चेपाङ बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारणलाइन पुर्याएर विद्युतीकरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पियर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसिबी बक्स निःशुल्क पाउनेछन् ।
चितवनको इच्छाकामना गाउँपालिका–१, कालिङमा शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । प्राधिकरणले इच्छाकामना गाउँपालिकाका सातवटा वडाको विद्युतीकरणका लागि चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्ण रूपमा विद्युतीकरण सम्भव भएको बताए । अध्यक्ष गुरुङले सकुम्बासीले विद्युत् जडान गर्दा राख्नुपर्ने एक हजार रुपैयाँ धरौटी रकम गाउँपालिकाले राखिदिने व्यवस्था गरिएको बताए ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न र महसुल समयमै तिर्न आग्रह गरे ।गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल र १ नं वडाका वडाध्यक्ष सन्तबहादुर मगरले पालिकाका बासिन्दा अँध्यारोमा बस्नुपर्ने अवस्थाको अन्त्य भई त्यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने बताए ।