर्फ दौडिरहेको थियो। उल्टिएको संसारमा उनी र छेउको अपरिचित यात्रु एक–अर्कालाई हेरे। केही समयअघि बेवास्ता गरिएका ती दुई मानिस अहिले एक–अर्काको जीवनको सहारा बने।सहयोग गर्दै सिट बेल्ट खोले। कार्लेटन विमानको छतमा खसे—शरीर निलडामले भरियो। तर त्यो पीडा जीवनको मूल्य थियो। यात्रुहरू एक–अर्कालाई नथिची सुरक्षित झर्न प्रयास गरिरहेका थिए। “ढोका खोल!” भन्ने चिच्याहट चारैतिर फैलिएको थियो।इन्धन चुहिन थालेको थियो। केबिनभित्र जेट फ्युलको गन्ध फैलिँदै गयो। करिब ६ हजार पाउन्ड इन्धन बोकेको विमान मृत्युको बम बनेको थियो। कार्लेटन घिस्रँदै बाहिर निस्किए, बाटोमा खसेका झोला–ब्याग हटाउँदै अरूलाई बाटो बनाउँदै।विमानबाट केही कदम टाढा पुगेपछि उनले पछाडि फर्केर हेरे। त्यही ढोकाबाट, जसबाट उनी निस्किएका थिए, दुई जना अग्नि नियन्त्रक आगो लाग्नुअघि हाम्फालेर बाहिर आए। केही सेकेन्ड ढिला भएको भए—शायद कथा नै फरक हुन्थ्यो।

उनले सबै कुरा गुमाएका थिए—फोन, औषधि, लुगाफाटा। तर जीवन बाँकी थियो। टार्माकमा उभिँदा उनका कान बजिरहेका थिए। एक बालकसहितको परिवार र सास फेर्न नसकिरहेका यात्रुलाई हेलिकप्टरबाट उद्धार गरिँदै थियो। बसमा चढ्दा इन्धनको गन्ध यति तीव्र थियो कि झ्यालहरू खोल्नुपर्‍यो।टर्मिनलमा पुग्दा उनीहरूलाई प्रहरी, स्वास्थ्यकर्मी, एयरलाइन्सका कर्मचारी र विभिन्न धर्मका धर्मगुरुहरूले स्वागत गरे। “सबै हामीलाई हेरिरहेका थिए,” कार्लेटन भन्छन्, “मानौँ हामी मृत्युबाट फर्किएका प्राणी थियौँ।”त्यो रात होटलमा उनले पटक–पटक नुहाए। तर शरीरमा इन्धनको गन्ध हटेन। उनले पत्नी क्यारोलिन र छोराछोरीसँग लामो फोन वार्ता गरे—करिब १७० डलर खर्चिएर। जीवन बाँचिएको अनुभूति शब्दभन्दा बाहिरको थियो।अर्को दिन अपरिचित व्यक्तिहरू मानवताको प्रतीक बने। कसैले खाना तिरिदियो, कसैले स्वेटसर्ट दिए। भेट्न गएका कम्पनीले कपडा र सरसामान किन्दियो। “यो संसारमा अझै पनि मानवता बाँकी रहेछ,” कार्लेटन भन्छन्।

डेल्टाले प्रत्येक यात्रुलाई ३० हजार डलर क्षतिपूर्ति दियो। तर पैसाले त्यो मानसिक घाउ भरिन सकेन। आज पनि कार्लेटन उस्तै छैनन्। जाडो हावा चलेको रात, हिउँको आवाज—उनी फेरि त्यही टार्माकमा फर्किन्छन्। सपनामा आगो देख्छन्। सेतो आवाज  बिना उनी सुत्न सक्दैनन्।उनको बोली फेरिएको छ, श्रवणशक्ति कमजोर भएको छ। कहिलेकाहीँ उनी आफू कहाँ छन् भन्ने बिर्सन्छन्। उनकी पत्नी भन्छिन्, “उहाँ सुन्छन्, तर बुझेजस्तो लाग्दैन।”आज उनी काममा फर्किएका छन् तर यात्रामा होइन। एक्लै उड्न सक्दैनन्। पत्नीको हात समाएर मात्र उड्न सक्छन्। रेल यात्रालाई प्राथमिकता दिन थालेका छन्। अवकाशपछि विदेश जाने सपना अझै छ—तर डर साथसाथै।यस सबैबीच उनले नयाँ उद्देश्य फेला पारेका छन्। मिनियापोलिसको एक र्‍याप्टर केन्द्रमा स्वयंसेवक बनेर वन्यजन्तु संरक्षणमा हातेमालो गरिरहेका छन्। काठको काम गर्दै उनी भन्छन्, “यो मेरो दोस्रो जीवन हो। म केही राम्रो गर्न चाहन्छु।”मृत्युलाई आँखैअगाडि देखेर फर्किएका पिट कार्लेटन आज पनि आफैँसँग प्रश्न गर्छन्—“म किन बाँचेँ? अब म के गर्न यहाँ छु?”सायद उत्तर यही हो—मानवता, सेवा र जीवनको मूल्य सम्झाइरहन।

Please Login to comment in the post!

you may also like