काठमाडौ। राजनीतिक स्तरमा महत्त्वपूर्ण छलफल भइरहेकै बेला मन्त्रीहरू सुतिरहेको दृश्य भाइरल बनेको छ। राष्ट्रियसभा बैठकमा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि महत्वपूर्ण छलफल चलिरहेका बेला, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, र रक्षामन्त्री मानवीर राई निदाएको देखिएको छ।
सार्वजनिक हितसँग सम्बन्धित, राष्ट्रिय गौरवको दस्तावेज माथि छलफल भइरहँदा जिम्मेवार मन्त्रीहरू निदाएको दृश्यले जनस्तरमा व्यापक चासो र आलोचना पैदा गरिरहेको छ। तस्बिर हेर्दा मन्त्रीहरू अगाडि कागजात खुल्लै अवस्थामा छ, तर उनीहरूको आँखामा निद्रा लागिरहेको प्रस्ट देखिन्छ। सामाजिक सञ्जालमा यो तस्बिर ‘कार्यसम्पादनको अवस्था’ को रूपमा चर्चित बनेको छ।
कतिपयले यस्तो व्यवहारलाई गैरजिम्मेवारीको संज्ञा दिँदै आलोचना गरेका छन् भने, केहीले मन्त्रीहरूको थकान र कार्यदबाब बुझ्नुपर्ने पक्ष पनि उठाएका छन्। यद्यपि, राष्ट्रहितमा भइरहेका छलफलको बेलामा यस्तो दृश्य देखिनु नीतिनिर्माताहरूको गम्भीरता प्रति प्रश्न उठाउने खालको भएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।
यस तस्बिरले एकपटक फेरि राज्यका शीर्ष नेतृत्वको कार्यशैली र व्यावसायिकताको बहसलाई सतहमा ल्याएको छ।