• Monday, May 25, 2026

निद्रा खोसेर आकाश जोगाउनेहरू अब पलायनको संघारमा



मानसिक दबाब, प्रशासनिक दमन र विभेदपूर्ण व्यवहारले थलिए एटीसी

देशको हवाई सुरक्षाको सबैभन्दा संवेदनशील जिम्मेवारी बोकेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हरू अहिले चरम मानसिक तनाव, प्रशासनिक बेवास्ता र विभेदपूर्ण कार्यसंस्कृतिका कारण पेशाप्रति नै वितृष्णा महसुस गर्न बाध्य भएका छन्। चौबीसै घण्टा आकाशमा उड्ने सयौं यात्रुको ज्यान सुरक्षाको जिम्मा काँधमा बोकेर काम गर्ने यी प्राविधिक जनशक्तिलाई राज्यले न उचित सम्मान दिएको छ, न त उनीहरूको स्वास्थ्य, मनोबल र पेशागत सुरक्षाप्रति कुनै गम्भीर चासो देखाएको छ। विशेषगरी रातिको ड्युटीलाई कागजमा सामान्य पालोसरह देखाइए पनि व्यवहारमा त्यो शारीरिक र मानसिक रूपमा अत्यन्त जोखिमपूर्ण श्रम हो। रातभर निद्रासँग संघर्ष गर्दै उच्च सतर्कतामा काम गर्नुपर्ने कर्मचारीले बिहान धन्यवाद होइन, हप्की, स्पष्टीकरण र मानसिक दबाब खेप्नुपरेको अवस्था रहेको कर्मचारीहरू बताउँछन्।

प्राधिकरणभित्र बढ्दो असन्तोषको मुख्य कारण प्रशासनको व्यवहारलाई मानिएको छ। कर्मचारीहरूले कार्यस्थलको समस्या, प्राविधिक अव्यवस्था वा सुरक्षासम्बन्धी कमजोरीबारे आवाज उठाउँदा समाधान खोज्नुको सट्टा दोषीझैं व्यवहार गर्ने, दबाब दिने र मानसिक रूपमा हतोत्साहित गर्ने प्रवृत्ति मौलाउँदै गएको आरोप छ। अझ रातिको ड्युटीमा प्रत्यक्ष खटिने कर्मचारीमाथि घरबाट आदेश चलाउने प्रशासनिक शैलीले आक्रोश थप चुलिएको बताइन्छ। स्रोतका अनुसार अहिले एटीसीभित्र रातिको ड्युटीप्रति आकर्षण तीव्र रूपमा घट्दो छ, किनकि जिम्मेवारी बढ्दो छ तर सम्मान र सुविधा शून्यजस्तै छन्।आधारभूत कार्य वातावरणसमेत दयनीय रहेको गुनासो कर्मचारीहरूको छ। शौचालयमा आवश्यक सामग्रीको अभाव, अव्यवस्थित पार्किङ, तालिमको स्पष्ट र न्यायोचित व्यवस्था नहुनु, जिम्मेवारी र स्रोत–साधन बाँडफाँटमा असमानता जस्ता समस्या वर्षौंदेखि दोहोरिँदा पनि सुधारको कुनै प्रभावकारी प्रयास नभएको उनीहरूको भनाइ छ। समान तहका अन्य विभागीय कर्मचारीले करोडौं बजेट र स्रोत परिचालन गर्ने अधिकार पाउँदा एयर ट्राफिक सर्भिसका कर्मचारी भने आफूभन्दा कनिष्ठ कर्मचारी रहेको शाखामा समेत माथिल्लो तहका हाकिमको स्वीकृति लिएर सामान्य प्रशासनिक काम गर्न बाध्य हुने अवस्था रहेको बताइन्छ। समानता र अधिकारको विषय उठाउँदा प्रशासनले संस्था चलाउने अभिभावकको होइन, मालिकको शैलीमा प्रस्तुत हुने गरेको आरोपसमेत लाग्ने गरेको छ।

कर्मचारी पदस्वापन र बढुवाको विषय पनि विवादको केन्द्रमा रहेको छ। प्रशासनले विभिन्न शाखामा आफ्नो “कोटा” बढाउँदै लैजाँदा अन्य विभागमा छिटो बढुवा हुने अवस्था रहे पनि एटीसी कर्मचारी भने वर्षौंसम्म एउटै तहमा थन्किन बाध्य भएको गुनासो छ। अत्यन्त दक्षता, अनुशासन र निरन्तर मानसिक एकाग्रता आवश्यक पर्ने क्षेत्रमा कार्यरत जनशक्तिलाई करिअर विकासको न्यूनतम अवसरसमेत नदिइनु गम्भीर अन्याय भएको कर्मचारीहरूको भनाइ छ।उड्डयन क्षेत्रका जानकारहरूले यस्तो अवस्था लामो समयसम्म कायम रहने हो भने यसको प्रत्यक्ष असर हवाई सुरक्षामै पर्न सक्छ। मानसिक तनाव, निरुत्साह र असुरक्षित कार्य वातावरणमा काम गरिरहेका कर्मचारीबाट उच्च स्तरको सतर्कता अपेक्षा गर्नु आफैंमा जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ। अझ चिन्ताको विषय के छ भने दक्ष र अनुभवी एटीसी कर्मचारीहरू पेशा छोड्ने वा विदेश पलायन हुने सोचमा पुग्न थालेका छन्। समयमै सुधार नगर्ने हो भने निकट भविष्यमा नेपालले दक्ष एयर ट्राफिक कन्ट्रोलर अभावको गम्भीर संकट भोग्नुपर्ने खतरा बढ्दो छ।

Please Login to comment in the post!

you may also like